मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् ।

मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै

जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा कक्षा ९ मा अध्ययनरत आदित्य ठाकुर आज (शनिबार) बिहान सुतिरहेकै बेला हजुरआमाले शीरमा पानी छ्यापिदिँदा उनको निद्रा खुल्यो ।

लगतै उनलाई घरका आफूभन्दा माथिका र छिमेकका अग्रजले पनि शीरमा पानी हालेर आशिष दिए। परम्पराको बारेमा सामान्य बुझ्न थालेका १४ वर्षीय किशोर आदित्यलाई अनौठो लागिरहेको थियो । तर, परम्परा भन्दै उनले रमाइलो मानिरहे ।

लगत्तै उनी बुबा रामबाबु ठाकुरको साथमा बगैँचातर्फ हिँडे । बुबाको हातमा पानीले भरिएको बाल्टी थियो । उनले पनि ग्यालेन बोके । बगैँचामा पुगेर बुबासँगै बोटबिरुवामा पानी हाले ।

समृद्ध संस्कृतिको रूपमा चिनिने मिथिला संस्कृतिका चाडपर्वको पनि आफ्नै महत्वहरू छ। मिथिलामा मनाइने पर्वहरूको पनि वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको पाइन्छ। यस्तै पर्वहरूमध्ये आज जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलमा मनाइरहेको पर्व जुडशीतल रहेको छ।

मिथिलाञ्चलमा शनिवार जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् ।

वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

मिथिलाका साहित्यकार एवं प्राज्ञ रामभरोस कापडी भ्रमरको अनुसार यसलाई जूरशितल पनि भन्ने गरिन्छ । यसको छुट्टै महत्व र पहिचान छ । जूरको अर्थ ‘भाग्य’ अथवा चिसो भन्ने हुन्छ । यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्य–पर्वको रूपमा लिइन्छ ।

प्राज्ञ कापडीले भने, “मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।”

महेन्द्रनगरका ८२ वर्षीय रामसागर ठाकुरले यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने रहेको बताए । उनले भने, “एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई टाउकोमा पानी थपथपाई आशीर्वाद दिने चलन रहेको छ ।”

विक्रम सम्बत नयाँ वर्षमा मनाइने ‘जुडशीतल’ पर्वको पहिलो दिन वैशखा १ गते ‘सतुवाइन’ सम्पन्न गरिएको थियो। पहिलो दिन अर्थात् ‘सतुवाइन’ मनाइँदा अत्यन्त गुणकारी मानिने जौ र चनाको सातु तथा सर्वत खाने, ख्वाउने मैथिल परम्परा छ। यस दिन सातु र सर्वत दान गर्ने पनि मैथिल चलन छ।

पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शीरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन्।

मिथिला परम्पराका जानकार अवकास प्राप्त वयोवृद्ध ८४ वर्षीय शिक्षक रमापति चौधरी बताउँछन्, “यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरुद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।”

त्यस्तै, पशुपंक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधनमाथि पानी जुराउने गरिन्छ । त्यस्तै, यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णोद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकाका आयुर्वेद अस्पतालका वैद्य श्याम गिरीका अनुसार मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । वैद्य गिरीले भने, “जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ ।”

पण्डित लालबाबु झाले जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा रहेको बताउँछन् । “यस पर्वका बारेमा भनिन्छ– एक सालको खाना अर्को सालमा खानुपर्छ। त्यसैले, यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ ।” झाले बताए।

यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन), करही, दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीट्ठा र आँपको टिकुला (आँपको चिचिला) को नैवेद्य चढाइने गरिन्छ ।

त्यस्तै, चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ ।

यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेको छ ।

नेपालमा सिरुवा

थारु भाषा साहित्य केन्द्र नेपालका उपाध्यक्ष बुद्धसेन चौधरीका अनुसार यो पर्वको बारेमा नेपाल तथा अन्य मुलुकमा प्रचलित एउटा पौराणिक कथा जो थारू समुदाय तथा अन्य एसियाली मुलुकमा प्रचलनमा छ । जसअनुसार परापूर्वकालमा एक महाप्रतापी राजकुमार थिए । उनी विभिन्न किसिमको भाषा र चराचुरुङ्गीहरूको भाषा पनि बुझ्ने गर्दथे । उनको प्रताप स्वर्गसम्म पुगेको थियो । जसको कारण कपिल नामका देवतालाई राजकुमारसँग ईर्ष्या  लाग्यो र उनी पृथ्वीमा झरे ।

दरबारमा पुगी राजकुमारसँग तीनवटा प्रश्न सोध्ने शर्त राखे । शर्तानुसार कपिल देवताले सोधेका तीनवटा प्रश्नको जवाफ राजकुमारले सात दिनभित्रमा दिनुपर्ने थियो । प्रश्नको जवाफ दिन नसके राजकुमारले आफ्नो टाउको काटेर दिनुपर्ने र जवाफ सही दिए कपिल देवताले आफ्नो टाउको काटेर राजकुमारलाई दिने शर्त थियो । राजकुमार सर्वज्ञानी भएकोले शर्त सहर्ष स्वीकार गरे ।

राजकुमारले प्रश्न त स्वीकार गरे तर जवाफ पाउन सकेनन् । एक दिन दुई दिन हुँदै छैटौं दिनसम्म पनि जवाफ नपाएर बेइज्जत भएर टाउको कटाउनुभन्दा आफैं आत्महत्या गर्ने भनेर राजकुमार जंगलतिर लागे । जाँदाजाँदै बीच जंगलको एउटा ठूलो रूखमुनि चिन्तित मुद्रामा बसे ।

त्यस रूखमाथि चीलको गुँड थियो र गुँडमा बच्चाहरू भोकले कराइरहेका थिए । बच्चाकी आमा आएर उनीहरूलाई सम्झाउन थाली– तिमीहरू धैर्य गर तल रूखमुनि बसिरहेको जवानको मासु खान पाउँछौ । ऊ तीनवटा प्रश्नको जवाफ दिन नसकेर आत्महत्या गर्न आएको हो ।’

बच्चासँगको कुराको सिलसिलामा आमाले शर्त तथा प्रश्न र उसको सही उत्तर पनि आफ्ना बच्चाहरूलाई सुनाई । तल बसिरहेका राजकुमार चराचुरुङ्गीको भाषा पनि बुझ्ने भएकाले सबै कुरा सुने र खुसीसाथ त्यहाँबाट दरबार पुगे । समयसीमाभित्रै कपिल देवताले दिएको तीनवटै प्रश्नको जवाफ दिए ।

शर्त मुताबिक कपिल देवताले आफ्नो टाउको काटेर राजकुमारलाई अर्पे । तर, उनको टाउको यस्तो थियो कि त्यसलाई समुद्रमा राखे समुद्रै सुक्ने, वनमा राख्यो भने वन नै जलेर सखाप हुने अर्थात् टाउको राख्ने कुनै ठाउँ नै रहेन ।

यो समस्यालाई समाधान गर्न कपिल देवताका सात छोरीहरू मिलेर एउटा उपाय निकाले । सातै बहिनीले बुवाको टाउको पालैपालो वर्ष दिनका लागि बोकेर सुमेरु पहाडको एउटै ध्रुवमा वरिपरि घुम्न लागे । एक वर्षका लागि यही सिरुवा जुडशितलको दिन नै एक बहिनीले अर्की बहिनीलाई बुवाको टाउको हस्तान्तरण गर्ने विश्वास यो पर्वसँग जोडिएको छ । यस्तै मिल्ने कथा अन्य देशमा पनि छन् । कतिपय देशमा त यो दिन कपिल देवतालाई गुफाबाट निकाली पूजा गर्ने, जुडशीतल मनाउने तथा भोज खाने चलन छ ।

 

कथानुसार पहिलो प्रश्न थियो– बिहानको समयमा व्यक्तिको राशि (भाग्य) कहाँ वास गरेको हुन्छ ? दोस्रो– दोपहर र तेस्रो– रातिको समयमा मानिसको भाग्य कहाँ वास गरेको हुन्छ ? उत्तर– मुख, शरीर र खुट्टा ।

यो पर्वको तयारीमा थारू समुदाय अघिल्लो दिनदेखि नै लागिपरेका हुन्छन् । घर–आँगन र वरिपरिको सरसफाइ विशेष किसिमले गर्छन् । महिलाले विभिन्न किसिमको रंगीन माटो प्रयोग गरी घरलाई लिप–पोत गरेर चिटिक्क पार्छन् । घरमा विभिन्न किसिमको कोहबर (कलाकृति) ले भित्ता सजाइएको हुन्छ । जसमा हात्तीदेखि विभिन्न चराचुरुङ्गीका चित्र रहेका हुन्छन् । यसबाट नै थारू समुदाय नयाँ वर्षलाई स्वागत गर्न तयार रहेको भान हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved