जनकपुरधाम। केही वर्षदेखि तराई-मधेसमा मधेसी समुदायले पनि टिका लगाएर दशैं पर्व मनाउन थालेका छन्। धनुषासहित तराई-मधेसका विभिन्न जिल्लाहरूमा यस पटक मधेसी समुदायका प्राय परिवारहरूले दशैंको टिका थाप्दै दशैं मनाएको देखिएको छ।
जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाडी समुदायमा समेत मनाउन थालिएको देखिएको छ ,त्यसरी नै तराई मधेसमा मधेसी समुदायले समेत दशैं पर्व मनाउन थालेका हुन्। मधेसको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाट हुनु राष्ट्रिय भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतविद रमेश रञ्जन झा बताउँछन्।
झाले भने,‘यस पहिचानलाई फराकिलो गर्दै टिका ग्रहण तथा मान्यजनबाट आशीर्वाद लिने परम्परा मधेसमा बढ्दै गएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ।’
नौरथाको अष्टमी र नवमीको दुवै भूगोलमा आ-आफ्नै विशेषता छ। पहाडमा मनाउने दशैं उत्सव र चाडपर्वको हिसाबले पहाडी समुदायले मनाउने गर्दछ भने, मधेसमा भिन्न खालको दशैं मनाउने गरिन्छ। तराई मधेसमा निराहार ब्रत बसेर तपस्याको रुपमा मनाउने गरिन्छ।
नवरात्रीको दिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर भगवती माताको पूजा गर्ने गर्दछ। मधेसमा मन्दिरमा ढोग्ने गरेको र जनईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दशैं टिका थाप्ने गरेको छ।
नवरात्रको दिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर दूर्गा माताको पूजा गर्ने गर्दछन्। वरिष्ठ पत्रकार तथा संस्कृतविद रामभरोस कापडीले दशैं माता भवानी कै पूजा भएकाले तराई मधेसको अलग्गै यसको पहिचान रहेको बताउँछन्।
कापडीले टिकामा महाकाली, महालक्ष्मी र महासरस्वतिको पूजा अराधनाले यस पर्व मनाउने गरेकाले आजको दिन विशेष रहेको बताए। आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दूर्गा सप्तशती चण्डी पाठ गरी नवदूर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा गरिन्छ।
विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावनमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाउने चलन छ।
शान्ति र सद्भावको सन्देश बोकेर आउने दशैं पर्वले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ। कोरोना महामारीको दुईवर्ष पछि यसवर्ष आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टिका र जमराका साथ आशीर्वाद लिन पाएकोमा असाध्यै खुसी देखिन्छ।
बजारहरूमा मेला उत्सव
तराई मधेसका सहर, बजार एवं गाउँमा पोहोर र यसपालीको दशैं निकै फरक देखिएकोछ। मधेसमा खानपानको भन्दा पनि दशैंमा पूजाको संस्कृति रहेको छ। देवी दूर्गासहित अन्य विभिन्न देवीदेवीका प्रतिमा स्थापना गरी भव्यतापूर्वक मेला लगाउने चलन रहेको छ।
प्रदेश २ का सवै जिल्लाको प्रमुख बजारहरू तथा केही ग्रामीण क्षेत्रमा पनि भव्यतापूर्वक मेलाको आयोजना गरिएको छ। महाअष्टमीको दिन राति कालरात्रीमा पूजा गर्ने र बली प्रदान गर्ने चलन रहेको छ। नवमी तिथिका दिन सम्पूर्ण शक्तिपीठहरूमा बली दिने प्रचलन रहेको छ।
नवमीको दिन जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर, महोत्तरी सोनामाई, सप्तरीको छिन्नमस्ता लगायतका शक्तिपीठहरूमा हजारौँको संख्यामा बोका र रांगा बली दिइएको छ।
मधेसमा दशैं भर बिहान र बेलुका घरदेखि मन्दिरसम्म पूजा गर्ने चलन रहेकोले हरेक घरमा भक्तिको वातावरण हुने गरेको पण्डित लालबाबु झा बताउँछन्। मधेसको संस्कृतिमा दशैंको अवधिभर खेलिने झिँझिया र भगतईमा केही ह्रास भएको भए पनि पूजापाठमा हरेक वर्ष श्रद्धालुहरूको संख्या बढ्दै गइरहेको पण्डित झाको भनाइ छ।
दशैंमा एक अर्कालाई शुभकामना आदान प्रदान गर्ने र भोजभतेर गर्ने चलन पनि बढिरहेको नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कर्णको भनाई छ। मूर्ति स्थापना गर्ने, प्रतिमा बनाएर देवीको पूजा गर्ने, मेला लगाउने तथा घरमा समेत पूजा गर्ने र व्रत बस्ने चलनले गर्दा मधेसको समाज एक किसिमले भक्तिमय बन्ने गरेको अध्यक्ष कर्ण बताउँछन्।
दशैंको महाअष्टमीदेखि विजया दशमीको दिनसम्म तीन दिन विभिन्न स्थानमा मेला लाग्ने हुनाले सुरक्षा चुनौती केही थपिने गरेको छ। मेलामा पहिले जुवा खेलाउने चलन थियो तर सुरक्षा व्यवस्थामा जुवाले निकै चुनौती थपिने गरेकोले अहिले यसको चलन रोकिएको छ।
Facebook Comment
Comment