मिथिलाञ्चलमा राखी बाँधेर रक्षा बन्धन पर्व मनाइँदै

अहिले जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ।

मिथिलाञ्चलमा राखी बाँधेर रक्षा बन्धन पर्व मनाइँदै

जनकपुरधाम। ए रक्षा बन्धन सबसे बडा तौहार है, बनबालो राखी बेहनाका इसमे प्यार है। अहिले जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ।

रक्षा बन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धूमधामसाथ आज मनाइरहेका छन्। मधेसी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन्। दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन्।

रक्षा बन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरूप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रूपमा उनीहरू कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुसीयाली साटासाट गर्ने दिनलाई रक्षा बन्धन पर्व भनिएको छ। रक्षा बन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन् प्रगाढ बनाउने जनविश्वास छ।

के हो रक्षा बन्धन ?

भाइ र बहिनीबिचको अटुट प्रेमलाई दर्साउने पर्व हो रक्षा बन्धन। खास गरेर रक्षा बन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो। रक्षा बन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ।

रक्षा बन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो। यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन्। रक्षा बन्धनका अवसरमा बजारमा पनि विशेष चहलपहल हुन्छ। रङ्गीबिरङ्गी राखीले पसल सजेको छ।

पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो। यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए। पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे।

यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन्। त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो। अतः देव गुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षा बन्धन बाँधेर बल प्रदान गरेका थिए।

आज जनै पूर्णिमा पनि हो। जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ। खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ।

यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन्। हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ। यसैदिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षा बन्धन बाँध्ने प्रचलन रहेको छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्बदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ।

यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ।

ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ। शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ। यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved