संसद्‍मा महिला र दलितको उपस्थिति किन भयो कम्जोर ?

महिला ९ र दलित १ जनामात्रै निर्वाचित

नेपालभ्युज

संसद्‍मा महिला र दलितको उपस्थिति किन भयो कम्जोर ?

काठमाडौं। प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक हुँदा महिला नौ जना तथा दलित एक जनाको मात्र संसद्‍मा प्रतिनिधित्व भएको छ।

१६५ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रको परिणामा आउन बाँकी छ। प्रतिनिधि सभामा अहिलेसम्मको परिणाममध्ये महिलाको प्रतिनिधित्व पाँच प्रतिशत मात्रै भएको छ। हालसम्म निर्वाचित हुने महिलामा नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक जना छन्। कांग्रेसबाट निर्वाचित हुनेमा तेह्रथुमबाट केन्द्रीय सदस्य सीता गुरुङ छन्।

एमालेबाट कास्की क्षेत्र नं २ बाट केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा क्षेत्र नं ३ बाट एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा क्षेत्र नं ३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय सदस्य भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका छन्।

दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्र की नेत्री रेखा शर्मा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएकी छन्। कार्की ललितपुर क्षेत्र नं ३ र गौतम काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएकी छन्। संसदमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकजना मात्रै छन्। एमालेका सचिव छविलाल विश्वकर्मा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका छन्।

विसं २०६४ सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा ६०१ जनामध्ये ५१ जना (८.४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो। तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए। विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा दलितको प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (६.८२ प्रतिशत) मा झर्‍यो। जसमध्ये दुई जना एमालेबाट प्रत्यक्ष निर्वाचित भएका थिए।

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत) दलितको प्रतिनिधित्व भयो। एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए।

कुन दलबाट को थिए महिला उम्मेदवार?

नेपाली कांग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा पाँच जना महिला उठाएको थियो। जसमा प्रदेश १ को तेह्रथुमबाट सिता गुरुङ, मोरङ क्षेत्र नम्बर २ बाट सुजाता कोइराला, मधेश प्रदेशको सिरहा क्षेत्र नम्बर २ बाट चित्रलेखा यादव, बागमती प्रदेशको मकवानपुर क्षेत्र नम्बर १ बाट महालक्ष्मी उपाध्याय (डिना) र लुम्बिनी प्रदेशको अर्घाखाची क्षेत्र नम्बर १ बाट पुष्पा भुसाललाई उम्मेदवार उठाएको थियो।

नेकपा एमालेले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै १४१ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा ११ जना महिला थिए। जसमा प्रदेश १ को सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा भगवती चौधरी, उदयपुरको क्षेत्र नम्बर १ मा मञ्जुकुमारी चौधरी, मधेश प्रदेशबाट धनुषा क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो, बारा क्षेत्र नम्बर ३ बाट ज्वालाकुमारी साहले उम्मेदवारी दिएका थिए।

यस्तै गण्डकी प्रदेशमा कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई, स्याङजा क्षेत्र नम्बर २ बाट पद्माकुमारी अर्याल, बागलुङ क्षेत्र नम्बर २ बाट मञ्जु शर्मा, लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर ३ बाट शान्ता चौधरी, दाङकै क्षेत्र नम्बर ३ बाट कोमल वली, सुदूरपश्चिम प्रदेशमा डोटीबाट गौरीकुमारी ओली र कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निरुदेवी पालले उम्मेदवारी दिएका थिए। जसमध्ये स्याङ्जा २ को मतगणना जारी छ।

नेकपा माओवादी केन्द्रले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा आठ जना महिला उम्मेदवार उठाएको थियो। जसमा बागमती प्रदेशको काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ओनसरी घर्ति, ७ मा मानुसी यमी, ९ मा कल्पना धमाला र १० मा अञ्जना विशंखेलाई उठाएको थियो। यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा पम्फा भुसाल, दाङ क्षेत्र नम्बर २ मा रेखा शर्मा, कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर र जुम्लामा गोमा गौतम उठाएको थियो।

यस्तै नेकपा एकीकृत समाजवादीले १९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नम्बर २ बाट रामकुमारी झाक्रीलाई मात्रै उम्मेदवार उठाएको थियो। उनी पनि पराजित हुन पुगेकी छन्। भर्खरै दर्ता भएर निर्वाचनमा सहभागि भएको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा संख्यात्मक हिसावले सबैभन्दा धेरै १२ जना महिलाको उम्मेदवारी दिएको थियो।

जसमा प्रदेश १ को सुनसरी क्षेत्र नम्बर १ बाट गोमा तामाङ, ओखलढुंगाबाट शोभा कार्की, मधेश प्रदेशको महोत्तरी १ बाट खेमकुमार भुर्तेल, बागमती प्रदेशको रामेछाप १ बाट समिक्षा श्रेष्ठ, सिन्धुली १ बाट मेनुका ठकुरी, धादिङ २ बाट बसुमाया तामाङ, काठमाडौं २ बाट सोविता गौतम, ललितपुर ३ बाट डा.तोसिमा कार्की, सिन्धुपाल्चोक २ बाट माया गुरुङ, चितवन ३ बाट जिता बराल, गण्डकी प्रदेशेको बागलुङ २ बाट तिला खत्री र लुम्बिनी प्रदेशको कपिलवस्तु १ बाट सन्जुसिंह विष्टले उम्मेदवारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved