भारतीय कांग्रेसको अध्यक्षका लागि चुनाव हुँदै, यस्तो छ खड्गे र थरुरको विगत

पार्टी अध्यक्षका लागि २० वर्षपछि यसप्रकारको विधिवत् चुनाव हुन लागेको हो । सन् २००१ मा सोनिया गान्धी र जितेन्द्र प्रसादबीच यस प्रकारको चुनाव भएको थियो । त्यसयता, गान्धी परिवारलाई कसैले चुनौती दिएको थिएन । सन् २०१९ मा पार्टीको पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा गरेयता सोनिया गान्धीले कार्यवाहक अध्यक्षको भूमिका गर्दै आएकी थिइन् ।

नेपालभ्युज

भारतीय कांग्रेसको अध्यक्षका लागि चुनाव हुँदै, यस्तो छ खड्गे र थरुरको विगत

नेपाल भ्युज। भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि आज सोमबार चुनाव हुँदै छ । निर्वाचन परिणाम भने बुधबार सार्वजनिक हुनेछ । मतदान बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुँदैछ । देशभरिबाट ९३०० पार्टी प्रतिनिधिले मतदान गर्नेछन् । यसका लागि ३६ मतदान केन्द्र तयार गरिएको छ।

पार्टी अध्यक्षका लागि २० वर्षपछि यसप्रकारको विधिवत् चुनाव हुन लागेको हो । सन् २००१ मा सोनिया गान्धी र जितेन्द्र प्रसादबीच यस प्रकारको चुनाव भएको थियो । त्यसयता, गान्धी परिवारलाई कसैले चुनौती दिएको थिएन । सन् २०१९ मा पार्टीको पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा गरेयता सोनिया गान्धीले कार्यवाहक अध्यक्षको भूमिका गर्दै आएकी थिइन् ।

यसपटक गान्धी परिवार निष्पक्ष र तटस्थ रहने बताइएको छ । गान्धी परिवारका कुनै पनि सदस्यले खुलेर कुनै उम्मेद्वारको समर्थन गरेका छैनन । दुई दशकपछि फेरि एकपटक कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर जाँदैछ । तर, मुख्य दुई प्रतिस्पर्धी मल्लिकार्जुन खड्गे र शशी थरुरमध्ये गान्धी परिवारको सहानुभूति खड्गेतर्फ रहेको अनुमान गरिएको छ।

मल्लिकार्जुन खड्गे

खड्गेको जन्म सन् १९४२ कर्नाटका राज्यको विदर जिल्लामा भएको थियो । उनी ‘दलित समुदाय’ का हुन । उनी विजयी भएमा भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने दलित समुदायको दोस्रो व्यक्ति हुनेछन् । सन् १९७०–१९७१ म जगजीवन राम कांग्रेस अध्यक्ष भएका थिए । खड्गेले स्थानीय सरकारी कलेजमा पढ्दा सन् १९६९ मा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवनको सुरुवात गरेका थिए । सन् १९७२ मा उनले पहिलोपटक कर्नाटका विधानसभा सदस्यको चुनाव जितेका थिए । उनीले ९ पटक कर्नाटक विधानसभा सदस्यको चुनाव जितेका थिए ।

सन् २००९ मा उनले पहिलोपटक लोकसभा सदस्यको चुनाव जिते । बारम्बार प्रदेशमन्त्री बनेका खड्गे मनमोहन सिंह सरकारको पालामा केन्द्रीय मन्त्री थिए । सन् २०१४ को लोकसभा चुनावमा पनि विजयी भएका उनी त्यसपछि लोकसभामा विपक्षी दलको नेता भएका थिए । सन् २०१९ को लोकसभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।

कांग्रेस अध्यक्षको उम्मेदवारका रुपमा उनी चर्चामा थिएनन् । गान्धी परिवारको सूचीमा अशोक गोहलोत र दिग्विजय सिंहको नाम अघि थियो । तर, अन्तिम समयमा खड्गे उम्मेदवार बने ।

उनलाई गान्धी परिवारको ‘अन्तिम र बाध्यात्मक’ विकल्प मानिएको छ । कांग्रेस अध्यक्षको उम्मेद्वारका लागि पहिलो विकल्प स्वयं राहुल गान्धीलाई मानिएको थियो । दोस्रो विकल्प प्रियांका गान्धी थिइन । तर, राहुलले यसपटक गान्धी परिवार बाहिरको व्यक्ति अध्यक्ष भएको हेर्ने इच्छा देखाएपछि प्रियंकाले पनि उम्मेदवारी दिने आँट गरिनन् ।

त्यसपछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतको चर्चा भयो । तर, अन्तिम क्षणमा आएर गहलोतपछि हटे । यसका लागि उनले सोनिया गान्धीसँग माफी माग्दै आफू राजस्थान राजनीतिमै सक्रिय रहेन इच्छा व्यक्त गरे ।
गहलोत पछि हटेपछि मध्यप्रदेशका पूर्वमुख्यमन्त्री दिग्विजय सिंह गान्धी परिवारको तर्फबाट कांग्रेस अध्यक्षको उम्मेद्वारहुने चर्चा चलेको थियो । तर, अन्तिम क्षणमा आएर निर्णय बद्लियो र मल्लिकार्जुन खड्गे कांग्रेस अध्यक्षको उम्मेद्वार हुने तय भयो ।

उनका प्रतिस्पर्धी शशी थरुरले खड्गेको खुलेर प्रसंशा गर्ने गरेका छन् । थरुरले बारम्बार भनेका छन–‘खड्गे हाम्रो पार्टीका भीष्म पितामह हुन् । मैले उम्मेद्वारी दिएर पार्टीको भबिष्यका लागि एक विकल्प प्रस्तुत गरेको छु । प्रतिस्पर्धी हुँ भन्दैमा म खड्गेबारे कुनै तल्लोकोटीको टिप्पणी गर्न सक्दिन । यो मैत्रीपूर्णं प्रतिस्पर्धा हो । खड्गेले जीते पनि म खुशी हुनेछु । हाम्रो पार्टीको सिद्धान्त, विचार, लक्ष्य र उद्देश्य एउटै हो । त्यसलाई हासिल गर्न कस्ले राम्रो काम गर्न सक्ला भन्ने प्रश्नमा चुनाव हुँदैछ’

शशी थरुर

शशी थरुरको जन्म सन् १९५६ मा लन्डनमा भएको हो । उनी केरलाको मलायालम भाषी परिवारका हुन् । उनका पिता द स्टेसम्यान का लागि विज्ञापन प्रबन्ध थिए । जागिरको सिलसिलामा उनका मातापिता लन्डनमा हुँदा शशीको जन्म भएको थियो ।

शशी २ वर्षको हुँदा उनको परिवार भारत फर्किएको थियो । उनले मुम्बई र कोलकाताबाट विद्यालय शिक्षा पूरा गरेका थिए । सन् १९७५ मा उनले दिल्लीबाट आफ्नो स्नातक शिक्षा पूरा गरे । उनले अमेरिकाबाट २२ बर्षको उमेरमा ‘अन्तर्राष्ट्रिय मामिला र सम्बन्ध’ विषयमा विद्यावारिधी गरेका छन्।

सन् १९७८ मा उनी यूएनएचसीआरको जागिरे भएर संयुक्त राष्ट्र संघमा प्रवेश गरेका थिए । त्यहाँ उनी उपमहासचिवसम्म भए । सन् २००६ मा भारत सरकारले उनलाई संयुक्त राष्ट्र संघको महासचिवका लागि प्रस्तावित गरेको थियो । तर, दक्षिण कोरियाका बान की मुनले त्यो पद हासिल गरेका थिए ।

सन् २००७ मा संयुक्त राष्ट्र संघको जागिर छोडेर उनी स्वदेश फर्किए । उनलाई विदेश राज्यमन्त्री बनाइयो । यसरी उनी कांग्रेस राजनीतिमा खुलेर आए । सन् २००९मा उनले केरलको तिरुवन्तपुरम निर्वाचन क्षेत्रबाट पहिलोपटक लोकसभा सदस्य जितेका थिए । सन् २०१४ र २०१९ को चुनाव पनि उनले सोही निर्वाचन क्षेत्रबाट जिते । भारतमा मोदी लहर चलेको बेला पनि चुनाव जित्ने दुर्लभ कांग्रेस नेतामा थरुर पर्दछन् । मनमोहन सिंह सरकारमा उनी मानव विकास संशाधनमन्त्री भएका थिए ।

पत्नी सुनन्दा पुष्करको आत्महत्या प्रकरणले उनलाई विवादमा तानेको थियो । सन् २०१४ को जनवरी १७ मा थरुर पत्नी पुष्कर दिल्लीको चाडक्यपुरी होटलको एउटा कोठामा मृत भेटिएकी थिइन् । पुष्करको मृत्युमा थरुरको हात हुन सक्ने भन्दै छानबिन र कारबाहीको माग भएको थियो ।

प्रहरी छानबिनपछि उनी निर्दोष सावित भएका थिए । निश्चय नै यो थरुरको सार्वजनिक जीवनको कठिन मोड थियो तर, यसले उनको राजनीतिक जीवनमा कुनै असर पारेको देखिन्न । थरुर एक राम्रा लेखक मानिन्छन् । उनका दर्जनौं किताब प्रकाशित छन् । तीमध्ये केही विश्व चर्चित छन् । उनी विभिन्न पत्रपत्रिकामा लेख लेख्ने गर्दछन् ।

तर, गान्धी परिवारसँग उनको सम्बन्ध यतिखेर त्यतिधेरै राम्रो नरहेको बताइन्छ । उनले उम्मेद्वारी दिनु केही दिन अघि सोनिया गान्धीलाई भेटेका थिए । राहुल गान्धीको ‘भारत जोडो’ मा तलिमनाडु र केरलामा गान्धीसँगै हिडेका थिए । तथापि, यतिखेर थरुर गान्धी परिवारको छनोट र रुचिभित्र पर्दैनन् । पार्टीभित्र लोकतन्त्रको सुनिश्चिता र भबिष्यका सम्भावनाको खोजीका लागि उम्मेद्वारी दिएको उनको भनाइ छ । थरुरले केही वर्षदेखि पार्टी अध्यक्षको निष्पक्ष चुनावको माग गर्दै आएका थिए।

आजको चुनावले खड्गे र थरुरमध्ये एकलाई कांगेसको अध्यक्ष चयन गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved