त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् ।

त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष सोमबार पेस गरिएको एक निवेदनमा सुरक्षा अधिकृतको माग गरिएको छ । तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिक रुपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई/दुई जना निजी सुरक्षा अधिकृत (पीएसओ) को व्यवस्था गरिदिई शान्तिपूर्ण रुपमा काम कारबाही गर्ने वातावरण मिलाई दिनुहुन अनुरोध गर्दैछु ।’

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति र शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपतिलाई समेत बोधार्थ दिइएको पत्रमा आवश्यक सुरक्षा व्यवस्था गर्न माग गरिएको छ । त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको जानकारी दिन आइतबार त्रिवि परिसरमा पत्रकार सम्मेलन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved