यो वर्ष विश्वमा नयाँ आर्थिक मन्दी आउन लागेकै हो ?

विश्वका केही आर्थिक अध्ययन संस्था र अर्थशास्त्रीहरूले नयाँ वर्ष सन् २०२३ को अन्तिम महिनातिर विश्वमा त्यस्तै ठूलो आर्थिक संकट आउन सक्ने अनुमान गरेका छन् । त्यसको कारण केके हुन् त ?

यो वर्ष विश्वमा नयाँ आर्थिक मन्दी आउन लागेकै हो ?

सन् १९२९–१९३९ बीचको एक दशक विश्वमा ठूलो आर्थिक मन्दी छाएको थियो, त्यसलाई महामन्दी (द ग्रेट डिप्रेसन) भनियो । सन् १९२९ अक्टोबर २४ मा अमेरिकी सेयर बजार गिरावटबाट यो महामन्दीको अनुभूति गरिएको थियो । यसले विश्वका अधिकांश देशको अर्थतन्त्रलाई नराम्रो असर पारेको थियो । विश्वभरि कुल ग्रार्हस्थ उत्पादनमा १५% को कमी आएको थियो ।

यो मन्दीको कुप्रभावलाई सम्हाल्न अमेरिकामा राष्ट्रपति फ्राङकलिन डी रुजबेल्टले ‘न्यु डिल’ ल्याएका थिए । बेलायतलगायत युरोपको धैरै देशले अर्थशास्त्री जोन मिनार्ड किन्सका नयाँ आर्थिक सिद्धान्तहरू स्वीकार गरेका थिए । किन्सियन अर्थशास्त्रले विश्वव्यापी मान्यता पाएको थियो ।

महामन्दीको कुप्रभाव विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धसम्म पनि कायमै थिए । त्यो पनि एउटा कारणपछि युद्ध अन्त्यपछि ब्रिटेनउड सम्झौताअन्तर्गत विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष स्थापना गरिए । युद्धपछिको पुननिर्माणलाई पनि यसको महत्त्वपूर्ण उद्देश्य मानिएको थियो ।

सन् २००७–२००९ अमेरिकामा अर्को ठूलो वित्तिय संकट आयो, त्यो बेला बराक ओबामा राष्ट्रपति थिए । बैंक र कम्पनीहरू ठूलो आर्थिक संकटमा फसे । बेरोजगारी बढ्यो । ओबामाले त्यसलाई विशेष अनुदान नीतिमार्फत् नियन्त्रण गरेका थिए ।

विश्वका केही आर्थिक अध्ययन संस्था र अर्थशास्त्रीहरूले नयाँ वर्ष सन् २०२३ को अन्तिम महिनातिर विश्वमा त्यस्तै ठूलो आर्थिक संकट आउन सक्ने अनुमान गरेका छन् । त्यसको कारण– युक्रेन युद्धले युरोपेली अर्थतन्त्रमा सिर्जना गरेको व्यवधान हुन सक्ने बताइएको छ ।

युक्रेन युद्ध ३ महिनाभित्र अन्त्य हुने ठानिएको थियो । तर एक वर्षमा पनि समाप्त भएन । यसले युरोपेली अर्थतन्त्रमा तीन वटा ठूला समस्या ल्याएको छ ।

एक– युरोपेली बजारमा खाद्यान्न, इन्धन, ऊर्जा र औधषिमूलोको मूल्य अकासिएको छ । बजारको आपूर्ति श्रृंखलामा समस्या आएको छ ।

दुई–आप्रवासन र शरणार्थी समस्या बढाएको छ ।

तीन–रोजगारीको कमी वा अभाव अनुभूत हुन थालेको छ ।

तर, आर्थिक विशेषज्ञहरू युक्रेन युद्धका अतिरिक्त नयाँ आर्थिक मन्दी आउनसक्ने थप दुई वटा कारणहरू भएको बताउँछन् ।  कोभिड–१९ महाव्याधिले ल्याएको आर्थिक असन्तुलन र विश्व पर्यटन लगायतका अर्थतन्त्रका विभिन्न क्षेत्रमा छाएको शिथिलता ।

त्यसो त अल्पविकसित मुलुकहरूको बढ्दो ऋणसमेत त्यसको चौथो कारण हुन सक्नेछ । यस बीच अल्पविकसित मुलुकमा भौतिक पूर्वाधार विकासको आकांक्षा तीव्र भयो । त्यस्ता मुलुकले चर्को ब्याजदरमा ठूलो मात्राको वैदेशिक ऋण लिएर पूर्वाधारमा लगानी गरे पनि ती पूर्वाधारले पर्याप्त प्रतिफल दिन नसक्दा गरिब मुलुकहरू ऋणको पासोमा फस्दै गएका छन् ।

कतिपय विश्लेषकका अनुसार  सन् २०२३ मा विश्व आर्थिक मन्दी चरमरूपमा अनुभूत हुने हो । यसको सुरुवात त सन् २०२० बाट नै भइसकेको थियो । सन् २०२२ को विश्व आर्थिक अवस्था खासै सन्तोषजनक थिएन । श्रीलंकालगायत कतिपय देशका आएको संकट यही श्रृंखलाको एक कडी हो । ब्लुमबर्ग डिसेम्बर–२०२२ सर्वेक्षणले भन्छ–सन् २०२३ को अन्तिम महिनातिर विश्वव्यापी आर्थिक मन्दी हुने सम्भावना ७०% छ।

गत अक्टोबरमा प्रकाशित अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिवेदनले पनि त्यही संकेत गरेको थियो । कोषका अनुसार सन् २०२३ मा वैश्विक आर्थिक वृद्धिदर २.७ प्रतिशतमा झर्नेछ । साथै, कोषले यो पनि भनेको थियो कि, सन् २०२३ आर्थिक दृष्टिले सन् २००१ पछिकै सर्वाधिक कमजोर वर्ष हुन सक्नेछ ।

प्रक्षेपणअनुसार सन् २०२३ को आर्थिक मन्दी ३ वटा लक्षणबाट देखिन थाल्ने छ । रोजगार कटौती, मुद्रास्थिति र चर्को ब्याज दरका कारणले हुने वित्तीय चक्रको अवरोध ।

संसारभरि नै बैंक ब्याजदरमा भएको वृद्धिलाई अनौठो मानिएको छ । अधिकांश विकसित मुलुकमा ७ प्रतिशतभन्दा माथिको ब्याजदरलाई चर्को मानिन्छ । नेपालमा त यो १५ प्रतिशत भन्दा माथि पुगेको छ ।

अर्थशास्त्रीय दृष्टिकोणले ब्याजदर वृद्धिको मुख्य कारण ऋणको माग बढ्नु हो । ऋणको माग बढ्नुको अर्थ लगानीका क्षेत्र विस्तार र वृद्धि भएको हुनुपर्ने हो । तर, अर्थतन्त्रमा यस्तो सन्तुलनसमेत मिलेको छैन । ऋणको माग वृद्धि र ब्याजदर अकासिनुका बाबजुद अर्थतन्त्रमा लगानीको वृद्धि भएको छैन, बरु खराब ऋणीको संख्या अभिवृद्धि हुँदैछ भने मानिस ऋण लिएर लगानी गर्नुको साटो दैनिक जिन्दगी चलाउँदैछन् भन्ने पुष्टि हुन्छ ।

दैनिक जीवन निर्वाहकै लागि महँगो ब्याजदरको ऋण लिनु पर्ने स्थिति अर्थतन्त्र संकटग्रस्त हुँदै गएको संकेत हो । मुद्रास्थिति १० प्रतिशतभन्दा माथि पुगेमा अर्थतन्त्रमा संकट आउन सक्दछ । श्रीलंकाको आर्थिक संकट चरम अवस्थमा पुग्दा मुद्रास्फिति १२.५ प्रतिशतसम्म पुगेको थियो ।

कोभिड–१९ को प्रारम्भिक अवस्थामा जोगिएको ठानिएको चीनको अर्थतन्त्रमा पनि पछिल्ल्लो समय शिथिलता छाएको छ । चीनको उत्पादन र अर्थतन्त्रमा संकट आउँदा विश्वभरिकै आपूर्ति श्रृंखलामा अवरोध आउँछ ।

नेपालको अर्थतन्त्रमा समेत यी गुणहरू देखिन थालेका छन् । मुद्रास्थिति पछिल्लो महिना १२ प्रतिशत पुगेको बताइँदैछ जबकी यो एक महिना अघि ७.५ प्रतिशत थियो ।

बैंक ऋण तिर्न नसकेकेर कालोसूचीमा परेका ऋणीको संख्या निरन्तर बढ्दो छ भने बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको मात्रा बढिरहेको छ ।

विश्वमा आर्थिक मन्दीको दुश्चक्र सुरु भइसकेको हो वा यी समस्या सामान्य र अल्पकालीन हुन यसै भन्न सकिने अवस्था छैन । तर, अर्थतन्त्रका कतिपय लक्षणले भन्छ– विश्व मन्दीको चर्चा हल्ला मात्रै हैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved