पोखरामा यती विमान दुर्घटनाको दुईवटा शव अझै भेटिएन

कम्पनीको ‘रेस्क्यु’ टोली जाँदै, बिमा र मृत्यु प्रमाण–पत्रको प्रक्रियामा ढिलाइ

पोखरामा यती विमान दुर्घटनाको दुईवटा शव अझै भेटिएन

काठमाडौं। नेपालको आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको पोखरास्थित सेती नदी खोंचको विमान (यती एयरलाइन्सको एटीआर–७२) दुर्घटनामा परेका २ जना यात्रुको शव एक महिनासम्म पनि भेटिएको छैन।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। माघ १ गते आइतबार बिहान १०ः३२ बजे चालक दलका चार सदस्य र ६८ यात्रु लिएर विमान पोखराको लागि उडेको थियो । दुर्घटनामा १५ विदेशीसहित सबै ७२ जनाको मृत्यु भयो ।

यती एयरलाइन्सको नाइन एनएएनसी एटीआर–७२–५०० विमान काठमाडौं एयरपोर्टबाट उडेको २७ मिनेट अर्थात् १० : ५९ मा पोखरा विमानस्थल अवतरण गर्ने सेड्युल थियो । तर, विमानस्थलनजिकै नयाँ गाउँ भन्ने ठाउँको सेती नदी खोंचमा दुर्घटनामा पर्‍यो ।

दुर्घटनामा परेका यात्रुमध्ये २० जनाको शव उनका आफन्तले पोखरामै बुझे । त्यसको दुई दिनपछि ५० जनाको शव काठमाडौं ल्याइयो र आफन्तलाई जिम्मा लगाउने प्रक्रिया सुरु भयो । तर, त्यसमध्ये पनि ६ जनाको शव पहिचान गर्न कठिन भएपछि डीएनए परीक्षण गरी आफन्तलाई बुझाइयो।

विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार समेत भइसक्यो । त्यसमध्येका १५ जना विदेशी नागरिकको शव पनि सम्बन्धित देशका मृतकका आफन्तले बुझेर लगिसके ।

तर, दुर्घटनामा परेकामध्ये पर्वतका ४० वर्षीय युवराज शर्मा र उनका ४ वर्षका छोरा बेबिन शर्माको शव भने अझै भेटिएको छैन। दुर्घटनामा शर्माको आमा ६३ वर्षीय जमुना शर्मा र १३ वर्षीय छोरीको समेत मृत्यु भएको थियो।

दुर्घटना भएको जहाजमा शर्माको एकै परिवारका चार जना र पर्वत आर्थरका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित पर्वत जिल्लाका मात्रै १० जनाको ज्यान गएको थियो । त्यसमध्ये शर्माको आमा र छोरीसहित पर्वतका ८ जनाको शवको अन्तिम संस्कार पनि भइसक्यो।

दुर्घटना भएको विमानका यात्रु रहेका युवराज शर्माकी श्रीमती सरस्वती डुम्रेले भने अझै श्रीमान् र छोराको शव बुझ्न पाएकी छैनन् । सरस्वती उनै हुन् जसले त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा बसेर त्यही विमानको गति हेर्दैै थिइन्।

सरस्वतीले काठमाडौं विमानस्थलको टावरमै बसेर विमानको उडान र बाटो देखाएकी थिइन्। उनले काठमाडौंको टावरपछि अर्को टावर (पोखरा विमानस्थलको टावर)सँग सम्पर्क नहुँदासम्म विमानलाई बाटो देखाएकी थिइन्। काठमाडौंको टावरको कन्ट्रोल गर्ने जिम्मेवारी सकिएपछि जहाजलाई पोखरा टावरसँग सम्पर्क गराएर छाडेकी सरस्वतीले अकस्मात जहाज दुर्घटनाको खबर सुनिन्।

दुर्भाग्य, उनले पोखरा टावरसँग सम्पर्क गराएको यतिको विमान पोखरा विमानस्थलमा ल्यान्ड भएन। विमानस्थलको धावनमार्ग पुग्नु केही सेकेन्ड अगाडि मात्रै विमान सेती नदीको खोंचमा खस्यो र विमानमा आगो लाग्यो ।

दुर्घटनामा परेकामध्ये दुईजना अझै बेपत्ता रहेको र तीनै दुई सरस्वतीका श्रीमान् र छोरा हुन्। विमान दुर्घटना भएकै समयदेखि उद्धार खोजीमा रहेका सुरक्षाकर्मीले अहिले पनि उनीहरूको शव खोजी गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयको टोलीले कास्की र तनहुँको सेती नदी किनारमा दैनिकजसो खोजीकार्य गरिरहेको जनाएको छ ।

दुर्घटनाको एक महिनासम्म पनि शव नभेटिँदा आफन्त र परिवार मात्रै होइन यति एयरलाइन्स व्यवस्थान र सरकारी निकाय पनि चिन्तित छ।
खासगरी, मृतकको शव नभेटिँदासम्म मृत्यु भएको भनेर प्रमाणपत्र दिन र बिमाको रकम दाबीमा पनि समस्या भएको छ । यही समस्यालाई ध्यान दिएर यति एयरलाइन्स व्यवस्थापनले पनि भोलिसम्म आफ्नै ‘रेस्क्यु टोली’ पोखरा पठाउने तयारी गरेको छ ।

उनीहरूको शव नभेटिएको अवस्थामा के गर्ने ? भन्ने विषयमा जिल्ला प्रशासन र गृह मन्त्रालयबीच छलफल भइरहेको छ । शव पहिचान भएर अन्तिम संस्कार गरेकाहरूको बिमा रकम दाबी फारमसमेत सम्बन्धित बिमा कम्पनीलाई दिइसकिएको छ । तर, शव नभेटिएकाको हकमा प्रक्रिया अघि बढेको छैन ।

‘हाम्रो तर्फबाट हुनुपर्ने सबै प्रयास भएका छन् र भोलिसम्म रेस्क्यु टोलीसमेत पोखरा पठाउने तयारीमा छौं’ यति एयरलाइन्सका जनसम्पर्क तथा सञ्चार निर्देशक सुदर्शन बर्तौलाले नेपाल भ्युजसँग भने–‘यो टोलीले शव खोज्नेदेखि दुर्घटनाग्रस्त जहाजको टुक्रा–टाक्री जम्मा गरेर व्यवस्थापन समेत गर्नेछ।’

शव नभेटिँदा यात्रुको बिमाको रकम दिन र मृत्यु प्रमाणपत्र समेत नभएको अवस्थामा अन्य समस्यासमेत हुने हुँदा त्यसलाई राज्यले नै टुंगो लगाउनुपर्ने भएकोले समन्वय भइरहेको पनि बर्तौलाले बताए ।‘यात्रुको बिमा दाबीको लागि पनि आवश्यक कागजात सम्बन्धित बिमा कम्पनीलाई दिइसकेका छौं’ उनले भने–‘अन्य, कुराको लागि जिल्ला प्रशासनले गृहसँग समन्वय गरी सहज बनाउने पहल गरिसकेको खबर पाएका छौं।’

चालक दलका वरिष्ठ पाइलट कमल केसी, को–पाइलट अञ्जु खतिवडा, विमान परिचारिका ओसिन आलेमगर र सिर्जना होंगथुनसहित ७२ जना विमानमा थिए।

विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्यान्डका नागरिक १ जना, अस्ट्रेलिया नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved