संसदीय दौडमा मानुषी, भन्छिन्- ‘युवाको प्रतिनिधित्व गर्न आतुर छु’

मतदाता भन्छन्- युवालाई छान्छौँ

मानुषी भन्छिन्, ‘मैले कोहीसँग प्रतिस्पर्धा गर्न खोजेकी छैन । म समयसँगको प्रतिस्पर्धामा छु । म समयानुकूल समाजको प्रतिनिधित्व गर्न चाहन्छु’

काठमाडौं । मानुषी यमि भट्टराई संसदीय दौडमा छिन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य विर्नाचनमा उनी काठमाडौं क्षेत्र नं. ७ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी छन् । नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिएकी मानुषी घरदैलो टुङ्ग्याउने क्रममा छिन् । त्यसो त बिहीबार (आज) राति १२ बजेदेखि मौनअवधि सुरू हुँदैछ अर्थात् चुनावी प्रचार-प्रसार रोक्नुपर्छ ।

मानुषी आफैँमा सक्षम छन् यद्यपि, उनलाई जबरजस्ती बुवाआमा डा. बाबुराम भट्टराई र हिसिला यमी भट्टराईको विरासतसँग जोडेर हेर्ने गरिएको छ । बाबुराम पूर्वप्रधानमन्त्री त हुँदै हुन्, उनी १० वर्षे सशस्त्र जनयुद्धका नेतृत्वकर्ता पनि हुन् । यसैकारण मानुषीको हुर्काइ अलि भिन्न रह्यो । उनको बाल्यकाल अन्य आम बालबालिकाको भन्दा फरक र उतारचढावपूर्ण रह्यो ।

०४९ सालमा हिसिला (आमा) बेलायत जाने भएपछि मानुषी पनि सँगै गइन् । यसपछि ०५१ मा अध्ययन पूरा गरेर हिसिला नेपाल फर्किइन् भने मानुषी पनि सँगै थिइन् । त्यसपछि हिसिला जनयुद्धमा सामेल भइन् भने मानुषी अध्ययनमा सक्रिय भइन् । यसबीचमा बुवाआमा सँगै नरहेपछि मानुषी भारत पुगिन् ।

त्यहीँ स्नातक सकेर उनी ०६४ सालमा नेपाल फर्किइन् । पढाइमा अब्बल उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा गोल्डमेडलसहित स्नातकोत्तर गरिन् । मानुषी राजनीतिमा नयाँ होइनन् । ०६५ को स्ववियू निर्वाचनमा उनले केन्द्रीय क्याम्पस कीर्तिपुरमा हालसम्मकै धेरै मतसहित सचिवमा जित हात पारिन् ।

संसदीय निर्वाचनमा भने मानुषी नयाँ नै हुन् । उनी पहिलोपटक संघीय निर्वाचन लड्दैछिन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको साथ पाएकी मानुषी भन्छिन्, ‘हार्ने त कुरै भएन । चुनावी फैसला मेरै पक्षमा गर्दैछन् यहाँका मतदाता ।’

युवा र महिला हुनु आफ्नो लागि ‘प्लस पोइन्ट’ रहेको औंल्याउँछिन् मानुषी, भन्छिन्— ‘म एउटा युवा मात्रै होइन, महिला पनि हुँ । अहिले नेपालको राजनीतिक माहोल युवाको हो । यसर्थ पनि म ढुक्क छु कि, यसपटक काठमाडौं ७ का मतदाताले मलाई जिताउनुहुनेछ ।’ संसद् छिर्नुभयो भने तपाईंले विशेषगरी केका लागि वकालत गर्नुहुन्छ ?  नेपालभ्युजको जिज्ञासामा उनले भनिन्, ‘संसद् भनेको प्रायः सबै समस्या र जनजीविकामाथि बोल्ने थलो हो । यी सबैमाथि म नजर घुमाउने नै छु । यद्यपि म विशेषतः महिला अनि युवावृत्तकै समस्याबारे मुखरित हुनेछु ।’

मानुषीसँग नेकपा (एमाले) का श्यामकुमार घिमिरे प्रतिस्पर्धी गर्दै छन् । तर, श्यामकुमारसँग आफ्नो प्रतिस्पर्धा नभएको बताउँछिन् उनी, भन्छिन्— ‘मैले कसैसँग प्रतिस्पर्धा गरिरहेकी छैन ।’ त्यसो त एमालेका रामवीर मानन्धनले पनि सोही क्षेत्रबाट बागी उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पार्टीले टिकट नदिएपछि बागी उम्मेदवार बनेका रामवीर तिनै नेता हुन्, जसले ०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए । यही सन्दर्भ खोतल्दै मानुषी भन्छिन्, ‘यसले मलाई पनि सहयोग गर्छ । एउटा नेताले आफूलाई प्राप्त संवैधानिक अधिकारको प्रयोग गर्न पाउनुपर्छ । एमालेको बागी उम्मेदवारी मेरो जित्ने अर्को आधार हो भन्ने ठान्छु ।’

यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ उम्मेदवार छन् । तर, उनको पार्टी निकै कमजोर छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनलाई आधार मान्ने हो भने यस क्षेत्रमा जसपासँग २ सय पनि मत छैन । उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट ध्रुवविक्रम मल्ल उम्मेदवार छन् । तर, उनीसँग खासरूपमा प्रतिस्पर्धा नहुने भनाइ मानुषीको छ । ‘मैले कोहीसँग प्रतिस्पर्धा गर्न खोजेकी छैन । म समयसँगको प्रतिस्पर्धामा छु । म समयानुकूल समाजको प्रतिनिधित्व गर्न चाहन्छु,’ उनले भनिन् ।

मतदाताको छनोट युवा

मतदाता आफ्नो क्षेत्रमा युवा प्रतिनिधि आइदेओस् भन्ने चाहन्छन् । मानबहादुर ढुङ्गाना काठमाडौं महानगरपालिका १६ को बोहराटार हाइटमा बस्छन् । उनी ९० वर्ष कटिसके । यद्यपि, अबको आवश्यकताअनुासर कामचाहिँ युवाले मात्रै गर्न सक्ने उल्लेख गर्दै भन्छन्, ‘अब त युवा चाहिन्छ । हामीले पनि यहँबाट युवालाई नै मत हाल्ने भनेर सल्लाह गरिसकेका छौँ ।’

आफूसँग ०१५ सालयताबाटै भोट हालेको अनुभव रहेको सुनाउँदै मानबहादुरले थपे, ‘अहिलेसम्म ज-जसलाई जिताइयो, उनीहरूले सपना देखाउने काम मात्रै गरे । अबचाहिँ सपना मात्रै देखाउने होइन, काम पनि गर्ने र युवाअनुहारलाई मत दिने हो ।’

यही क्षेत्रमा समेटिएको वनस्थलीकी सानु चौधरी पनि झुक्काउने उम्मेदवारसँग वाक्क छिन् । ‘मेरै जीवनकालमा पटक-पटक चुनाव भयो र भोट पनि हालियो । तर, अपेक्षाअनुरूप काम भएन,’ उनले भनिन्, ‘सबै दललाई पालैपाले जितायौँ । तर, कसैले गरेनन् ।’

उनी अब एकपटक युवालाई छान्ने र हेर्ने मनसायमा छन्, भन्छन्— ‘अब एकपटक युवालाई भोट दिन्छौँ र हेर्छौँ । उनीहरूबाट केही आशा छ । उनीहरूले पनि गरेनन् भने त्यसपछि विकल्प सोचौँला ।’

काठमाडौं महानगरपालिका २५ को जनवहालकी पुष्पाञ्जलि युवा नै छिन् । आफू स्वाभाविकरूपमा युवाकै पक्षमा रहेको बताउँछिन् उनी । ‘म आफू पनि युवा हुँ, युवाकै पक्षमा छु । युवाले नै गर्नुपर्छ भन्ने पनि लाग्छ,’ उनले भनिन् ।

यो निर्वाचनमा युवाहरू ‘टेस्ट’ हुने उल्लेख गर्दै उनले भने, ‘अब एकपटक युवालाई दिउँ भन्ने छ । उनीहरू टेस्टेट भइसकेका छैनन् । अब यो निर्वाचनपछि निर्वाचित हुने युवाले के गर्छन् सोहीअनुसार अबका चुनावमा निर्णय लिन्छौँ ।’

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाकाका १६, १७, १८ र २५ वडा पर्दछन् भने नागार्जुन नगरपालिकाका १, २ र ३ र तारकेश्वर नगरपालिकाका ४, ५ र ६ वडा पर्दछन् । काठमाडौं महानगरपालिकाको वडा नं १६ सोह्रखुट्टे क्षेत्र हो भने १७ क्षेत्रपाटी, १८ नरदेवी र २५ जनवहाल क्षेत्र हो ।

हिसिला यमि र मानुषीको जन्मस्थान काठमाडौं– ७ नै हो । कोर क्षेत्रमा नेवार समुदायको बाहुल्यता छ, जहाँका मतदाताले पनि आफूलाई मत हाल्ने विश्वास मानुषीलाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved