भ्युज टक

राष्ट्रपति म नै हुनुपर्छ भन्दिनँ, त्यहाँ जाने व्यक्तिबारे पहिले बहस हुनुपर्छ : अष्टलक्ष्मी शाक्य

‘वामपन्थीहरू एकठाउँमा नआइ सुखै छैन’

नेपालभ्यूजले आजदेखि अन्तर्क्रियात्मक कार्यक्रम ‘भ्यूज टक’ सुरू गरेको छ । एमालेका नेता अष्टलक्ष्मी शाक्य कार्यक्रमको पहिलो अतिथि बनेकी छन् ।

462778529214905

काठमाडौं । अष्टलक्ष्मी शाक्य वामपन्थी आन्दोलनको अग्रणी नेताको नाम हो । जीवनको प्रारब्धतिरै घर-परिवारसमेत त्यागी समाज परिवर्तनको सपना बोकेर भूमिगत भएकी शाक्य अहिले जीवनको उत्तरार्द्धमा छन् ।

दोस्रोपटक नेकपा (एमाले) को उपाध्यक्ष पदमा निर्वाचित शाक्यको नामअगाडि त्यागी र सादगीजस्ता विशेषण जोड्ने गरिन्छ । हुन पनि उनले पटक-पटक मन्त्री, चुनावमा पार्टीले दिएको टिकट र थुप्रै अवसर ‘नयाँ र अवसर नपाएकालाई दिनू’ भनेर अस्वीकार गरेकी छन् ।

त्यसो त यसबीचमा उनी राष्ट्रपति बन्ने चर्चा पनि छ । तर, त्यसमा आफ्नो व्यक्तिगत चाहना भने नरहेको उनले बताइन । निर्वाचन ताकाको राजनीतिक समीकरण अहिले बदलिएको छ । फरक समीकरणबाट नयाँ सरकार गठन भएको छ ।

नयाँ सरकारका प्राथमिकता, वामपन्थी दलहरूको एकता, राष्ट्रपतिमा दाबेदारीलगायतका विषयमा हामीले शाक्यसँग भिडिओ कुराकानी गरेका छौं ।

नेपालभ्यूजले आजदेखि अन्तर्क्रियात्मक कार्यक्रम ‘भ्युज टक‘ सुरू गरेको छ । कार्यक्रममा शाक्य पहिलो अतिथि बनेकी छन् । उनीसँगको अन्तर्वार्ता भिडिओमा हेर्नुहोस् ।

कुराकानीको सारसंक्षेप  :

‘न्यूनतम साझा कार्यक्रम अक्षरश: लागू हुनैपर्छ’

शाक्य सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम अक्षरश: लागू हुनुपर्ने बताउँछिन् । ‘सरकारमा जानेले त्यही न्यूनतम साझा कार्यक्रमअनुसार काम गर्ने हो, लागू गराउने हो,’ उनले भनिन् ।

सरकारमा सहभागी हुनु भनेको खेलाँची नभएको दृष्टान्त सुनाउँदै उनले थपेकी छन्, ‘सरकारमा जानेहरूमा इच्छाशक्ति हुनुपर्छ, गर्छु भन्ने आकांक्षा हुनुपर्छ । मुलुक बनाउने, लोकको सेवा गर्ने कुरालाई सानो कुरा ठान्नुहुँदैन ।

सरकारले ल्याएको नीतिगत प्राथमिकताको कार्यक्रमलाई अक्षरश: पालना गरेर अगाडि बढ्नुपर्छ, खेलाँची सम्झिनुहुन्न ।’ कार्यान्वयनको तहमा रहेका नेताहरूसँग सेवाको भाव र इमान्दारिताको कमी भएको महसुस विगतमा पनि हुने गरेको अनुभव शाक्यको छ ।

न्यूनतम साझा कार्यक्रम अक्षरश: कार्यान्वयन होला त ? भन्ने जिज्ञासामा उनको प्रतिप्रश्न छ, ‘सरकारमा जानेहरूको काम के र ?’ उनी थप्छिन्, ‘अब सरकारमा सहभागी हुनेले यहाँभन्दा कहीँ पनि नजर घुमाउनुहुँदैन ।

‘राष्ट्रपति मागेर पाउने होइन, मेरो व्यक्तिगत चाहना छैन’

शाक्य राष्ट्रपति पदका लागि आफू लालची नरहेको बताउँछिन् । ‘राष्ट्रपति पद चुनावको टिकट बाँडेजस्तो होइन, यो त बहसको विषय हो,’ उनले भनिन् ।

नेता/कार्यकर्ताको शुभेच्छा रहेपनि त्यसले मात्रै आफू राष्ट्रपति नबन्ने शाक्यको ठम्याई छ । ‘उहाँहरूलाई त मैले धन्यवाद नै भन्नुपर्छ । तर, राष्ट्रपति त्यतिले मात्रै पाइने पद होइन, यसका लागि पर्याप्त बहस हुनु आवश्यक छ । कोही राष्ट्रपति हुँदैछ भने उसको आवश्यकता किन पर्‍यो, ऊ किन राष्ट्रपति बन्ने, ऊ राष्ट्रपति बन्दाखेरि देशलाई के लाभ हुन्छ लगायतका यी विषयमाथि बहस हुन आवश्यक छ,’ उनले भनिन् ।

आफ्नो व्यक्तिगत चाहना पनि नरहेको उनले सुनाइन् । ‘यसका लागि संस्थागत निर्णय आवश्यक छ,’ उनले भनिन्, ‘मैले त व्यक्तिगतरूपमा दाबी गर्दिनँ । मुलुकले, देशले राष्ट्रपतिमा मेरो आवश्यकता ठान्यो र पार्टीले संस्थागतरूपमा निर्णय गर्‍यो भने जिम्मेवारीबाट पछाडि हट्दिनँ ।’

आफूसँगै आन्दोलनमा हिँड्ने कतिपय नेताले अहिलेसम्म वडा सदस्यसमेत नपाएको दुखेसो सुनाउँछिन् शाक्य, भन्छिन्— ‘त्यस्तो ठूलै पङ्क्ति म तपाईंलाई देखाउन सक्छु । मैले दुई/दुईपटक मन्त्री पाएँ, मुख्यमन्त्री पाएँ, राष्ट्रियसभामा गएँ । तर अरु साथीहरूले केही पाउनुभएको छैन ।’

इमान भएको र आन्दोलनको क्रममा दु:ख गरेका नेताहरू जहिल्यै पछाडि रहने राजनीतिक संरचना बनेको विश्लेषण शाक्यको छ । ‘जोचाहिँ नेतृत्वको पहुँचमा छ, त्योमात्रै अगाडि जाने अनि पहिले दु:ख गरेकाहरू, पार्टी र आन्दोलन निर्माण गर्नेहरूचाहिँ जहिल्यै पछाडि पर्ने हाम्रो संरचना भयो । यो निकै दुखद् हो,’ उनी भन्छिन् ।

उनी थप्छिन्— त्यो भएर मैलेमात्रै सबै कुरा पाउनुपर्छ भन्ने ठान्दिनँ । राष्ट्रपति म आफैँ बन्नुपर्छ भन्दिनँ । राष्ट्रपति मागेर वा चाहना राखेर पाउने पद पनि होइन । योचाहिँ बहसबाट टुङ्गिनुपर्छ ।

‘वाम शक्तिहरू एकठाउँमा नआइ सुखै छैन’

शाक्य नेपालका वामपन्थी दलहरू एकठाउँमा आउनैपर्ने बताउँछिन् । तत्कालका लागि त्यो असम्भवजस्तो देखिएपनि प्रकारान्तरले एकठाउँमा आउने उनको दाबी छ । ‘आउनैपर्छ, नआइ सुखै छैन,’ उनले भनिन् ।

नेपालका वामपन्थीको उही गन्तव्य तर, फरक बाटो भएको भन्दै उनले भनिन्, ‘त्यही पुग्ने भएपछि सँगै एउटै बाटो हिँड्दा के हुन्छ ? अब हिँड्नुपर्छ । फरक कोठा लिनू, फरक घर बनाउनू अब आवश्यक छैन । अब एउटै घरमा अटाउनुपर्‍यो ।’

वामपन्थीहरू एकठाउँमा आउँदा संविधानमा लेखिएको समाजवादसम्म पुग्न सजिलो हुने उनको दाबी छ । ‘वामपन्थी शक्ति मिल्दा समाजवादसम्म पुग्न सजिलो हुन्छ,’ उनी भन्छिन्, ‘हामीले संविधानमा मात्रै समाजवाद भन्यौँ तर वास्तविकतामा आएन । अब यसका लागि वाम शक्तिहरू मिल्नुपर्छ ।’

मूलत: एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एकठाउँमा आउनैपर्ने शाक्यको सुझाव छ। उनीहरू एकठाउँमा उभिन्छन् त ? भन्ने जिज्ञासाको जवाफमा उनले भनिन्— आउँछन्, समयले एकदिन एकठाउँमा उभ्याउँछ, पक्का हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved