छ महिनामा बाल हिंसा सम्बन्धी २२ सय घटना दर्ता

नेपालभ्युज

छ महिनामा बाल हिंसा सम्बन्धी २२ सय घटना दर्ता

इस्लामावाद । पाकिस्तानमा पछिल्लो छ महिनामा बाल हिंसा सम्बन्धी दुई हजार दुई सयभन्दा बढी घटना दर्ता भएका छन् । एउटा गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा बाल हिंसासँगै अन्य हिंसाका घटनाका विवरणहरू पनि उल्लेख गरिएका छन् ।

प्रतिवेदनका अनुसार पछिल्लो छ महिनामा बाल हिंसा सम्बन्धी दुई हजार दुई सय ११ घटना दर्ता भएका हुन् । बाल हिंसा केटा तथा केटी दुवै लिङ्गमाथि भएको पाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । तर बालकहरूका विरुद्धमा भएका घटनाहरूको तुलनामा बालिकाहरूमाथि भएका घटना धेरै रहेको देखिएको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार कुल घटना मध्ये बालकहरूका विरुद्ध एक हजार चार घटना भएका छन भने बालिका विरुद्ध एक हजार २०७ घटना भएका छन् । ती घटना विवरण देशका ७९ पत्रिकाहरूमा प्रकाशित समाचार तथा विवरणहरूका आधारमा तयार पारिएको पनि त्यस संस्थाका पदाधिकारीहरूले जनाएका छन् ।

घटना विवरणहरू हेर्दा सामान्यत बलात्कार, यौन दुर्व्यवहार, अस्वभाविक स्पर्शलगायत घटना धेरै भएको देखिएको छ । प्रतिवेदनमा ८०३ बालबालिकाहरू अपहरणमा परेको उल्लेख गरिएको छ । ती मध्ये २९८ बालक अपहरणका घटना रहेका छन् भने २४३ ओटा बालिका अपहरणका घटना रहेका छन् ।

प्रतिवेदनका अनुसार सबैभन्दा धेरै घटना पन्जाबमा भएको पाइएको छ । पन्जाबमा एक हजार ५६४ घटना हुँदा दोस्रो धेरै सिन्ध प्रान्तमा ३३८ घटना दर्ता भएका छन् । त्यसैगरी राजधानी इस्लामावादमा १९९, केपीकेमा ७७ र बलुचिस्तानमा २३ ओटा बाल हिंसाका घटना भएको देखिएको छ । बाँकी दश घटना भने अजाद जम्मु र कश्मिरमा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

घटना मध्ये ५२ प्रतिशत घटना शहरी क्षेत्रमा भएको देखिएको छ । ग्रामीण क्षेत्रमा भने ४८ प्रतिशत घटना भएका छन् । बाल हिंसा पाकिस्तानको ठूलो समस्या र चुनौतीका रुपमा रहेको अध्ययनमा संलग्न पदाधिकारीहरूको भनाई छ । यसलाई राज्यले उच्च महत्व दिएर न्यूनिकरणका उपायहरू तत्कालै अपनाउनु पर्नेमा उनीहरूले जोड दिएका छन् । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved