एलपीएल सातौँ संस्करण १३ कात्तिकदेखि

नेपालभ्युज

एलपीएल सातौँ संस्करण १३ कात्तिकदेखि

काठमाडौं। विद्यालयस्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको (एलपीएल) सातौँ संस्करणको आयोजना धनगढीमा १३ कात्तिकदेखि हुने भएको छ।

विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले बिहीबार बिज्ञप्ति जारी गर्दै १३ कात्तिकदेखि २६ कात्तिकसम्म एलपीएल हुने घोषणा गरेको हो।

विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रियस्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको जनाइएको छ।

लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको यस संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागी हुने बताइएको छ। सहभागी प्रत्येक टिमले ४ जना अन्डर–१९ राष्ट्रिय टिमका खेलाडीहरू समावेश गर्न पाउने प्रावधान छ। लिगको गत संस्करणमा अन्डर–१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनाल सहित आदील अन्सारी, बसिर एहमद सहित यु–१९ राष्ट्रिय क्रिकेटरहरू सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, बिपन रावल, विशाल बिक्रम केसी, सुवास ऐयर, आकाश चन्द, गौतम केसी, खडक बोहरा विभिन्न टिमबाट सहभागी थिए।

२०७३ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको प्रत्यक्ष प्रशारण पहिलो पटक राष्ट्रिय टेलिभिजन टिभी टुडे एचडीले गर्नेछ। यस कदमले प्रतियोगितालाई अझ लोकप्रिय र राष्ट्रव्यापी बनाउने विश्वास आयोजकले लिएको छ। प्रतियोगितालाई नेपाल क्रिकेट संघले समेत मान्यता दिइसकेको छ।

विगतको संस्करणभन्दा यसपटक प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ। ‘‘सहभागी १० टिमहरूलाई दुई समूहमा विभाजन गरिनेछ जसकारण एउटा टिमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयहरूभित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुनेछ,’’ लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘‘लिगको ६ ओटा संस्करण सफलतापूर्वक सम्पन्न भइसके पश्चात सातौं संस्करणलाई थप परिस्कृत सुदृढ र बलियो ढंगबाट आयोजना गर्न हामी प्रयासरत छौँ। उमेर सौहको क्रिकेट बलियो नहुँदा सम्म सिनियर क्रिकेट बलियो नहुने तथ्यलाई मध्यनजर गरि बिभिन्न कठिनाइका बाबजुद यस प्रतियोगितालाई निरन्तरता दिईराखिएको छ,’’ विज्ञप्तिमा उल्लेख छ।

प्रतियोगिताको गत संस्करणको उपाधि सन्तोष कार्की कप्तानीको सत्यवती एकेडेमीले जितेको छ। उसले फाइनलमा शेर मल्ल कप्तानीको विद्याभूषण स्कुललाई १६१ रनको विशाल अन्तरले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved