सत्ता गठबन्धन र एमालेको नियति

सत्ता गठबन्धन र एमालेको नियति

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरिसकेको छ । यससँगै दलहरु चुनावको आन्तरीक तयारीमा जुटिसकेका छन । तर अघिल्लो २०७४ को निर्वाचन भन्दा अहिलेको परिदृश्य बिल्कुल फरक ढंगमा अगाडी बढेको छ । अघिल्लो पटक ओलीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, राजमो लगायतका दलसँग वाम गठबन्धन हुँदा दुईतिहाई सुरक्षित गरेका ओली यसपटक भने रक्षात्मक अवस्थामा आईपुगेका छन । सबैभन्दा पहिले ओलीको अहिलेको परिस्थिीतिका पछाडीको अवस्थाबारे चर्चा गरौँ ।

अघिल्लो पटकको वाम गठबन्धन र अहिलेको सत्ता गठबन्धनमा तात्विक फरक नभएपनि अहिलेको गठबन्धनको मुख्य सिर्जनाकर्ता ओली नै हुन । तत्कालिन नेकपा भित्रको बिवादका कारण (५ पुस २०७७‌‌)मा ओलीले संसद बिघटन गरेपछि ओली बिरुद्ध तत्कालिन नेकपाभित्रका प्रचण्ड र माधव समुहरुले बिद्रोह सुरु गरे । ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने योजना अनुरुप १५६ जना सांसदको हस्ताक्षर सहित देउवालाई प्रधानमन्त्रीका रुपमा संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर बुझाएपछि ओलीले दोस्रोपटक संसद बिघटन गरे । अन्ततः अदालतले संसद बिघटन बदर र देउवालाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरिदियो । सँगै पार्टी एकता भंग भएर पूर्ववत एमाले र माओवादी भए भने माधव नेपालले नयाँ पार्टी गठन गरे । यसरी हेर्दा अहिलेको परिस्थीतिका मुख्य कारक ओली नै हुन ।
अब वाम गठबन्धन हुँदाको सहजता र अहिलेको परिस्थीतिका बारेमा चर्चा गरौँ । अघिल्लो पटक माओवादीसँग पार्टी एकता गर्ने गरी अगाडी बढ्दा ओलीसँग बहुमत थियो भने उनको गठबन्धनमा दुई तिहाई मत थियो । एमाले एक्लैले ८० सिटमा जित हासिल गरी पहिलो दल बन्न सफल हुँदा अन्य सहयोगी दलविनै सरकार चलाउन ओली सक्षम थिए । ७ प्रदेश मध्ये ६ वटामा तत्कालिन नेकपाकै सरकार थियो । तर अहिले परिस्थीति फरक छ । गठबन्धन कांग्रेसको नेतृत्वमा निर्माण भएको छ भने प्रदेश सरकारबाट पनि बाहिरिन बाध्य भएको छ । स्थानीय तहमा सबैभन्दा बलियो अवस्थामा रहेको एमाले गठबन्धनकै कारण कमजोर अवस्थामा आईपुगेको छ । एमाले एक्लै भिड्नुपर्ने रक्षात्मक अवस्थामा पुगेको छ ।

केहीदिन अघिमात्र एमाले उपमहासचिव बिष्णु रिमाल नेतृत्वको निर्वाचन बिभागले गरेको प्रारम्भिक सर्वेक्षणमा पनि एमालेले प्रत्यक्षमा ३२ देखि ३६ सिट मात्रै जित हासिल गर्ने प्रारम्भिक बिश्लेषण भएबाट ओली झनै आत्तिएका छन । गठबन्धन तोड्न उनले यसअघि अनेक अस्त्र प्रहार नगरेका होइनन, तर ति सबै विफल भए ।
सत्ता गठबन्धनभित्र सिट बाँडफाँडका लागि कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय समिति तयार भएको छ । सिट वाँडफाँटको अंक गणितमा रस्साकस्सी देखिएपनि जुनसुकै हालतमा गठबन्धन बचाएर जाने अर्थमा कांग्रेसका नेताहरु तयार देखिनुले ओलीको बेचैन बढ्दो छ ।

अघिल्लो पटक वाम एकताकै कारण आफुहरुले पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेको कांग्रेस यसपटक आफु पहिलो दल हुनेमा ढुक्क छ । आफुलाई दोस्रो दल बनाउन कांग्रेसको समर्पण देखिए पहिलो दल कांग्रेसलाई नै बनाउने गरी सहयोग गर्न तयार रहेको प्रचण्डले बताईसकेका छन । सिट बाँडफाँडमा कसले कति सिट लिन्छ, वा लिने यो गठबन्धनका दलहरुभित्रको आन्तरीक सहमतिमा भर पर्ने कुरा हो, यद्यपी अहिलेलाई यो भन्न सकिन्छ कि, आगामी निर्वाचनमा अहिलेकै परिदृश्य कायम रहेमा कांग्रेस पहिलो दल बन्ने निश्चीत छ ।

ओलीको अबको बाटो ।

अघिल्लो चोटी २०७४ को निर्वाचनका बेला ओलीको जुन राष्ट्रभक्ति ओज थियो । त्यो अहिले मथ्थर भैसकेको छ । अघिल्लो चुनावमा ओलीसँग देश बनाउने सपना थियो, लिपुलेक र कालापानीको नक्सा तयार पार्दैमा जनताले राष्ट्रभक्तिको बिशाल पगरी ओलीलाई भिराएका थिए । त्यही कुरा बुझेका प्रचण्डले देउवासँगको गठबन्धन तोडेर एकाएक ओलीसँग गठबन्धन गरी पार्टी एकताका लागि तयार भए । ‘राष्ट्रभक्तिको सवालमा नेपाली समाज भावुक छ’, जानकारहरु यसै भन्छन । जसलाई ओलीले अघिल्लोपटक भरपुर प्रयोग गरे । तर यसपटक गठबन्धनको बिरोध गर्ने बाहेक ओलीसँग अर्को एजेण्डा छैन । अघिल्लो पटक देउवाकै कार्यशैली ओलीले अहिले पछ्याउन बाध्य छन ।

प्रधानमन्त्रीको कुर्सी जोगाउनकै लागि भएको पार्टी अन्तरसंर्घषमा ओली नराम्ररी पराजित भए । त्यो पराजयलाई बिजयमा बदल्ने उनको प्रयास यसपटक अंकगणितका हिसाबले सफल हुने देखिदैन । हुनतः अहिलेको गठबन्धन सधैभरीका लागि होईन निर्वाचन सम्मका लागि हो भनेर नेताहरुले नै भन्ने गरेका छन । सत्ता समिकरणमा यसअघि पनि अपवित्र गठबन्धन नभएका होइनन, अहिले पनि भएकै छ, आगामी दिनमा पनि होला । तर मुख्य कुरा अहिलेका ओली, देउवा र प्रचण्डको निर्वाचन पछिको प्रमुख लक्ष्य प्रधानमन्त्री बन्नु नै हो । उमेर र पार्टीभित्र विकसित युवापुस्ताको राजनीतिक दवाव थेग्न अव उनीहरुलाई सजिलो पक्कै हुने छैन । यस अर्थमा मुख्यतः ओली आफैले आगामी निर्वाचन सम्मका लागि पार्टी र सरकारको नेतृत्व गर्ने र नेतृत्व हस्तान्तरण गर्ने यसअघि नै बताईसकेका छन । यसर्थ आगामी चुनाव ओलीका लागी अझै महत्वपूर्ण छ ।

संसद विघटन सही थियो कि गलत भन्ने बिषय छलफलका लागि योग्य सम्म नठान्ने ओलीका लागि आगामी निर्वाचनमा भोग्ने पराजय भारी बन्न सक्ने सहजै आँकलन गर्न सकिन्छ ।
यसरी हेर्दा उदयमान र राष्ट्रभक्तिपूर्ण नेताको छवि बनाएका ओली अन्ततः पार्टी पराजयको मुख्य कारकका रुपमा चित्रित हु‌दै बिदा हुनुपर्ने स्थीतिमा छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved