कसले जित्ला कतार विश्वकपको उपाधि ? सातजनासँग एउटै प्रश्न

विश्वकपको पारो बढेसँगै कसले उपाधि जित्ला भन्ने अड्कल पनि भइरहेको छ । हामीले केही खेलाडी, पुर्व खेलाडी, रेफ्री र खेल पत्रकारसँग यसपटको विश्वकप कसले जित्ला भनेर कुराकानी गरेका छौं ।

नेपालभ्युज

कसले जित्ला कतार विश्वकपको उपाधि ? सातजनासँग एउटै प्रश्न

काठमाडौं। ‘कतार विश्वकप’ आज आइतबार सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दै छन् । अल बायत स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे यो खेल सुरु हुनेछ ।

विश्वकपको पारो बढेसँगै कसले उपाधि जित्ला भन्ने अड्कल पनि भइरहेको छ । नेपालमा अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, इङ्ल्यान्ड पोर्चुगल, फ्रान्सजस्ता मुलुकका समर्थक बढी देखिन्छन् । हामीले केही खेलाडी, पूर्वखेलाडी, रेफ्री र खेल पत्रकारसँग यसपटको विश्वकप कसले जित्ला भनेर कुराकानी गरेका छौं । हेरौँ उनीहरूको दाबी जस्ताको तस्तै :

 

सुनील बल, राष्ट्रिय फुटबल खेलाडी

मलाई यस पटकको विश्वकप ब्राजिलले जित्छ जस्तो लागि रहेको छ। ब्राजिलको खेल्ने शैलीले निकै पहिलेदेखि प्रभावित गरेको हो । यसपटक हरेक खेलाडी व्यक्तिगतरूपमा बलियो छ।

नेयमार, ग्याब्रियल, अनुभवी दानी अल्वेस आदि क्षमतावान् खेलाडीको उपस्थितिले ब्राजिल बलियो टोली बनेको जस्तो लागेको छ । नेयमार घाइते भएनन् भने ब्राजिलको सम्भावना अझै बलियो हुन्छ जस्तो लाग्छ।

 

सावित्रा भण्डारी ‘साम्बा’, राष्ट्रिय महिला फुटबल खेलाडी

मलाई सर्वाधिक विश्वकप विजयी राष्ट्र ब्राजिलको सम्भावना नै प्रबल छ जस्तो लाग्छ। विश्वकप हेर्न सुरु गरेको दिनदेखि नै ब्राजिलको टिमवर्कबाट प्रभावित भएको थिएँ। यसपटक पनि युवा, अनुभवी र स्टार खेलाडीको उपस्थितिका कारण ब्राजिलको टोली बलियो छ ।

व्यक्तिगतरूपमा भने मेरो प्रेरणाको स्रोत क्रिस्टियानो रोनाल्डो हुन्। त्यसैले, पनि पोर्चुगललाई समर्थन गर्दै छु ।

 

नवयुग श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी

कसले जित्छ भन्ने प्रश्न निकै गाह्रो जस्तो लाग्छ । यसपटक धेरै राष्ट्र उपाधिको लागि योग्य नै लागिरहेको छ। अर्जेन्टिना, फ्रान्सजस्ता राष्ट्रहरू मुख्य दाबेदार देखिन्छन् । डेनमार्क पनि दाबेदार हो यो पटक ।

व्यक्तिगतरूपमा रोनाल्डोको प्रशंसक भएकोले पोर्चुगलले पनि जित्ने प्रबल सम्भावना छ जस्तो लाग्छ । पोर्चुगलले नै जितोस् भन्ने कामना गरेको छु । तर, विश्वकप हो जे पनि हुन सक्छ।

 

सहदेव श्रेष्ठ, फुटबल रेफ्री

सम्भावित राष्ट्रलाई क्रमबद्ध रूपमा हेर्दा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो, जर्मनी तेस्रो र चौथोमा फ्रान्स वा पोर्चुगल आउन सक्ने जस्तो लाग्छ ।

अन्य राष्ट्रको तुलनामा अर्जेन्टिनाकोे एउटा टिमवर्क छ। नेतृत्व पनि शक्तिशाली देखिन्छ। रेफ्रीको पक्षबाट हेर्दा पनि अर्जेन्टिना अनुशासित छ। जुन टोलीको बलियो पक्ष पनि हो। लियोनल मेस्सीले पनि टोलीमा राम्रो सहकार्य ल्याउँछन्।

मेस्सीसँगै अनुभवी खेलाडी एन्जेल डि मारिया, लाउटारो मार्टिनेजले पनि टोलीलाई बलियो बनाएका छन्। साथै, मेस्सीको अन्तिम विश्वकप भएकोले उनले टोलीलाई जित दिलाउन आफूलगायत टोलीलाई नै उत्कृष्ट खेल्न प्रेरित गर्ने  सम्भावना रहेको देखिन्छ।

 

हिमेश रत्न बज्राचार्य, खेल पत्रकार

म व्यक्तिगतरूपमा इङ्ल्यान्डको समर्थक हुँ। यसकारण पनि विश्वकप इङ्ल्यान्डले जितोस भन्ने चाहन्छु । म लिभरपुल फुटबल क्लबको समर्थक भएकोले पनि इङ्ल्यान्डलाई समर्थन गर्छु। इङ्ल्यान्डको लागि नै विश्वकप हेर्नेछु। मलाई युरोपियन फुटबलको खेल्ने शैली नै मनपर्छ ।

 

 

हरि खड्का, पूर्वराष्ट्रिय खेलाडी

विगतलाई हेर्ने हो भने सबैले भन्ने अत्यधिक राष्ट्र नै दाबेदार जस्तो लाग्छ । ब्राजिल, जर्मनी जस्ता राष्ट्रको चर्चा बढी छ। तर, मलाई समूह चरणको खेल नहेरी आँकलन गर्न नमिल्ने लाग्दछ । अहिले मेरो समर्थन यो राष्ट्रलाई भन्ने छैन ।

कुन राष्ट्रले कस्तो रणनीतिले खेलिरहेको छ भन्ने अध्ययन गर्न मज्जा लाग्छ। पहिले नेपालको लागि खेल्दै गर्दा भने कुनै खेलाडी मनपरेमा उसको राष्ट्रलाई समर्थन गर्ने बानी थियो।

 

निरञ्जन राजवंशी, खेल पत्रकार

विश्वकपमा यसले नै जित्छ भन्ने विश्लेषण गर्न गाह्रो हुन्छ। किनभने खेललाई धेरै पक्षले असर पार्छ । जसमध्ये भाग्य पनि एक पक्ष हो ।

यस पटकको विश्वकपमा भने अहिलेसम्म जितिरहेका राष्ट्रभन्दा फरक राष्ट्रले जित्छ जस्तो लाग्छ। विश्वकपले नयाँ च्याम्पियन पाउँछ जस्तो लागि रहेको छ। सन् २०१८ को विश्वकप हेर्ने हो भने फ्रान्सले दोस्रो उपाधि जित्यो। क्रोएसियाले पहिलो फाइनल खेल्यो । बेल्जियम तेस्रो भयो । यसले पनि विश्लेषणले मात्रै पनि विश्वकप विजेता आँकलन गर्न पर्याप्त हुन्न भन्ने देखिन्छ ।

विश्लेषण गर्दै, फुटबल टोलीको नालीबेली केलाउँदै, हरेक खेलको विजेता अनुमान गर्ने क्रम विश्वकपमा जारी नै रहनेछ । यद्यपि, फुटबल प्रेमीमाझ लोकप्रिय राष्ट्रले उपाधि जित्छन् कि नयाँ राष्ट्रले इतिहास रच्छ, यसको लागि भने प्रतीक्षा गर्नुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved