कांग्रेसबाट अबको प्रधानमन्त्री को? चुनावी परिणामको सन्देश बुझ्ला ?

देशभर युवाको माहोल बनिरहेका बेला कांग्रेसबाट पुस्तान्तरण होला त ? भन्ने सबैको चासो छ । सातौंपटक प्रधानमन्त्री बन्छु भनेका पार्टी सभापति देउवा यो दौडबाट बाहिरिने सम्भावना न्यून रहेको कांग्रेस नेताहरू बताउँछन् । तर, देउवाले यसबारे केही बोलेका छैनन् ।

नेपालभ्युज

कांग्रेसबाट अबको प्रधानमन्त्री को? चुनावी परिणामको सन्देश बुझ्ला ?

काठमाडौं । निर्वाचनको मत परिणाम आइरहेका छन् । अहिलेसम्म प्राप्त परिणाम हेर्दा नेपाली कांग्रेस अगाडी देखिन्छ । गठबन्धनमा रहेका दल नफुटेमा र नयाँ दललाई पनि समेटेमा मात्रै नयाँ सरकारको सम्भावना देखिन्छ । तर कांग्रेसभित्र संसदीय दलको नेता बन्ने होडबाजी भने सुरु भइसकेको छ ।

प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइरालाको दाबी देखिन्छ । यी सबै नेतालाई जनताले भने अनुमोदन गरिसकेका छन् ।

उनीहरू प्रधानमन्त्रीको कार्ड फ्याँकेर चुनावी अभियानमा लागेका थिए । जनताबाट अनुमोदन भए पनि पार्टीले कसलाई अनुमोदन गर्ला त्यो हेर्न बाँकी छ । कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ । यदि, सहमति भएन भने संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

देशभर युवाको माहोल बनिरहेका बेला कांग्रेसबाट पुस्तान्तरण होला त ? भन्ने सबैको चासो छ । सातौंपटक प्रधानमन्त्री बन्छु भनेका पार्टी सभापति देउवा यो दौडबाट बाहिरिने सम्भावना न्यून रहेको कांग्रेस नेताहरू बताउँछन् । तर, देउवाले यसबारे केही बोलेका छैनन् । निर्वाचनमा गठबन्धन गरेर देउवाले आफूलाई प्रधानमन्त्रीमा सुरक्षित गर्न खोजेको कतिपयको बुझाइ छ ।

देउवाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहितका पद एकमुष्ट भागबन्डा गरेरै सहकार्य गर्ने संकेत गरेका छन् । कांग्रेसभित्र देउवाको विकल्प खोज्नुपर्ने मत पनि सशक्त बन्दै गएको छ । ठूला दलको नेतृत्वकै कार्यशैलीका कारण नयाँ दलहरू निर्वाचनमा अगाडी आएको उनीहरूको भनाइ छ ।

यता महामन्त्री थापाले निर्वाचित भएलगत्तै आफू संसदीय दलको नेताको तयारीमा लागेको घोषणा गरिसकेका छन् । थापाले निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै मत मागेका थिए । निर्वाचनको परिणामसँगै प्रधानमन्त्रीको दाबी अनुमोदन भएको थापाको भनाइ छ ।

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । अहिले जनताले स्थायित्वसँगै देशलाई हाँक्ने नयाँ चालक पनि चाहेका छन्, त्यो चालक कांग्रेसभित्रै छ,’ निर्वाचित भएपछिको कार्यक्रममा सम्बोधन गर्दै थापाले भनेका थिए, ‘पार्टीभित्र पनि नयाँ नेतृत्वका विषयमा बहस भइरहेको छ, संसदीय दलदेखि सरकारको नेतृत्वमा नयाँ चालक हुनुपर्ने अपेक्षा छ, देशभरबाटै यो विचार व्यक्त भएको हुँदा सम्मान गर्नुपर्छ ।’

थापाको तयारीलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्दै आफूले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताएका छन् । निर्वाचित भएपछि सिंहले पनि आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गरेका छन्  ।

सिंहले आफूले ०७४ को निर्वाचनमा नै संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको भन्दै प्रधानमन्त्रीका लागि अफर आएको खण्डमा आफू पछि नहट्ने बताएका छन् । २१ फागुन ०७४ मा भएको संसदीय दलको नेताको निर्वाचनमा सिंहले देउवासँग प्रतिस्पर्धा गरेका थिए । त्यसवेला ६३ सांसद रहेकोमा सिंहले १९ र देउवाले ४४ मत पाएका थिए ।

यता पूर्व महामन्त्री शशांक कोइरालाले पनि संसदीय दलको नेताका रुपमा आफुले दाबी गर्ने बताएका छन् । निर्वाचित भए लगतै सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ ।

रामचन्द्र पौडेल, शेखर कोइरालाले पनि संसदीय दलको नेतामा दाबी गर्ने बताएका छन् ।

कांग्रेस नेता उमेशजंग रायमाझी समन्वयकारी क्षमता भएकालाई संसदीय दलको नेता बनाउनुपर्ने धारणा राख्छन् । उनी भन्छन् ‘अहिले हाम्रो मात्रै सरकार बन्ने सम्भावना छैन, सबै दलसँग समन्वय पनि गर्नुपर्ने अवस्था छ त्यसैले कसलाई बनाउँदा सजिलो हुन्छ त्यो विचार गरेर निर्णय लिनुपर्छ ।’ कांग्रेस परिवर्तनको पक्षमा रहेकाले अहिलेको आवश्यकता र जनताको चाहाना अनुसार अघि बढ्ने उनको भनाइ छ ।

पार्टीका एकथरी नेताले देशभर युवामा आकर्षण बढेकाबेला आफ्नो पार्टीलेपनि ध्यान दिनुपर्ने बताइरहेका छन् । संस्थापन पक्षका अधिकांश नेता भने देउवालाई नै अघि बढाउने पक्षमा देखिन्छन् ।  कांग्रेसलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक शंकर तिवारी युवाको चाहनालाई कांग्रेसले कदर गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन् ‘देशमा युवा पुस्ताले पत्याएको , पार्टी बाहिरका जनताले नि पत्याएको र पार्टी भित्नपनि योगदान रहेकाले गगन थापाको दाबी धेरै सान्दर्भिक देखिन्छ । म हुन्छु भन्ने मनोगत चाहना भन्दापनि देशभरी काम गर्न सक्ने त्यसकालागि तयारी गरेको, जनतामा सेवा प्रवाहको प्रत्याभुती दिन सक्नेलाई बनाउनुपर्छ ।’ उनले पार्टीले निर्वाचनमा प्राप्त गरेको परिणामलाई समिक्षा गरेर अघि बढ्दा कांग्रेसलाई फाइदा पुग्ने बताए ।

अर्का राजनीतिक विश्लेषक मीना पौडेल यो निर्वाचनले दिएको सन्देशलाई दलहरूले आत्मसाथ गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन् ‘यो निर्वाचन अघिल्लोभन्दा अलि फरक भयो, मतदातामा राजनीतिक चेत र आलोचनात्मक टिप्पणी गर्ने क्षमता बढेको पाइयो । परम्परागत प्रवृति परम्परागत सोच माथी विद्रोह गरेको देख्दा परिवर्तन खोजेको पुष्टि हुन्छ र यसले मतदाताको शिक्षाको स्तर बढेको देखिन्छ यो सन्देशलाई दलहरूले आत्मसाथ गर्नुपर्छ । ’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved