भक्तपुरका खानेपानी कम्पनीको लापरवाही, जारभित्रै लेउ र कीरा

नेपालभ्युज

भक्तपुरका खानेपानी कम्पनीको लापरवाही, जारभित्रै लेउ र कीरा

काठमाडौं। उपत्यकामा हैजाको महामारी फैलिरहेका बेला समेत पानी उत्पादन कम्पनीले लापरवाही गरेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा लापरवाही भएको पाइएको हो।

सर्वसाधारणले प्रतिबोतल तथा जारलाई २० देखि ५० रुपैयाँसम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ।

विभिन्न ब्राण्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासंघ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकारलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरी खानेपानीमा लापरवाही भएको पाइएको हो।

यहाँका विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौँको सङ्ख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। पुराना जारको अत्यधिक प्रयोगले पानीमा कीरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलवाड गरेको पाइएको जनाउदै उनले भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको बताए।

खानेपानी उद्योगहरूको गम्भीर गल्तीका कारण जनतालाई कीरा खुवाएर मानवीय स्वास्थसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै उनले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए। अनुगमनका क्रममा पानी उद्योगबाट दुईवटा उद्योगको पानी परीक्षणका लागि नमूना संकलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved