निर्वाचनपछि सडकमा जाने प्रचण्डको उद्घोष

निर्वाचनपछि सडकमा जाने प्रचण्डको उद्घोष
फाइल तस्वीर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि मंसिर ४ गतेको निर्वाचपछि सडकमा जाने उद्घोष गरेका छन् ।

काठमाडौँमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आइतबार आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।’

संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा गएर बयान दिँदै आफू सडकको घेराबन्दीमा परेँ भनेको उल्लेख गर्दै अध्यक्ष दाहालले थपे, त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो भन्ने मलाई लागेको छ । उनले यदि लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने र नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तिर जान्थ्यो भने । यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले पनि आफू सडकमा जान लागेको उनले बताए। उनले एक वर्षभित्रमै ठूलै आन्दोलन हुने पनि बताए ।

उनले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएको बताए । यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पूँजीपति वर्गलाई नै अगाडि ल्याउने उनले बताए । यसले थाहै नपाई पार्टीका नेतालाई पनि भ्रष्टीकरणमा जान पनि बाध्य पार्ने उनले बताए । उनले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताए।

अध्यक्ष प्रचण्डले कृषिको क्षेत्रमा क्रान्ति नल्याइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सम्भव नभएको बताए । उनले रुस युक्रेन यद्धका कारण संसारभर आर्थिक सङ्कटको स्थिति पैदा भएको र अझ ताइवानको विषयमा अमेरिका र चीन आमनेसामने भइसकेपछि नयाँ राजनीतिक धु्रवीकरणको स्थिति देखा परेको बताए ।

यो अवस्थामा कतिपय मुलुक खाद्यान्न रोक लगाउने अवस्थामा रहेको र यसले सामान्य रुपमा हेर्दा तत्काल असर हुने देखिएला तर यसले भने कालान्तरमा आत्मनिर्भर अर्थतन्त्र बचाउनका निम्ति नकारात्मक रुपमा ठूलो भूमिका खेल्ने बताए  । यस्तो अवस्थामा राज्यले पनि कतिपय निर्यात रोक्ने अवस्था आउनसक्ने उनले बताए । तर अहिले नेपाल त्यस्तो स्थितिमा नरहेको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो ।

अध्यक्ष दाहालले अहिलेको गणतन्त्र त्यत्तिकै नआएको र त्यसका लागि ठूलो त्याग र सङ्घर्ष रहेको बताए । संविधानले समाजवादको परिकल्पना मात्रै गरेको भए पनि साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित जगैदेखि उत्पादन वृद्धि, श्रम र संस्कृति रुपान्तरण गर्ने योजना आफ्नो रहेको बताए । त्यही योजनाका साथ आफ्नै पहलमा वाम गठबन्धन गरेको तर त्यो सफल नभएको उनले जानकारी दिए। यो सचेत रुपमा नै निरन्तरतामा क्रमभङ्गता गरेको तर सफल हुन नदिइएको उनले बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको चेतनास्तर परिवर्तन गर्न नसकेमा समाजवादको परिकल्पना गर्न नसकिने बताए । उनले व्यक्तिवादी, भ्रष्ट प्रवृत्ति निमिट्यान्न नभएसम्म समाजवाद आउनै नसक्ने बताए । उनले भने, ‘जनताको समस्या प्रति कति संवेदनशील छ भन्ने कुराले समाजवादको निर्धारण हुन्छ ।’

अध्यक्ष नेपालले राजनीतिक दलमा गैर राजनीतिक प्रवृत्ति हावी हुँदै गएको बताए । पार्टीका नेताहरु जनता र राष्ट्रप्रति जिम्मेवार नभएको र लोकतन्त्रप्रति गम्भीर नभएकाले यसप्रति गम्भीर रुपमा आत्मसमीक्षा गर्न जरुरी रहेको औँल्याए । उनले अन्य मुलुकका अभ्यासको विश्लेषणको आधारमा मुलुकको समाजवादको मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा (एमाले) का नेता घनश्याम भुसालले सरकारमा गएर मात्रै रुपान्तरण नहुने कुरा ३०/४० वर्ष कम्युनिष्ट पार्टी सरकारमा गएबाट स्पष्ट भएको बताए । त्यसले रुपान्तरण गर्न सकेन भने कुनै पनि अर्थ नहुने भुसालको भनाइ थियो । उनले नेपालमा जनवादी क्रान्ति सकिएकाले अबको बाटो समाजवादी क्रान्ति नै भएको र त्यसका लागि पहिले कृषि क्रान्ति आवश्यक भएको बताए ।

समाज र विज्ञानले पुष्टि गर्ने योजना नभएमा जस्तो सुकै अवधारणा पनि सफल नहुनेमा उनको जोड थियो । उनले कुनै पनि मुलुकमा समाजवाद एकैपटक नआउने र चरणचरणमा आउने भन्दै दलाल पूँजीपति परम्पराले समाजवादको बाटोलाई अवरोध गर्ने बताए । उनले भने, ‘जुन दिन बाध्यताले विदेश पुगेका नेपालीहरू सबै फिर्ता हुन्छन्, त्यही दिनबाट समाजवादको चरण सुरु हुनेछ ।’ त्यसका लागि पहिले कृषि क्रान्ति हुनुपर्ने र त्यपछि उत्पादनमूलुक उद्योगको विकास जरुरी रहेको बताए । त्यसपछि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुलभता हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोलाले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved