२०७९ मा धेरै चर्चामा रहेका सात खेलाडी

गत वर्ष धेरै खेलाडी चर्चामा रहे । तर ति मध्ये पनि धेरै चर्चित बनेका सात खेलाडी कोको हुन् त ? हेरौं । 

नेपालभ्युज

२०७९ मा धेरै चर्चामा रहेका सात खेलाडी

काठमाडौं। २०८० वैशाख १ गते। नेपाली नयाँ वर्ष। नेपाली खेलकुदका लागि २०७९ साल उपलब्धिमुलक नै रह्यो । विशेषगरी क्रिकेटमा पाएको सफलताले सिंगो मुलुकलाई नै हर्षित बनायो ।

२०७९ मा नेपाली खेलकुदलाई चलायमान बनाउन राष्ट्रिय खेलकुदको पनि ठुलो भुमिका रह्यो। २०७८ सालमा हुनुपर्ने प्रतियोगिता कोभिड–१९ का कारण एक वर्ष पछि सरेको थियो । व्यवस्थापनमा निकै कमजोर देखिएको प्रतियोगितामा खेलाडीले आफ्नो क्षमता देखाउन भने अवसर पाए । केही नयाँ खेलाडीको स्टारका रुपमा उदय पनि भयो ।

गत वर्ष धेरै खेलाडी चर्चामा रहे । तर ति मध्ये पनि धेरै चर्चित बनेका सात खेलाडी कोको हुन् त ? हेरौं ।

जयरानी थारु

राष्ट्रिय खेलकुदको सातौँ र आठौँ संस्करणमा स्वर्ण जित्न असफल भएकी जयरानीले नवौँ संस्करणमा भने पाँचवटा स्वर्ण जितेर सनसनी मच्चाइन । उनले ट्रयाक एण्ड फिल्ड एथ्लेटिक्समा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नै नाममा भएका ३ वटा राष्ट्रिय कीर्तिमान सुधार पनि गरिन ।

२१ वर्षीया जयरानीले प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन । उनले महिला ४०० मिटर र १०० मिटर हर्डल्स लङ जम्पमा कीर्तिमानसहित स्वर्ण पदक जितिन । जयरानीले ४×१०० मिटर रिले र ४×४०० मिटर रिलेमा पनि स्वर्ण जितिन्।

४×४०० मिटरमा एपीएफका खेलाडी गल्ती भएर बाहिर भएसँगै दोस्रो स्थानमा रहेकी जयरानीले स्वर्ण जितिन । जयरानी कुल ५ स्वर्ण पदक जित्दैँ २०७९ मा चर्चाको शिखरमा रहिन ।

सन्तोषी श्रेष्ठ

नवौँ राष्ट्रिय खेलकुदमा सन्तोषीले १० हजार मिटर र ५ हजार मिटरको दौडमा २ वटा स्वर्ण जित्न सफल भइन्। उनले दोस्रो स्वर्ण जितेपश्चात जुत्ता ढोगेको तस्वीर पनि निकै चर्चामा रह्यो ।

उनको पाइतलामा त्यसबेला चोट लागेको थियो। दौड सुरु हुनु अघि पनि सन्तोषी जुत्ता लगाउने की स्पाइकमा भनेर दोधारमा परेकी थिइन्। स्पाइक लगाँउदा दुख्ने भएपनि त्यही लगाएर जितेकाले उनले जुत्ता ढोगेकी थिइन्।

सिर्जना घिसिङ

नेपाली खेलकुदलाई विश्वमा चिनाउन पारा तेक्वान्दोका सृजना घिसिङले पनि योगदान गरिन्। विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सिर्जनाले ऐतिहासिक स्वर्ण जित्न सफल भइन्।

५२ केजीमुनी के–४४ क्याट्गोरीमा सहभागी भएकी सिर्जनाको स्वर्ण विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नै पहिलो थियो। उनले विश्व पारा तेक्वान्दोको नम्बर १ वरियतामा रहेकी टर्कीकी मेर्येम बेटुल काभडारलाई १२–० ले पराजित गरेकी थिइन्। यसले पनि सिर्जनालाई चर्चामा ल्याएको थियो।

सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने पनि वर्षभरी चर्चामा रहे । भदौ २१ मा नाबालिग किशोरीमाथि बलात्कार गरेको उजुरी दर्ता भएसँगै सन्दीप नकारात्मक कोणबाट पनि विश्वभर चर्चित बने ।

भदौ ६ मा भने केन्यामा टी–२० खेलको लागि नेपाली टोलीसँग उनी उडेका थिए । बन्द प्रशिक्षणमा रहेका सन्दीप भदौँ ५ मा बाहिर निस्केको घटनाले नेपाल क्रिकेट संघ क्यानको पनि आलोचना भयो ।

केन्याबाट उनी क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेस्ट इन्डिज उडेका थिए। यसपश्चात खेल नै नखेली सन्दीप नेपाल फर्कने तैयारीमा लागेका थिए। तर, उनी कता हराए केही पत्तो भएन। असोज २० गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पक्राउ गरिएको थियो।

१४ कात्तिकमा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध मुद्दा दायर भयो । १६ कात्तिकमा थुनछेक बहस सुरु भएको थियो। कात्तिक १८ मा उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको थियो।

१०० दिन थुनामा रहेका सन्दीप धरौटीमा छुटेपछि राष्ट्रिय टोलीमा परे। उनले लिग–२ क्रिकेटका २३ खेलमा ३ दशमलब ९१ को इकोनोमी कायम गर्दै ५१ विकेटको कोशेढुङ्गा पनि पार गरे। यससँगै उनले छिटो ५० विकेट पुरा गर्ने कीर्तिमान पनि बनाए।

सन्दीप प्रदर्शनका कारण त चर्चामा रहे नै त्यो भन्दा बढी उनी बलात्कार आरोपका कारण नकारात्मक रुपमा चर्चामा रहे । उनको मुद्दामा अहिले पनि सुनुवाइ चलिरहेको छ ।

आसिफ शेख


नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख पनि प्रदर्शनका कारण निकै चर्चामा रहे। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसिफलाई आईसीसी अवार्ड २०२२ को स्पिरिट अफ क्रिकेटले सम्मानित गरेको थियो।

यो अवार्ड जित्ने आसिफ पहिलो नेपाली खेलाडी पनि हुन् । सन् २०२१ मा ओमानमा भएको खेलमा टी–२० सिरिजमा आयरल्यान्डविरुद्ध आसिफको भावनात्मक प्रस्तुति मनोनयनको कारण बन्न पुगेको थियो।

रन जोड्ने क्रममा आयरल्यान्डका एन्डी म्याकबर्नी नेपाली बलर कमल सिंह ऐरीसँग अल्झेर लडेका थिए। आसिफलाई म्याकबर्नीलाई आउट गर्ने मौका थियो। तर, उनले त्यसो गरेनन्। आसिफको सो शैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रह्यो ।

यसबाहेक उनले वर्षभरी नै उत्कृष्ट ब्याटिङ गरे । नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन पनि आसिफको ठुलो योगदान रह्यो ।

आसिफ शेखले कुल ३० खेलबाट ९३४ रन जोड्दै नेपालको सर्वाधिक रनकर्ता पनि बन्न सफल भए। आफ्नो २७ औँ खेलमा पपुवा न्यूगिनी पीएनजीविरुद्ध ११० रनको शतकीय पारी खेलेसँगै उनी सर्वाधिक रनकर्ता बने। लिग–२ को सर्वाधिक रनकर्ताको सूचीमा भने आसिफ शेख १२ औँ स्थानमा पर्न सफल भए।

सुष्मा तामाङ


नेपाली बक्सर सुष्मा तामाङले थाईल्याण्डमा भएको एएसबिसी यू–२२ बक्सिङ प्रतियोगितामा रजत जित्दैँ इतिहास रचेकी थिइन्।

उनले ४८ केजी तौल समुहमा मंगोलीयाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा फाइनल पुग्न सफल भएकी थिइन्। फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी हुन्।

अन्जन विष्ट


बङ्गलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालका लागि फुटबलर अन्जन विष्टले ह्याट्रिक गरे । दशरथ रंगशालामा भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। जसमा अन्जनको मुख्य योगदान रह्यो। यसले पनि उनलाई चर्चामा ल्यायो।

बंगबन्धु कप, एएफसी सोलिडारिटी कप र दक्षिण एसियाली खेलकुद सागमा अन्जन मुख्य भूमिकामा प्रस्तुत भएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved