उपराष्ट्रपति निर्वाचन दोस्रो चरणमा जानसक्ने !

नेपालभ्युज

उपराष्ट्रपति निर्वाचन दोस्रो चरणमा जानसक्ने !

काठमाडौं। संसद् भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनको मतदान जारी छ । मतदानकै बीच सांसदहरूबीच खासखुस पनि जारी छ।

उपराष्ट्रपतिमा एमालेबाहेक सानादलका ३ उम्मेदवार छन् । तीन जना उम्मेदवार नै सत्ता गठबन्धनका हुन्। जसपाको दुई र जनमत पार्टीको एक जना उम्मेदवार छन् जसको हिसाब गर्दा जनही मतभार १५ सय पनि छैन। चुनाव जित्न २६ हजारभन्दा बढी मतभार चाहिन्छ ।

अर्कोतिर एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको मतभार १५ हजारभन्दा बढी छ । रोचक कुरा त के छ भने सबैभन्दा बढी १६ हजार मतभार भएको कांग्रेस र निर्णायक मतभार (झन्डै ७ हजार मतभार) भएको माओवादी केन्द्रको उम्मेदवार नै छैन ।

साना दलको उम्मेदवार र ठूला दलको मतभारबीच तालमेल त छ । तर, तालमेलमा जालझेल पनि देखिन थालेको मतदान स्थलमा रहेका सांसदहरूकै मुखबाट सुनिन थालेको छ।

गठबन्धनका तीन उम्मेदवारका बीचमा एक्लै मैदानमा रहेको एमालेले यहीँनेर ‘ढोक्सा’ थापिरहेको छ। की गठबन्धनबाट उछिट्टिएर आएको मतले अष्टलक्ष्मीलाई उपराष्ट्रपति बनाउने। एमालेको यो योजनालाई केही सांसदको बोलीले पुष्टि गरिरहेको छ।

मतदानस्थलमै उभिएर सांसदहरू भन्दै छन्–‘पहिलो चरणमा उपराष्ट्रपति निर्वाचित हुने सम्भावना रहेन।’

यसैमा बल पुग्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिएर निर्वाचनलाई दोस्रो चरणमा पुर्‍याउन खोजेको संकेतसमेत गरेका छन्। यद्यपि, आचारसंहिताका कारण रास्वपाले मत कसलाई दिने भन्नेबारे बोलेको छैन ।

उपराष्ट्रपति निर्वाचित हुन खसेको मतको ५१ प्रतिशत चाहिनछ । जुन कुनै पनि उम्मेदवारले पहिलो चरणमा नल्याउन् भन्ने केहीको जोड छ।

एमालेले पनि यदि, निर्वाचन दोस्रो चरणमा गएमा अष्टलक्ष्मी शाक्य र रामसहाय यादवबीच प्रतिस्पर्धा हुने र त्यसमा महिलाको विषय उठाएर अष्टलक्ष्मीलाई मत तान्ने मेसो मिलाउँदै छ भन्ने चर्चा पनि मतदान स्थलमा सुनिन थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved