मिटरब्याज ठगीको नयाँ शैली, खाली चेकमा हस्ताक्षर गराएर सम्पत्ती नै हत्याएको खुलासा

नगरपालिकाभित्र मिटरब्याजीको जालो रहेको स्थानीय व्यापारी बताउँछन् । बैङ्कबाट मिलाएर ऋण लिने अनि त्यही रकम मिटरब्याजमा लगाउनेको गिरोह रहेको दाबी गरिएको छ ।

नेपालभ्युज

मिटरब्याज ठगीको नयाँ शैली, खाली चेकमा हस्ताक्षर गराएर सम्पत्ती नै हत्याएको खुलासा
मिटरब्याजीको नाममा पारित भएको शिवराजकी डिल्ली बुढामगरको दुई कट्ठा जग्गासँगै रहेको एकतले घर ।

कपिलवस्तु । मिटरब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैङ्कको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ ।

चारकोठे पक्की घरसहित दुई कट्ठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घरजग्गा देखिएपछि उहाँ झसङ्ग भएका थिए । मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रुपिन्द्रप्रसाद आचार्यका नाममा रहेको बताएपछि उहाँले आचार्यको खोजी सुरु गरे । नगरपालिकाको वडा नं. ५, खैरीमा हरियाली आचार्य होटेल सञ्चालक रहेका आचार्यसँग भेट भएपछि मात्र उनले पति देउमन बुढाले पैसा लिएको र त्यही पैसाका आधारमा आफ्नो उठिबास भएको थाहा पाए ।

रुपिन्द्रले देउमनको नाममा रहेको शिवपुर ९(ख) कित्ता नं. १६ (एक कट्ठा चार घुर) र कित्ता नम्बर १०९६ (१६ धुर) जग्गा दुई लाख ५० हजार रुपैयाँमा २०७६ मङ्सिर ९ गते घरखर्चबापत बिक्री गरिएको राजीनामा पत्रले देखाएको छ । सो क्षेत्रमा प्रतिकट्ठा ३० लाख रुपैयाँका दरले कारोबार हुँदै आएको छ । डिल्लीले देउमनका साथी प्रकाश रोक्कामगरसँग सोधपुछ गर्दा सो रकम रुपिन्द्रसँग लिएको थाहा पाएका थिए । जग्गा नामसारी गराएका रुपिन्द्रसँग देउमनको नाममा रहेको गरिमा विकास बैङ्कको सादा चेकसमेत रहेको डिल्लीले बताए ।

प्रकाशले दुई लाख ५० हजार कर्जा लिएको बताए पनि रुपिन्द्रले कर्जा लिएको रकम बैङ्क खाता हेरेपछि थाहा हुने बताइएको थियो । देउमनको गरिमा विकास बैङ्कमा रहेको खातामा २०७७ मङ्सिर २० गते रुपिन्द्रको नामबाट छ लाख ५० हजार रुपैयाँ जम्मा भएको देखिन्छ । खाताबाट पाँच दिनपछि छ लाख रुपैयाँ चेकमार्फत निकालिएको छ । देउमनको हस्ताक्षर रहेको सादा चेक रुपिन्द्रसँग भएको हुँदा सो रकम निकालिएको समेत शङ्कास्पद देखिन्छ ।

गत साउनमा प्रकाशको मृत्यु भएपछि रुपिन्द्रले १२ लाख रुपैयाँको चेक देखाउँदै असारसम्म भाका रहेकाले २० लाख दिए जग्गा पारित गर्ने बताएको डिल्लीले बताए। बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी डिल्लीको आर्थिक अवस्था कमजोर भएका कारण रकम तिर्न नसक्ने अवस्था छ । सामान्य लेखपढ गर्न जानेका देउमनलाई दृष्टिबन्धक गराउने भनी रुपिन्द्रले लगेको मृत्युअघि प्रकाशले बताएका थिए ।

हस्ताक्षर गरिएको खाली चेकमार्फत कारोबार 

चन्द्रौटा बजार आसपास क्षेत्रमा ५० भन्दा धेरै जनासँग मिटरब्याजीबाट कारोबार भएको स्थानीय रहिस शाहले बताए । बैङ्कले ऋण दिन नसकेपछि व्यवसायी र स्थानीय बासिन्दाले धेरै ब्याजदरमा कर्जा लिने गरेको चर्चा छ ।

रुपिन्द्रले कारोबार गर्दा तमसुक नबनाई हस्ताक्षर गरिएका सादा चेक माग्ने गरेको खुलेको छ । केही व्यक्तिको जग्गा नामसारी गरी लगानी गरेको देखिएको छ । शिवराज नगरपालिका–२ का पूर्ववडा सदस्यले समेत रुपिन्द्रबाट रकम लिन जग्गा पारित गराएको स्वीकार गरे । उनले थप कुरा खोल्न चाहेनन् । सो वडाका दुई जना वडा सदस्यले पनि रुपिन्द्रबाट मिटरब्याजीमा पैसा लिएका थिए ।

चन्द्रौटामा इलेक्ट्रिक पसल सञ्चालन गरेका हसनले १४ महिनाअघि साथीका लागि रुपिन्द्रसँग चार लाख रुपैयाँ लगेकोमा त्यसमा पनि तमसुक गराइएन । सादा चेकमा नै हस्ताक्षर गराइएको थियो । तमसुक नबनाई रुपिन्द्रले छ लाखको चेक र थप दुई थान हस्ताक्षर गरेको सादा चेक लगेका थिए । ब्याज तिर्न नसकेपछि हसनका साथी भागेर भारतमा लुक्दै आएका छन् ।

साथी भागेपछि ब्याजचाहिँ हसनले तिर्दै आउनुभएको छ । उहाँले ब्याजबापत १४ महिनामा चार लाख छ हजार रुपैयाँ रुपिन्द्रलाई नगदै बुझाएको बताए । उनले ब्याज कम गरिदिन आग्रह गरे पनि रुपिन्द्रले तत्काल पैसा दिर्न दबाब दिएको फोन कलको रेकर्ड रहेको छ ।

आधा दर्जनभन्दा बढी मिटरब्याजी

नगरपालिकाभित्र मिटरब्याजीको जालो रहेको स्थानीय व्यापारी बताउँछन् । बैङ्कबाट मिलाएर ऋण लिने अनि त्यही रकम मिटरब्याजमा लगाउनेको गिरोह रहेको दाबी गरिएको छ । स्थानीयवासीका अनुसार चन्द्रौटा बजारमा हार्डवेयर पसल गर्ने तीन, खाद्यान्न पसल गर्ने एक, लक्ष्मी टोलमा मदिरा पसल गर्ने एक, खरेन्द्रपुरमा हार्डवेयर पसल गर्ने एक जनाले मिटरब्याजमा कारोबार गर्दै आएका छन् । पीडितहरूको जग्गा पारित गराउने र हस्ताक्षर गरिएका खाली चेक उनीहरूसँग हुने हुँदा प्रशासनमा जाँदा धम्की दिने एक पीडितले बताए ।

रुपिन्द्रको विषय जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ठगी मुद्दा दायर भएपछि स्थानीय नेताहरू घटना मिलाउन चलखेल सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए । तर घटनालाई मिलाउन स्थानीय नेताहरूले पीडित पक्षलाई पटक–पटक दबाब दिएका छन् ।    गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved