पाकिस्तानी पूर्व प्रधानमन्त्री खानमाथि अनुसन्धान सुरु, पक्राउ गरेमा राजधानी कब्जा गर्ने समर्थकको चेतावनी

प्रहरीले खानलाई पक्राउ गर्ने प्रयास गरेमा राजधानी “कब्जा” गर्ने चेतावनी दिँदै सयौं समर्थकहरू इस्लामाबादमा उनको घरबाहिर भेला भएका छन्।

नेपालभ्युज

पाकिस्तानी पूर्व प्रधानमन्त्री खानमाथि अनुसन्धान सुरु, पक्राउ गरेमा राजधानी कब्जा गर्ने समर्थकको चेतावनी

इस्लामाबाद। पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । खानले शनिबार दिएको राजनीतिक भाषणका क्रममा प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ ।

प्रहरी र न्यायपालिकामाथी नै गम्भीर आरोप लगाएकोले छानविनको लागि खानलाई पक्राउ गरेर अनुसन्धान गर्न लागिएको बीबीसीले जनाएको छ ।  खान पक्राउ पर्ने सम्भावना भएपछि पाकिस्तानमा तनाव उच्च छ ।

खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर यदि उनी गिरफ्तार भएमा अधिकार हातमा लिने धम्की दिएका छन् । प्रहरीले खानलाई पक्राउ गर्ने प्रयास गरेमा राजधानी “कब्जा” गर्ने चेतावनी दिँदै सयौं समर्थकहरू इस्लामाबादमा उनको घरबाहिर भेला भएका छन्। घटनास्थलमा उपस्थित प्रहरीले पूर्व नेतालाई पक्राउ गर्न नभई शान्ति सुरक्षा कायम गर्न आएको बताएका छन्।

अप्रिलमा सत्ताबाट हटाइएदेखि खान सरकार र सत्ता नेतृत्व, सेना र अदालतको मुखर आलोचक बनेका छन्। खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लगाएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । खानले नाम लिएका व्यक्ती देशद्रोहको आरोपमा हिरासतमा छन्। शनिबार सार्वजनिक भाषणमा खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै निन्दा गरेका थिए।

प्रहरी अनुसन्धानकर्ताले भनेका छन् कि, खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपमा देशको आतंकवाद विरोधी कानूनको उल्लंघन गरेको ठहर हुन सक्छ। गएको अप्रिलमा अविश्वासको मतमार्फत सत्ताबाट हटाइएका खान र सरकारबीचको तनाव बढेको बेला यो अनुसन्धान सुरु भएको हो।

शनिबार पाकिस्तानको मिडिया नियामकले खानलाई राज्य संस्थाहरू विरुद्ध घृणापूर्ण भाषण गरेको आरोप लगाउँदै टेलिभिजन च्यानलहरूलाई उनको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।खानले  भने आफ्नो लोकप्रियताबाट तर्सेर टीभी च्यानलले प्रत्यक्ष भाषण प्रसारण नगरेको र युटुव लाइभलाई पनि सरकारले बीचैमा काटिदिने गरेको आरोप लगाउनुभएको छ ।

यस वर्षको सुरुमा अविश्वासको मतमा सत्ताबाट हटाइए पनि इमरान खानले धेरै पाकिस्तानी मतदाताहरूको समर्थन बढाईरहेको पाइएको छ । गत महिना उनको पीटीआई पार्टीले पञ्जाबको एक महत्त्वपूर्ण प्रान्तीय विधानसभाको चुनाव जितेर प्रतिद्वन्द्वीहरूलाई चकित पारेको छ ।  धेरैले जुलाईको विधानसभा चुनावको जितलाई खानको निरन्तर लोकप्रियताको सङ्केतको रूपमा हेरेका छन् ।

खानले तत्काल संसदीय चुनावको माग गरेका छन् र उनले चाहेको प्रारम्भिक चुनाव गराइयो भने विपक्षीले हार्ने विश्लेषण पनि भईरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved