नेपालमा कहिले आउला सुनक-सन्नाहरूको युग ?

‘ऋषि सुनककै कुरा गर्ने हो भनेपनि त्यहाँ उसलाई कसैले दिएको होइन, ऊ आफैँले लिएको हो । आफैँले जितेको हो । नेतृत्व र त्यसमा पनि मुलुकको नेतृत्व त कसैले दिँदैन, समक्ष भएर आफैँ लिने हो ।’

नेपालमा कहिले आउला सुनक-सन्नाहरूको युग ?

काठमाडौं । भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्री बने । सन् २०१५ मा ३५ वर्षकै उमेर सांसद बनेका सुनक कन्जरभेटिभ पार्टीका नेता चुनिएसँगै प्रधानमन्त्री बनेका हुन् । नेपालमा पनि उनको चर्चा कम छैन । यसअघि सन् २०२० मा फिनल्याण्डको प्रधानमन्त्रीमा ३४ वर्षीया सन्ना मरिन निर्वाचित बनिन् । फिनल्याण्ड डेमोक्रेटिक पार्टीका नेता चयन भएसँगै उनी ३४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेकी थिइन् । उनको चर्चा पनि नेपालमा कम थिएन ।

यी केही प्रतिनिधि घटना मात्रै हुन् । बेलायत र फिनल्याण्डमा जस्तै सानै उमेरमा देशको नेतृत्व गर्ने नेताहरू धेरै छन्, त्यस्ता देशहरू पनि धेरै छन् । जुन नेपालको राजनीतिक परिदृश्यभन्दा कैयन् गुणा भिन्न र अतुलनात्मक हुन् । नेपालमा पनि ‘पुस्तान्तरण’को बहस भने निकै पहिलेदेखि चलेको हो । तर, यसको व्यावहारिक पाटोमा भने राजनीतिक दलहरू चुकिरहेका छन् भनौँ वा राजनीतिक संरचना नै त्यस्तै छ ।

नेपालमा चुनावको बेला छ । प्रतिनिधि सभाको चुनाव हुन महिना दिन पनि बाँकी छैन । तर, निर्वाचनपछि पनि पुस्तान्तरण हुने सम्भावना शून्यजस्तै छ अर्थात् अबको ५ वर्षसम्म पनि पुरानै नेता, पुरानै नेतृत्व हुने लगभग निश्चितप्रायः छ । मुलुकमा वाम-लोकतान्त्रिक मोर्चा छ । जसबाट प्रधानमन्त्री बन्ने उनै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नै हुन् भनेर भन्दा अन्यथा नहोला ।

हुन त कांग्रेसभित्र युवा नेता भनेर चिनिने गगनकुमार थापाहरूले मुलुकको नेतृत्व गर्ने भनेर इच्छा देखाएका छन् । तर, नेपालको राजनीतिक संरचना त्यत्ति सजिलो पनि छैन कि, गगनले चाहनेबित्तिकै प्रधानमन्त्री बन्नलाई । यद्यपि गगन वा उनको पुस्ताले मुलुक हाँक्नुपर्छ भन्ने आमचाहना छ भन्ने कुराको थोरै भएपनि पुष्ट्याइँचाहिँ सुनक-सन्नाहरूको चर्चा हुनुले पनि गर्छ । सन् २०२० मा सन्ना र अहिले सुनकको चर्चा हुनुले आम नेपाली मनोवृत्ति राजनीतिक पुस्तान्तरणको पक्षमा छ भन्ने  बुझ्न सकिएला ।

उसो त के नेपालमा सुनक-सन्नाहरू जन्मिँदैनन् ? अथवा त्यो युग कहिले आउला ? भन्ने स्वाभाविक प्रश्नहरू जन्मिन्छन् । तर, नेपालको राजनीतिक सन्दर्भमा तत्काल बेलायत वा फिनल्याण्डको जस्तो अवस्था नबन्ने राजनीतिक विश्लेषक लोकराज बराल बताउँछन् । ‘बेलायत वा फिनल्याण्ड र  नेपालको राजनीतिक सन्दर्भ निकै फरक छ,’ बराल भन्छन्, ‘नेपालको सन्दर्भमा पुस्तान्तरण अझै केही दशक नहोलाजस्तो देखिन्छ ।’

पुस्तान्तरण हुँदा ‘दिने’ नभइ ‘लिने’ काम हुनुपर्ने विश्लेषक बराल बताउँछन् । ‘ऋषि सुनककै कुरा गर्ने हो भनेपनि त्यहाँ उसलाई कसैले दिएको होइन, ऊ आफैँले लिएको हो । आफैँले जितेको हो । नेतृत्व र त्यसमा पनि मुलुकको नेतृत्व त कसैले दिँदैन, समक्ष भएर आफैँ लिने हो ।’

अहिले नेपालको सन्दर्भमा नेतृत्वमा सकारात्मक हस्तक्षेप गर्ने युवा नेताहरू नै नदेखिने भनाइ विश्लेषण छ बरालको, भन्छन्— ‘युवाहरू पनि सक्षम भएर नेतृत्व पुस्तान्तरण गर्न सक्षम हुनुपर्छ । अहिलेको समकालीन राजनीतिमा त्यस्ताखाले युवा नेताहरू नै देखिँदैनन् । यसले पनि तत्काल यहाँ सुनक-सन्नाहरू आउँदैनन् भन्ने पुष्टि गर्छ ।’

अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि नेपालमा तत्काल सुनक-सन्नाहरूको युग चाँडै नदेखिने बताउँछन् । संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले भनेका छन्, ‘नेपालको राजनीतिक संरचना नै फरकखाले छ । तत्काल यहाँ पुस्तान्तरण हुने र नेतृत्वमा युवा पुस्तामा जाने सम्भावना कम छ ।’

विश्लेषक बरालको भनाइमा समर्थन जनाउँदै श्रेष्ठ भन्छन्, ‘नेपालमा पुस्तान्तरणको बहस भएपछि व्यवहारमा त्यो कठिनजस्तो देखिन्छ ।’

अर्का राजनीतिक विश्लेषक हरि रोका पनि नेपालको वर्तमान अवस्था नेतृत्व पुस्तान्तरणको नभएकाे तर्क गर्छन् । ‘सनुक प्रधानमन्त्री बन्दा ठूलै केही भइहाल्छ भन्ने नभएपनि उनी उमेरको हिसाबले युवा नै छन् र यो मानेमा यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अब यो सन्दर्भलाई नेपालको अवस्थासँग तुलना गर्दा आकाश-पातालको फरक हुन्छ । बेलायतमा त्यस्तो भयो भन्दैमा नेपालमा भइहाल्ने भन्ने हुँदैन,’ उनी भन्छन् ।

सुनक-सन्नाको युग नेपालमा कहिले आउला भन्ने जिज्ञासामा विश्लेषक राेकाको जवाफ छ— ‘सम्भावना देखिँदैन । तत्काल त यसको सम्भावना नै छैन । पछि कुनै नाटकीय परिवर्तन भयो भने त्यसलाई पनि फेरि अचम्मको विषय मान्नुपर्दैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved