२४ वटा नमूना परीक्षण गर्दा सबैमा ओमिक्रोन

नेपालभ्युज

२४ वटा नमूना परीक्षण गर्दा सबैमा ओमिक्रोन

काठमाडौं  ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको जनाएका छन् ।

उनले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरेका छन् । उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सोअनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए दुई, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन् ।

ओमिक्रोन विए ५.२ दुई, ओमिक्रोन एक्सविवि १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवि २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् । ‘कोभिड–१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ’, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जारी  गरेको   विज्ञप्तिमा उल्लेख छ ।

आज कोरोना भाइरसको संक्रमण ७६ जनामा देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved