भक्तपुरमा बिस्केट जात्रा सुरु

नेपालभ्युज

भक्तपुरमा बिस्केट जात्रा सुरु

भक्तपुर। भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु भएको छ ।  आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् जात्रा बिस्केट सोमबार बिहानबाट नै सुरु भएको हो।

तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको भीड रहेको थियो । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरिएको थियो ।

पूजापछि भैरवको रथ तान्न सुरु गरिएको छ भने यस वर्ष छिट्टै रथ तानेर ग:हिटी पुर्‍याउने बताइएको छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको छ ।

विगतका वर्षहरूमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन थियो। यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी रहेको आयोजकले बताएको छ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न पाइँदैन ।

आजको जात्रा सम्पन्न भएपछि चैत्र ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved