श्रीमती र सासूलाई जिउँदै जलाएर फरार रहेका श्रीमान् पक्राउ

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ८ भोइल टिमकिया घर भई हाल भंगहा नगरपालिका ९ कञ्चन वन ससुवा टोल स्थित ससुराली घर मै बस्दै आएका ४० वर्षीय शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।

श्रीमती र सासूलाई जिउँदै जलाएर फरार रहेका श्रीमान् पक्राउ

जनकपुरधाम। श्रीमती र सासूलाई जिउँदै जलाएर हत्याको प्रयास गरी फरार रहेका श्रीमानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ८ भोइल टिमकिया घर भई हाल भंगहा नगरपालिका ९ कञ्चन वन ससुवा टोल स्थित ससुराली घरमै बस्दै आएका ४० वर्षीय शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।

शंकरले साउन २१ गते राती श्रीमती ३५ वर्षीय प्रमीला देवी र सासू ६५ वर्षीय रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाई फरार भएका थिए। उनलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवा स्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको डीएसपी विष्टले बताए।

शंकरले राति पौने १२ बजे घरमा सुतिरहेका प्रमीला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए। श्रीमती प्रमीलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासूले पनि सघाउने गरेको आशंकामा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए।

सोही विषयमा साउन २१ मा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

श्रीमती र सासू जलाउने शंकरलाई छैन पछुतो

आफ्नै श्रीमती र सासूलाई जलाएर फरार भएका शंकर सदालाई जलाएकोमा पछुतो नभएको पक्राउ पछि प्रहरीलाई बयान दिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार समक्ष उपस्थित भएका सदाले आफूले श्रीमती जलाएर कुनै गल्ती नगरेको बताए। श्रीमतीको विभिन्न व्यक्तिहरूसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाउँदै आफूले केही सिप नलागेर जलाएको बताए।

जीवन मरणको दोसाँधमा छिन् प्रमीला

आगोले जलेर काठमाडौं स्थित कीर्तिपुर अस्पतालको बर्न वार्डको बेड नं. ४०९ मा जीवन मरणको दोसाँधमा रहेकी ३५ वर्षिया प्रमीलाको जीवन रक्षा गर्न चिकित्सक देखि घटनाबारे थाहा हुने सवैले प्रयास र प्रार्थना गरिरहेको अवस्थामा श्रीमानको अमानवीय जवाफले सबैलाई चकित पारेको छ।

आगोले प्रमीलाको शरीरको ७० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्। त्यसैगरी ६५ वर्षीय रेशमा सदाको शरीर पनि १० प्रतिशत जलेको चिकित्सकको भनाई छ। आमा रेशमाको अवस्था खतरामुक्त रहे पनि प्रमीलाको स्वास्थ्य अवस्था भने गम्भीर छ।

यता घटनाको बारे बुझ्न घटना स्थल मै पुगेका नेपालभ्युजकर्मीलाई स्थानीय तथा परिवारले पीडितको कुनै गलत व्यवहार र चालचलन नरहेको बताएका छन्। सँगै एक वर्ष देखि ससुराली बस्दै आएका शंकर, उनकी सासू र श्रीमती गत बिहीबार नै बाबाधाम बाट फर्केको र घटना कै दिन समेत श्रीमतीसँगै घाँस काट्न गएको प्रमीलाका भतिजो ललित सदाले बताए।

फुफाज्युँले किन त्यस्तो घटना घटाए भन्ने आफूहरूलाई जानकारी नरहेको बताउँदै ललितले उनलाई कडा भन्दा कडा सजायको माग गरे।

शंकर एक वर्ष पूर्व वैदेशिक रोजगारीबाट फर्केपछि विदेशबाट पठाएको पैसा श्रीमतीले हिनामिना गरेको भन्दै पटक पटक श्रीमतीसँग झगडा गर्दै आएका थिए। प्रमीलाले विदेशबाट पठाएको पैसा समेत सकाएर गाउँमा अन्य ठाउँहरूबाट ऋण समेत लिएको र अनैतिक सम्बन्ध पनि राखिराखेको आरोप लगाउँदै शंकरले बाध्य भएर आगो लगाएको बताएकोमा प्रमीलाले अस्पतालमै सञ्चारकर्मीहरूलाई दिएको बयानमा आफू पूर्ण रूपमा निर्दोष रहेको बताएकी छिन्।

शंकरले श्रीमतीलाई आगो लगाएपछि घरको बाहिरी ढोका बन्द गरिदिएकोमा छिमेकीहरूले चिच्याएको आवाज सुनेपछि ढोका खोलेपछि उनीहरूलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए। आगो लागेर घाइते भएकी प्रमीला तथा उनकी आमाको उपचार जनकपुर स्थित प्रादेशिक अस्पतालमा सम्भव नहुने भएपछि काठमाडौं थप उपचारको लागि लगिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved