फेरि महाधिवेशन छल्ने उपेन्द्रको तयारी

एकता गर्दै महाधिवेशन धकेल्दै, पार्टी फुटाउँदै

नेपालभ्युज

फेरि महाधिवेशन छल्ने उपेन्द्रको तयारी

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले फेरि टुक्रे पार्टीहरू जोडेर एकता गर्ने र पार्टीको महाधिवेशन धकेल्ने उपाय अपनाउन थालेको छ। नेपालमा राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार कुनै पार्टीसँग एकता गरेपछि तत्काल महाधिवेशन गर्नु पर्दैन।

मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्थाका रूपमा २०५४ सालमा स्थापना भएको संस्था २०६४ को संविधानसभा निर्वाचन अगाडि राजनीतिक दलको रूपमा दर्ता भएको हो । एकपटक पनि महाधिवेशन नगरेको यो पार्टीमा हालसम्म उपेन्द्र यादव नै अध्यक्ष रहँदै आएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीसँग छलफलमा रहेको जसपाले तत्काल ती पार्टीसँगको एकता टुङ्गो लाग्ने नदेखेपछि साना पार्टीतिर आँखा लगाएको हो । पछिल्लोपटक जसपाले पार्टी एकताको लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई औपचारिक पत्र नै पठाएर एकताको पहल गरेको छ । यद्यपि, कुमार लिङ्देन नेतृत्वको यो पार्टीको प्रभाव सामान्य छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन छल्नकै लागि कुनै एउटा दलसँग एकता गर्दै पुनः फुट्दै आफैं अध्यक्ष रहँदै आएका छन् । तत्कालीन फोरमबाट विजयकुमार गच्छदार, जयप्रकाश प्रसाद गुप्ता, शरदसिंह भण्डारीलगायत नेता बाहिरिएपछि अशोक राई नेतृत्वको संघीय समाजवादीसँग एकता गरेर पार्टीको नाम संघीय समाजवादी फोरम राखेका थिए।

त्यसपछि उपेन्द्र यादवले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग २०७६ वैशाखमा एकता गरे । एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखे । त्यसपछि महाधिवेशन गर्नुपर्नेमा २०७७ वैशाख १० गते पुनः महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीसँग एकता गरे । एकतापछि बनेको ‘जनता समाजवादी पार्टी’(जसपा) को अध्यक्ष पनि उपेन्द्र आफैं बने ।

पार्टी एकताको केही समयपछि नै तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई ‘प्रतिगमन’ भन्ने की नभन्ने विषयमा बहस हुँदै गर्दा जसपा फेरि फुट्यो । महन्थ ठाकुर नेतृत्वको पूर्व राजपाका धेरैजसो नेताले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) गठन गरे भने पुरानै जसपा नामको पार्टी अध्यक्ष उपेन्द्र नै कायम रहे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग टसल बढ्दै गएपछि २०७९ असारमा पुनः पार्टी विभाजन भयो । जसपा उपेन्द्रकै नेतृत्वमा रहेपछि पूर्व प्रधानमन्त्री भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरे । हरेक कठिन समयमा एकता र आफ्नो अनुकूल अवस्थामा पार्टी विभाजन गर्दै आएका यादवले फेरि आफैँ अध्यक्ष हुनेगरी साना दलतिर आँखा लगाएका हुन् ।

जसपा एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पत्राचार गरेको बताए ।‘नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि छलफल अगाडि बढाउने पार्टी बैठकको निर्णयअनुसार पत्राचार गरेका हौं’–उनले भने–‘पार्टीे एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्दै अग्रगमनतर्फ डोर्‍याउन र देशको प्रतिकुल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved