मतदान केन्द्रमा खटिएका दुई कर्मचारीको निधन, के रोकिन्छ मतदान ?

‘उहाँ ५६ वर्षीय हुनुहुन्थ्यो । उहाँको उच्च रक्तचापसँगै मधुमेहको समस्या थियो । हिजो सन्चै सुत्नुभएको उहाँ बिहान उठ्नुभएन ।’

नेपालभ्युज

मतदान केन्द्रमा खटिएका दुई कर्मचारीको निधन, के रोकिन्छ मतदान ?
(बायाँबाट क्रमशः) सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ को फुर्के सामुदायिक वन मतदान केन्द्रका अधिकृत बिल्टु राय र धनकुटाको साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वर आधारभूत विद्यायल मतदान केन्द्रमा खटिएकी कर्मचारी पवित्रा याक्खा लिम्बु ।

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचन ०७९ को मतदान गर्ने दिन अब १ दिनमात्रै बाँकी छ । मंसिर ४ गते अर्थात् भोलि मतदान सम्पन्न हुँदैछ । निर्वाचन आयोगले यसअघि नै मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइसकेको छ । यस्तै आयोगले भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

यद्यपि कतिपय मतदान केन्द्रमा खटिएका कर्मचारीहरूको निधन भएको छ । हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रका अधिकृत बिल्टु रायको निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष बिना राईकाअनुसार अधिकृत रायको सुतेकै अवस्थामा निधन भएको हो । उनले भनिन्, ‘उहाँ ५६ वर्षीय हुनुहुन्थ्यो । उहाँको उच्च रक्तचापसँगै मधुमेहको समस्या थियो । हिजो सन्चै सुत्नुभएको उहाँ बिहान उठ्नुभएन ।’

यद्यपि मतदान भने नरोकिने भनाइ उपाध्यक्ष राईले बताइन् । ‘अर्को अधिकृत नियुक्त गर्नेबारे छलफल हुँदैछ । केहीबेरमा सर्वदलीय बैठक बस्नेछ र प्रक्रियाअनुसार अधिकृत नियुक्त गर्नेछ,’ उनले भनिन् ।

यस्तै धनकुटामा पनि एक कर्मचारीको निधन भएको छ । साँगुरीगढी गाउँपालिका ३ स्थित सिद्धेश्वर आधारभूत विद्यायल मतदान केन्द्रमा खटिएकी कर्मचारी पवित्रा याक्खा लिम्बुको निधन भएको हो ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर फर्किने क्रममा उनको निधन भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले बताए । उनले भने, ‘बैठकबाट फर्किने क्रममा उहाँ अचानक ढल्नुभएको रहेछ । त्यसपछि उहाँका निधन भएको हो ।’

३५ वर्षीया लिम्बु त्यहाँ सहायक कर्मचारीको रूपमा थिइन् । बेहोश भएपछि धरानतर्फ लाने क्रममो उनको बाटैमा निधन भएको हो ।

मतदान रोकिँदैन, रोक्नु हुँदैन : निर्वाचन आयोग

निर्वाचन आयोगले मतदान नरोकिने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘उहाँहरूको निधनप्रति निर्वाचन आयोग भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यद्यपि मतदान रोकिँदैन र रोक्नु हुँदैन । निर्वाचन अधिकृतहरूले त्यसबारे काम गर्नुहुन्छ ।’

सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दै उनले भने, ‘दुखद् घटनाहरूप्रति दुःख व्यक्त गर्ने कुरा त छँदैछ । तर, फेरि पनि मतदान रोकिने कुराचाहिँ हुँदैन । यसअघि उम्मेदवारकै पनि निधन भयो । यसका प्रति आयोग दुःख व्यक्त गर्दछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved