रविप्रति घनश्यामको कटाक्ष- ओली प्रवृत्तिका मानसपुत्रहरू नेता बनेर हिँडेका छन्

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् ।

नेपालभ्युज

रविप्रति घनश्यामको कटाक्ष- ओली प्रवृत्तिका मानसपुत्रहरू नेता बनेर हिँडेका छन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । बुधबार काठमाडौंमा अनेरास्ववियुले आयोजित गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका छन् ।

ओलीका कारण नै कम्युनिष्टमा मुसल पैदा भएको महासचिव भुसालको आरोप छ । ‘ओली प्रवृत्ति’मा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन्, अरु सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको उल्लेख गर्दै महासचिव भुसालले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेयता सुरू भएको बताए ।

उनले भनेका छन्, “दूर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो; यदुवंशी मुसल । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रूपमा हुर्कियो । यसमा विचार के हो भन्दा ‘म’ हो । मेरो हो, मेरा हुन् । ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त के हो भन्दा मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो सिद्धान्त । म विचार हो, मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्ने कुरा भइसकेपछि वामन्थीमा यदुवंशी मुसल तयार हुन्छ । भएको राम्रो पार्टी र राजनीतिक बिगार्न संसद् विघटनबाट सुरू भयो ।”

उनले थपेका छन्, ‘यो दूर्दशाको कारण यही प्रवृत्तिको कारण गर्दा राष्ट्रिय राजनीतिमा यी समस्या दखिएका छन् र नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरूका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ । आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरू नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरी नजिक छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि कटाक्ष गरे । वैकल्पिक राजनीतिको नाममा ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडिरहेको टिप्पणी महासचिव भुसालको छ । “अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरूले जित्ने हुन्छ,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved