चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रीपरिषद्को पहिलो बैठकपछि उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । उनले अबको सरकारले सुशासन कायम गर्ने पनि बताए ।

उनले राहदानी, लाइसेनमा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए । उनले आज बसेको मन्त्रीपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए । प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘जनतामा आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । हाम्रो देशको अघि थुप्रै जटिलता र चुनौतिहरु छन् । तर यो मन्त्रीपरिषद् जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेको छ, यो मन्त्रीपरिषद्ले ।’

‘एउटा आशा जगाएको छ । हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतिपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा । सुशासनतिर गम्भीर ढंगले अघि बढ्नेकुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउने बारे । जस्तो राहदानी, लाइसेन सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ । प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेका छौँ । हामीले गम्भीर रुपले देश र जनताका अघि रहेका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले मन्त्री परिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे । सोमवार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved