उपराष्ट्रपतिमा ३ जना उम्मेदवार कायम

नेपालभ्युज

उपराष्ट्रपतिमा ३ जना उम्मेदवार कायम

काठमाडौं। चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएका ४ जनामध्ये ३ जनाको उम्मेदवारी कायम भएको छ ।

जसपाले महिला र पुरुष गरी दुई उम्मेदवार उठाएकोमा प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएपछि एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य,जसपा उम्मेदवार रामसहाय प्रसाद यादव र जनमत पार्टीकी उम्मेदवार ममता झा प्रतिस्पर्धामा छन्।

स्रोतका अनुसार उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसादको उम्मेदवारी कायमै रहने निर्णय आयोगले गरेपछि जसपाले प्रमिला यादवलाई उम्मेदवारी झिक्न लगाएको हो । सत्ता गठबन्धनका अझै दुई उम्मेदवार मैदानमा छन्। यद्यपि, साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय बाँकी छ।

शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उम्मेदवारहरूमध्ये जसपाका २, नेकपा एमाले र जनमत पार्टीका १-१ उम्मेदवार थिए । त्यसमध्ये जसपा उम्मेदवार रामसहायप्रसादको उम्मेदवारी विरुद्ध दाबी विरोधअन्तर्गत उजुरी परेको थियो।

एमालेबाट उम्मेदवार रहेकी शाक्य र जनमत पार्टीकी उम्मेदवार झाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरीत भएको भन्दै दाबी विरोध पेश गरेकी थिइन् ।

सो दाबी विरोधमाथि जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गरेका थिए ।

यो सँगै जसपाले अर्की उम्मेदवार प्रमिला यादवको उम्मेदवारी फिर्ता लिन लगाएको हो । अब एमाले उपाध्यक्ष शाक्य, जसपाका यादव र जनमत पार्टीकी उम्मेदवार ममता झा प्रतिस्पर्धामा छन्। झाको उम्मेदवारी कायमै रहँदा मित्रवत् प्रतिस्पर्धा हुने जनमत पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved