सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी संगठन विस्तार गर्दै

सातै प्रदेशमा भेला र बैठक गर्ने तयारी

नेपालभ्युज

सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी संगठन विस्तार गर्दै

काठमाडौं। प्रचण्ड नेतृत्वको सरकारमा ३२ दिन उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका रवि लामिछानेले आफ्नो  नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तारमा केन्द्रित हुने भएका छन् । रास्वपाले सत्ता छाडेर संगठन विस्तार र निर्माणमा केन्द्रित हुने भएको हो ।

लामिछानेले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएपछि रास्वपाका अन्य तीन मन्त्रीले पनि १९ दिनमा राजीनामा दिएका हुन् । जसमा श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीबाट तोसिमा कार्कीले राजीनामा दिएका छन् ।

सत्ता बाहिर बसेर संगठन निर्माणमा केन्द्रित हुने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘सरकारलाई समर्थन कायम गर्दै मन्त्री ज्यूले राजीनामा दिनु भएको छ । अब पार्टीको संगठन विस्तारमा लाग्ने छौं,’ कार्कीले भने, ‘अब पार्टी बलियो बनाएर जानुको विकल्प छैन । पार्टी बलियो भए यस्ता सरकार धेरै बनाउन सकिन्छ भन्ने छ ।’

लामिछानेले राजीनामा पछि पहिलोपटक सोमबार केन्द्रीय समिति र संसद्को बैठक बसेको थियो । बैठकले संगठन विस्तारलाई जोड दिने निर्णय गरेको हो ।

संगठन विस्तार, छलफल र बैठकहरू सातै प्रदेश र ७७ जिल्लामा चलाइने रास्वपाले जनाएको छ ।

पार्टीका कतिपय नेताहरूले लामिछानेको पासपोर्ट र पूर्ण फैसला नआएकाले पार्टीको स्थिति के हुने हो भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन् । पार्टीको सर्वेसर्भा सभापति भएकाले सबै मुद्दा किनारा छिनो लागेमा सहज हुने नेताहरूको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved