विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्छु : प्रधानमन्त्री

नेपालभ्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिनेगरी काम हुने बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए । ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्त्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा बृद्धिलगायत महत्त्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

उनले आफ्नो तेस्रो कार्यकाल मुमुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए । उनले भने, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।’

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रहसमेत गरे । ‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै बिकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईंहरूको साथ हुनेछ,’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved