एमाले–राप्रपा एउटै बाटोमा, संघीय सरकार छाडेर प्रदेशमा मौन

नेपालभ्युज

एमाले–राप्रपा एउटै बाटोमा, संघीय सरकार छाडेर प्रदेशमा मौन

काठमाडौं। नेकपा एमालेले संघीय सरकार छाडे पनि प्रदेश सरकारको बारेमा तत्काल निर्णय नलिने भएको छ । यसअघि, सरकार छाडेको राप्रपाको पनि लाइन त्यही छ।

सोमबारको सचिवालय बैठकले समर्थन फिर्ता लिँदै सरकार छाड्ने र मन्त्रीको राजीनामा आजै बुझाउने भने पनि प्रदेश सरकारका विषयमा भने मौन बसेको छ। स्रोतका अनुसार प्रदेशमा तत्काल माओवादी लगायतका दलहरूसँगको सहकार्य नतोड्ने र सरकार पनि नछोड्ने रणनीति एमालेको देखिन्छ।

आकस्मिक रूपमा संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको पार्टी सचिवालय बैठकले प्रदेश सरकारका विषयमा भने कुनै नयाँ निर्णय लिएन । यसको मतलब प्रदेश सरकारबारे पर्ख र हेरको अवस्थामा एमाले रहेको छ।

बैठकपछि प्रतिक्रियादिँदै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताइन्। एमालेबाट हाल प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीले भने विश्वासको मत नै नपाई सरकार छाड्नुपरेको थियो । एमाले सुदूरपश्चिम सरकारमा अहिले सहभागी छैन। मधेस प्रदेश, बागमती प्रदेश र कर्णली प्रदेश सरकारमा एमालेका मन्त्रीहरू छन्।

यसैगरी, राप्रपाले पनि केन्द्र सरकार र बागमती प्रदेश सरकार छाडेको छ । तर,प्रदेश १, गण्डकी र लुम्बिनी सरकारका मन्त्री यथावत् छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved