कहिले र कसरी होला रुस-युक्रेन युद्धको अन्त्य ?

युद्धको ६ महिना नाघिसक्दा युक्रेन झन आक्रामक र रुस दबाबमा देखिन्छ

युक्रेनमाथि रुसी सेनाले आक्रमण गरेको ६ महिना भन्दा बढी भइसकेको छ। न त रुसले किभमाथि कब्जा गर्न सक्यो न त युक्रेनमा निर्वाचित राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीको सरकारलाई अपदस्त गरी मस्कोको कठपुतली नै स्थापना गर्न सक्यो । बरु युक्रेनले पहिले गुमाएका भूमि फिर्ता गर्न थालेको छ ।

कहिले र कसरी होला रुस-युक्रेन युद्धको अन्त्य ?

काठमाडौं । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्दा धेरैले सोचेका थिए– रुसी सेनालाई युक्रेनको राजधानी किभ कब्जा गर्न बढीमा तीन महिना लाग्नेछ । सन् १९२२ देखि सन् १९९१ सम्म करिब ७० वर्ष युक्रेन र रुस–दुवै सोभियत संघमा थिए । युक्रेनका तीन प्रदेश क्रिमिया, दोनबस र लुहान्स्कमा रुसी मूलका बासिन्दाको बाहुल्यता छ । रुसी सेनाको आक्रमणलाई युक्रेन–रुस एकता अभियानका रूपमा स्वागत गरिने ठानिएको थियो । क्रिमिया सन् २०१४ मै रुसमा विलय भइसकेको थियो ।

सोभियत संघको विभाजनपछि युक्रेनी राष्ट्रवादको भावना यति बलियो भइसकेको अनुमान कमैले गरेका थिए । स्वयं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुमान थियो– ‘मे ९ अगाडि नै रुसले युक्रेनमाथि विजय हासिल गरिसक्नेछ । मे ९ को दिवस युक्रेन एकिकरणको दिवस समेत हुनेछ ।

मे ९– दोस्रो विश्वयुद्धमा नाजी जर्मनमाथि सोभियत सेनाले विजय हासिल गरेको दिन हो । ‘मस्कोमा मे ९ को दिवस धुमधामका साथ मनाउने प्रचलन कायमै छ । यसपटकको मे ९ को दिवसलाई राष्ट्रपति पुटिनले युक्रेन विजय महोत्सवको रूपमा विशेष ढंगले आयोजना गर्ने सोच राखेका थिए । तर, पुटिनको यो सपना पूरा हुन पाएन ।

युक्रेनमाथि रुसी सेनाले आक्रमण गरेको ६ महिना भन्दा बढी भइसकेको छ। न त रुसले किभमाथि कब्जा गर्न सक्यो न त युक्रेनमा निर्वाचित राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीको सरकारलाई अपदस्त गरी मस्कोको कठपुतली नै स्थापना गर्न सक्यो । न त युद्ध लम्बिदै जाँदा यसको अन्त्य कसरी हुने हो भन्ने संकेत नै अहिलेसम्म देखापरेको छ ।

युक्रेन–रुस युद्ध अझै कति समय तन्किने हो र यसको अन्तिम परिणाम के हुने हो, सबैका आ-आफ्ना अनुमान होलान् तर, कुनै प्रष्ट मार्गचित्र कसैले बताउन सकेको छैन । रुसको भीषण आक्रमण र व्यापक धनजनको क्षतिका बाबजुद नत युक्रेनी जनता निरास देखिन्छन् नत राष्ट्रपति जेलेन्स्कीले आत्मविश्वास गुमाएका छन्। बरु उल्टै जेलेन्स्कीले भन्ने गरेका छन्–‘सन् २०२३ को सुरुवात नहुँदै रुसी सेनालाई लखेटिने छ । रुस यसरी हारेर फर्किने छ कि भविष्यमा कहिल्यै युक्रेनमाथि ठूला आँखाले हेर्ने साहस पनि गर्ने छैन ।’

पछिल्लो पटक युक्रेनले रुसले कब्जा गरेका भूमि फिर्ता गर्न पनि थालेको छ । जेलेन्स्कीले यसलाई राम्रो खबर भनेका छन् । केही दिनमा अझ धेरै भूमि फर्काउने उनको दाबी छ ।

युद्धले पुर्‍याएको भौतिक तथा आर्थिक क्षतिको भिन्नै हिसाब होला यसको मानवीय क्षति नै कम भयावह छैन । अहिलेसम्म करिब १२ हजार सेना र ५ हजार भन्दा बढी युक्रेनी नागरिक मारिएका छन् । रुसतर्फको क्षतिलाई लुकाउने गरिएको छ । तर, रुसतर्फ मर्ने वा नराम्ररी घाइते हुने सेनाको कुुल संख्या ८० हजार भन्दा बढी भएको अनुमान गरिन्छ ।

रुस र युक्रेन दुवै गहुँका ठूला उत्पादक तथा निर्यातकर्ता राष्ट्र हुन् । युद्धले विश्वस्तरमै खाद्यान्न संकट तथा चर्को मूल्यवृद्धिको स्थिति सिर्जना गरेको छ ।

ठूलो क्षतिको बाबजुद रुसी सेनाले दक्षिणी युक्रेनका केही क्षेत्रबाहेक अन्यत्र कब्जा जमाउन सकेको छैन । उत्तरी मोर्चाको युद्ध उत्तिकै अनिर्णित छ । रुसले कब्जा गरेका क्षेत्र फिर्ता गर्न युक्रेनी सेनाले जबरजस्त प्रयास गरिरहेको छ र केही सफलता पनि पाएको छ ।

अमेरिकालगायत नेटो राष्ट्रले युक्रेनलाई हातहतियार र आर्थिक सहायता प्रदान गर्दै आएका छन् । युक्रेनको प्रतिरोध क्षमताको एउटा आधार यो हो । तर, युक्रेनी अधिकारीहरू यस्तो सहयोगलाई पर्याप्त भने मान्दैनन् । अमेरिका र नेटो राष्ट्रले सोचेजस्तो सहयोग नगरेको युक्रेनीको ठहर छ । युरोपेली राजनीतिक र शक्ति समीकरणका जानकार भन्छन् कि युक्रेन युद्धलाई अमेरिका र नेटो राष्ट्रले त्यसरी कम मूल्यांकन गर्न मिल्दैन । युक्रेन युद्धले युरोपलाई नयाँ ढंगले आकारित गर्न सक्छ र त्यो अमेरिकाका लागि निक्कै महंगो पर्न सक्छ ।

युद्धमा रुसको भने युक्रेनको जस्तो सहयोगी राष्ट्र छैनन् । रुसको अपेक्षा चीनसँग थियो । तर, चीनले युद्धमा रुसको तर्फबाट प्रत्यक्ष सहयोग र संलग्नताका लागि रुचि देखाएको छैन । यहाँसम्म कि यसबीच अमेरिका–चीन तनाव झनै बढ्यो । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पिलोसी चीनको अनिच्छा र विरोधका बाबजुद ताइवान भ्रमणमा पुगिन ।

युरोपेली देशले रुसमाथि लगाएका आर्थिक प्रतिबन्ध किञ्चित सफल भएनन् । बरु त्यसको उल्टो असर देखियो । जस्तो कि युरोपेली देशले रुसको तेल ग्यास नकिन्ने भन्दै प्रतिबन्ध लगाए । तर, त्यस्ता प्रतिबन्धले युरोपेली बजारमा उर्जा संकट र इन्धनको मूल्यवृद्धिलाई झनै चर्को बनायो ।

युक्रेन रुसले बेलाबेला वार्ता र समस्याको शान्तिपूर्ण समाधानको प्रयत्न नगरेका हैनन, तर त्यो प्रयत्न सफल हुने कुनै छेकछन्द देखिएको छैन । गत महिना संयुक्त राष्ट्र संघको जेनेभाको एक बैठकमा रुसी प्रतिनिधि गेन्नाडी गतिलोभले भनेका थिए–‘ रुसी र युक्रेनी राष्ट्रपति बीच कुनै प्रत्यक्ष संवाद भइरहेको छैन । यसका लागि संयुक्त राष्ट्र संघले युक्रेनलाई दबाब दिन जरुरी छ ।’

रुसी प्रतिनिधिको यो भनाइ कुटनीतिक चातुर्यका लागि मात्र हो कि रुसी मनोदशाको साँचो अभिव्यक्ति हो ? बुझ्न सजिलो छैन । यदि रुसले वार्ताद्वारा समस्याको शान्तिपूर्ण समाधान चाएको भए त्यसका शर्त के के हुन् ? त्यो प्रष्ट गरेको छैन ।

विश्लेषकहरू भन्छन कि रुसी मूलका बासिन्दा बहुल भएका युक्रेनी क्षेत्र रुसमा गाभेर नयाँ सिमाना कायम गर्न युक्रेन राजी भएमा युद्ध सकिन सक्छ । तर, युक्रेनी राष्ट्रपति जलेन्स्की त्यस्तो मनस्थितिमा छैनन् । उनी युक्रेनी राष्ट्रवादको नायक भएर बरु मर्न चाहन्छन्, देशले भूमि गुमाउने सम्झौतामा हस्ताक्षर गर्न तयार छैनन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो, जारी महिनाको सोही तारिखसम्म युद्धले ७ महिना पार गर्नेछ । पछिल्लो पटक युक्रेन बढी आक्रामक र रुस दबाबमा देखिन्छ । तर रुसका लागि यो युद्ध इगो जस्तो भएको छ । सेफ ल्यान्डिङको खोजी पनि भएको छैन । यसर्थ वार्ताद्वारा शान्तिपूर्ण निकासको चाहनालाई पूरा गर्ने प्रष्ट आधार टाढा-टाढासम्म पनि देखापरेका छैन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved