रवि लामिछानेका सवारी चालक थापाको स्वास्थ्य अवस्था अझै स्थिर

नेपालभ्युज

रवि लामिछानेका सवारी चालक थापाको स्वास्थ्य अवस्था अझै स्थिर

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेको घरको छतबाट खसेर घाइते भएका उनका सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बुझिएको छ।

लामिछाने बस्दै आएको भरतपुर–११,भोजाडको अढाई तले घरको छतबाट खसेर गम्भीर घाइते चालक थापाको हाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घाइते थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि मंगलबार बेलुकी काठमाडौं ल्याइएको हो।

नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर ल्याइएका थापाको स्वास्थ्य अझै सुधार हुन नसकेको ललितपुरस्थित मेडिसिटी अस्पतालले जनाएको छ। रास्वपा सभापति लामिछानेले भने थापाको अवस्थामा सुधार हुँदै गएको भन्दै सामाजिक सञ्जालमा ‘अपडेट’ गराइरहेका छन्।

सोमबार बिहान ३ बजेर ५४ मिनेटमा घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका हुन्। उनको टाउको र छातीमा चोट छ। थापाको टाउकाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै शल्क्रिया गरिएको थियो। तर, शल्यक्रियापछि पनि उनको अवस्थामा सुधार नभएपछि काठमाडौं ल्याइएको हो।

मेडिसिटी अस्पताल प्रशासनले अहिले पनि थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ। अस्पतालले थापाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेको छ।

थापाको टाउकोमा गहिरो चोट रहेको तथा घाँटी र छातीमा पनि चोट देखिएको अस्पतालको भनाइ छ। आफ्नो सवारी चालक छतबाट खसेको घटनालाई अस्वाभाविक टिप्पणी गर्दै नुन दलेर प्रस्तुत नहुन रास्वपा सभापति लामिछानेले आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved