सिने-संसार

स्तरीय पुस्तक, झुर सिनेमा

स्तरीय पुस्तक, झुर सिनेमा

दक्षिणतिरको सीमावर्ती क्षेत्रका समाजभित्र पसाङ्ग्रिएको विसंगत पक्षमाथि मिहीन रुपले ‘स्केच’ कोरिएको आख्यान हो– ‘लू’। स्रष्टा नयनराज पाण्डेको उक्त औपन्यासिक कृति विक्रमाब्द सत्तरीको दशकमा प्रकाशनमा आयो र पठनीयताको हिसाबले अब्बल ठहरियो। ‘लू’ले उठान गरेको विषयवस्तुको सान्दर्भिकता अझै छ। सामाजिक एवं राजनीतिक तहमा जमेर बसेका बाक्ला लेउहरू नियाल्ने दिशामा यो औपन्यासिक कृति अब्बल देखिन्छ।

मूलतः सीमावर्ती क्षेत्रको सामाजिक जीवनलाई प्रधान विषय बनाइएको ‘लू’ अब भने शब्दमा मात्र सीमित नरहने देखियो। ‘लू’ अब पर्दामा देखिने भएको छ, फिल्मांकन हुने भएको छ। केही दिनअघि कारो फिल्म्सले  सो उपन्यासको प्राधिकार पाएको छ।

‘लू’लाई जस्तै केही वर्षपूर्व मदन पुरस्कार विजेता गैरआख्यान कृति ‘खलंगामा हमला’ लाई पनि पर्दामा उतारिने सुखद् खबर छ। पेसाले नर्स राधा पौडेलद्वारा लिखित उक्त संस्मरण–कृतिमा द्वन्द्वकालीन समयको तस्वीर नियाल्न सकिन्छ। लगभग एकै समय नेपाली साहित्यका दुई उम्दा कृतिमा आधारित सिनेमा निर्माण हुनु सुखद् संयोग मात्र होइन, राम्रा कृतिमाथि निर्देशकीय नजर पर्न थालेको संकेतबोधसमेत हुन्छ। र, स्तरीय कथावस्तुलाई सिनेकर्मीहरूले पछ्याउन थालेको आभास पनि मिल्दछ।

केहीले स्तरीय कृतिमा आधारित सिनेमा निर्देशन गर्ने लोभमा कृतिको मूल मर्म र भावमाथि तुसारो बर्साउने हर्कत पनि गरे। कृति स्तरीय भए पनि झुर सिनेमा बनाए। यद्यपि, अहिलेसम्म पनि कुनै स्तरीय कृतिमा आधारित सिनेमा निर्माण गर्ने प्रयत्नमा भने कमी आएको देखिँदैन।

आख्यान/गैरआख्यान दुवै विधामा चलचित्र निर्माण हुँदै आएको परम्परालाई पछ्याउँदै पछिल्लो समय ‘लू’ र ‘खलंगामा हमला’ले शब्दबाट दृश्यको माध्यमतिर प्रवेश गर्ला, चाँडै नै। प्रतिक्षाको घडी चाँडै घर्कियोस्।

आख्यानमाथि सिनेमा

पूर्ववर्ती दशकहरूमा नेपाली साहित्यका थुप्रै पठनीय कृतिमाथि चलचित्र निर्माण भए/हुँदै आए। आजपर्यन्त जारी छ, यो क्रम/उपक्रम। जसमा केही सिने निर्देशकले स्तरीय आख्यान/गैरआख्यानको मियोलाई पक्डेर स्तरीय र जीवन्त सिनेमा दिए भने केहीले स्तरीय कृतिमा आधारित सिनेमा निर्देशन गर्ने लोभमा कृतिको मूल मर्म र भावमाथि तुसारो बर्साउने हर्कत पनि गरे। कृति स्तरीय भए पनि झुर सिनेमा बनाए। यद्यपि, अहिलेसम्म पनि कुनै स्तरीय कृतिमा आधारित सिनेमा निर्माण गर्ने प्रयत्नमा भने कमी आएको देखिँदैन।

इतिहासतिर फर्केर हेर्दा सन् १९७८ मा गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित सोही नामको चलचित्र निर्माण भयो। प्रताप सुब्बाद्वारा निर्देशित सो चलचित्रमा दशकौंअघि नेपाली समाजको प्रतिनिधित्व गर्ने चरित्र र पात्रलाई राम्ररी उभ्याइएको थियो। नेपाली चलचित्र बजारको अत्यन्तै सीमितताको बाबजुद पनि त्यो समय दर्शकहरूको रुचिभित्रै पर्‍यो, उक्त चलचित्र।

लामो समयदेखि समाजमा स्थापित र प्रभाव पार्ने चरित्रलाई फिल्मांकन गरेर दर्शकबीच लोकप्रिय बनेका चलचित्रहरू थुप्रै छन्। त्यही क्रममा निर्माण भएको ‘श्रीस्वस्थानी’ हाम्रै परिवेशको मौलिक कथावस्तु हो।

किनभने, तत्कालीन समयमा नेपाली बजारमा हिन्दी सिनेमाको दबदबा बढिरहेको थियो। नेपाली भाषामा निर्मित सिनेमाहरू संख्यात्मक रुपले कम थिए। नेपाली भाषी सिनेमाको बजार विस्तार गर्न तत्कालीन समय कृतिमाथि निर्मित ‘परालको आगो’ लगायत अरू चलचित्रहरूले सकारात्मक भूमिका खेले।

सन् १९८५ मा भने कृतिमाथि निर्मित अर्को चलचित्र धेरै नै रुचाइयो। डा. ध्रुवचन्द्र गौतमको औपन्यासिक कृति ‘कट्टेल सरको चोटपटक’ मा आधारित सिनेमा बन्यो– ‘वासुदेव’। नेपाली रङ्गमञ्चमा जमिरहेका कलाकारहरू हरिहर शर्मा, शकुन्तला गुरुङसहित मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्यको जोडीद्वारा अभिनित यो चलचित्र उत्कृष्ट कलाकारिताका कारण आजपर्यन्त रुचिकर देखिएको छ नै, शहरी परिवेशमा भर्खर सल्बलाउँदै गरेका मध्यम वर्गीय समाजको रुग्णतालाई झल्काउन पनि यो सिनेमा अर्थपूर्ण सावित भएको मान्न सकिन्छ।

उत्कृष्ट कृतिलाई फिल्मांकन गर्ने श्रेय जान्छ, निर्देशक यादव खरेललाई। नेपाली चलचित्रमा बायोपिकको शुरुआत गर्ने जस पाएका खरेलले नाट्यसम्राट बालकृष्ण आचार्यको चर्चित कृति ‘प्रेमपिण्ड’ र वासु शशीको कथा ‘नगद नारायण’मा आधारित ‘लोभि–पापी’ जस्ता दर्शकहरूमा दीर्घकालसम्म छाप छाड्ने चलचित्रहरू निर्देशन गरे। उनले आदिकवि भानुभक्त आचार्य र महाकवि देवकोटामाथि बायोपिक बनाए। ती दुवै उनका ऐतिहासिक सिने–रचनामा दरिन्छन्।

अर्का निर्देशक नीर शाहले पनि केही राम्रा कृतिमाथि फिल्म निर्देशन गरे। उनीद्वारा निर्देशित गोपालप्रसाद रिमालको नाटक ‘मसान’ र डायमनशमशेर राणाको उपन्यास ‘वसन्ती’ दुवै उत्कृष्ट चलचित्रमा दरिए। महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’, पारिजातको उपन्यास ‘शिरीषको फूल’ले पनि फिल्मांकन हुने मौका पाइसकेका छन्।

पौराणिक/ऐतिहासिक कथावस्तु र पात्रहरूलाई उभ्याएर पनि धेरै चलचित्र निर्माण भएका छन्, हामीकहाँ। लामो समयदेखि समाजमा स्थापित र प्रभाव पार्ने चरित्रलाई फिल्मांकन गरेर दर्शकबीच लोकप्रिय बनेका चलचित्रहरू थुप्रै छन्। त्यही क्रममा निर्माण भएको ‘श्रीस्वस्थानी’ हाम्रै परिवेशको मौलिक कथावस्तु हो।

यद्यपि, बलिउडमा धार्मिक/पौराणिक सिनेमाहरूको बाढी विस्तारै घट्दै गइरहेको बेला मात्र नेपाली सिनेमा निर्माणको शुरु भएको हुँदा हामीकहाँ धार्मिक कथावस्तुमा आधारित सिनेमा निर्माण हुनुभन्दा सामाजिक विषयहरूमै बन्न थाले। सिनेमा निर्माणको शुरुआती चरणदेखि लामो समयसम्म बलिउडमा धार्मिक र पौराणिक पात्रहरूलाई केन्द्रमा राखेर धेरै सिनेमा निर्माण भए र दादा साहेब फाल्केले निर्देशन गरेका ९० सिनेमामध्ये अधिकांश पौराणिक विषयवस्तुका नै थिए।

अर्का सिने निर्देशक सुवास गजुरेल पनि आख्यानहरूलाई फिल्मांकन गर्न माहिर मानिन्छन्। लीलबहादुर क्षेत्रीको चर्चित कृति ‘बसाइँ’, गुरुप्रसाद मैनालीको कथा ‘छिमेकी’ र रमेश विकलको कथा ‘मधुमालतीको कथा’लाई उनले फिल्मी–रुप दिइसकेका छन्। पछिल्लो समय भने इस्मालीको कथा ‘गाउँको माया’ र भागीरथी श्रेष्ठको कथा ‘अस्तित्व’ लाई पनि उनले पर्दामा ल्याउँदैछन्।

सिर्जनालाई छायांकन गर्न कति चुनौती ?

कुनै पनि कृतिमा आधारित चलचित्र निर्माण गर्न कत्तिको चुनौतीपूर्ण छ ? पटकथा लेखनदेखि अन्य सिर्जन–प्रक्रियाहुँदै गुज्रिँदा केकस्ता उल्झनहरूका सामना गर्नुपर्छ ? निर्देशक गजुरेल भन्छन्, “हामीले कुनै पनि कथा वा उपन्यासमाथि चलचित्र बनाउँदा आउने चुनौती के हो भने त्यो कथा पाठकले पहिला नै पढिसकेका हुन्छन्। कुनै पनि कथाको पाठकहरूको मनमस्तिष्कमा जुन छाप बसेको हुन्छ, चलचित्रमा पनि त्यस्तै आओस् भन्ने चाहन्छन्। तर कतिपय शब्दमा भिजुअल आवश्यक नहुन पनि सक्छ र त्यसो हुँदा पाठकको चाहेजस्तो नबन्न पनि सक्छ।”

बलिउडलाई चम्काउने सीमित चलचित्रमध्ये पर्दछ– ‘देवदास’। बंगालका चर्चित उपन्यासकार शरतचन्द्रद्वारा लिखित लघुआकारको उपन्यास ‘देवदास’ का दुई फिल्मी संस्करण आइसकेका छन्। पहिला बनाए, विमल रायले। पछि सञ्जयलीला भन्सालीले। भन्सालीले भने देवदासलाई ‘आधुनिक लुक’ दिए।

“हामीले कथालाई क्यामरामार्फत् कलात्मक बनाउन खोज्छौँ। त्यो निकै चुनौतीपूर्ण कार्य हो।” भन्छन् गजुरेल, “अर्को कुरा हामीले तत्कालीन कालखण्ड र परिवेशमा लेखिएका कथालाई त्यही कालखण्डमा उभिएर फिल्म बनाउनुपर्छ। यस्ता पक्षले चुनौती थप्छन्।”

विश्वचर्चित कृतिहरूमाथि सिनेमा

विश्व सिने जगत्मा उत्कृष्ट कृतिहरूमा आधारित फिल्म बन्न थालेको निकै लामो र समृद्ध परम्परा छ। निःसन्देह त्यस्ता चलचित्रहरू कालजयी बनेका छन् र आम दर्शकको अन्तरहृदयलाई झंकृत तुल्याउन धेरै हिसाबले सफल ठहरिएका छन्। अर्थात् कृतिजस्तै सिनेमा पनि कालजयी बन्न पुगेका छन्।

उदाहरण हेरौं, ‘डाक्टर जिवागो’ लाई। रुसी स्रष्टा बोरिस पास्तरनाकले लेखेका थिए– ‘डाक्टर जिवागो’। जुन उपन्यासमा अक्टोवर क्रान्तिपूर्व र पछिको रुसी समाज अंकित छन्। १९१४–०१६ को पहिलो विश्वयुद्ध, अक्टोवर क्रान्तिजस्ता बीसौं शताब्दीलाई तरंगित तुल्याउने घटनालाई केन्द्रमा राखेर लेखिएको सो उपन्यासमाथि सन् १९६५ मा फिल्म बन्यो।

रुसी साहित्यकार लियो टल्सटायको बहुचर्चित कृति हो– ‘अन्ना केरेनिना’। विश्व साहित्यमा अधिक रुचाइएको यो कृतिमाथि सन् १९३५ मा फिल्म बन्यो। क्लारेन्स ब्राउनद्वारा निर्देशित सो फिल्म धेरै रुचाइने फिल्ममध्ये पर्दछ। यही औपन्यासिक कृतिमाथि सन् १९४८ मा पनि अर्को फिल्म बन्यो। पछि त यही कथावस्तुमाथि विश्वका विभिन्न देशमा फिल्म निर्माण हुने क्रम बढ्यो।

मार्गरेट मिशेलको चर्चित उपन्यास ‘गन विथ द विण्ड’ निकै चर्चित रह्यो, सन् १९३६ ताका। भर्खर विश्व सिनेमाले ‘धुम’ मच्चाउन शुरुआत गरेको त्यो समय निर्देशक भिक्टर लेमिङ्गले यो उपन्यासमाथि फिल्मांकन गरे।

कुनै पनि फिल्म इतिहासलाई नियाल्ने माध्यम पनि हो। सन् २००८ मा बन्यो– ‘द रीडर’। जर्मनीका उपन्यासकार बर्नहार्ड स्लींकले लेखेका उपन्यासमा आधारित यो फिल्मले नाजीहरूको ज्यादतिको पर्दाफास गरेको छ। सन् १९५५ मै लेखिएको यो उपन्यासको मुख्य पात्र हुन्– माइकल र हैना। हैनाले नाजी क्याम्पमा सजाय भोगिन्। सजाय भोग्नुअघि उनको माइकलसँग प्रेमालाप चलेको थियो। पछि माइकल वकिल बन्छन् र जेलमा रहेकी हैनालाई माइकलले कैयौं किताब टेपरेकर्डरमार्फत् पठाउँछन्।

‘लेडी चैटर्लीज लभर’ यो फिल्म डी. एच. लावेन्सको उपन्यासमा आधारित फिल्म हो। सन् १९८१ म बनेको यो फिल्मले यौनिकताको अन्तरसम्बन्धलाई केलाउन खोजिएको छ।

प्रथम र द्वितीय विश्वयुद्ध वा शीतयुद्धकालीन समयमा सिनेमालाई राजनीतिको हतियार पनि बनाइयो। तत्कालीन समयमा विश्व वा क्षेत्रीय राजनीतिमा व्याप्त खिचातानी र त्यसले बिगारेको राजनीतिक, सामाजिक, आर्थिक पर्यावरणलाई केन्द्रमा राखेर धेरै चलचित्र निर्माण भए।

जारकालीन रुसका प्रख्यात साहित्यस्रष्टा थिए, फ्योदोर दोस्तोवस्की। फाँसीमा चढ्नै लागेका बेला निर्वासनको सजाय सुनाइएका यी महान् स्रष्टाले लेखे– ‘क्राइम एण्ड पनिसमेन्ट’। यो उपन्यासमा आधारित केही सिनेमा बने पनि सन् १९३५ मा फ्रेन्च भाषामा निर्मित सिनेमालाई भने विश्व सिने जगत्मा अब्बल कलाकृतिका रुपमा लिइन्छ।

बलिउडलाई चम्काउने सीमित चलचित्रमध्ये पर्दछ– ‘देवदास’। बंगालका चर्चित उपन्यासकार शरतचन्द्रद्वारा लिखित लघुआकारको उपन्यास ‘देवदास’ का दुई फिल्मी संस्करण आइसकेका छन्। पहिला बनाए, विमल रायले। पछि सञ्जयलीला भन्सालीले। भन्सालीले भने देवदासलाई ‘आधुनिक लुक’ दिए।

अचम्म त के भने शरतचन्द्रले सन् १९०३ मा लेखेका थिए, ‘देवदास’। त्यसको करिब एक शताब्दीपछि भन्सालीले फिल्मांकन गर्दा तत्कालीन समयको कथावस्तुलाई राम्ररी नै समात्न भ्याए।

विश्वका कालजयी कृतिमा आधारित फिल्महरूले विगतदेखि वर्तमानसम्मै तहल्का मच्चाउँदै आएका छन्।

भारतका प्रख्यात स्रष्टा प्रेमचन्द्रले आफ्नै कथावस्तुमाथि बनेको फिल्म खेलेका थिए। छोटो भूमिकामा। फिल्मको नाम थियो– ‘मजदुर’।

यो फिल्म निर्माण भएपछि सेन्सर बोर्डको अवरोध झेल्नुपर्‍यो। बोर्डले भन्यो कि, ‘यो फिल्मले पुँजीपति वर्गलाई आघात पुग्छ।’ सो फिल्म मुम्बईको सेन्सर बोर्डले पारित नगरेपछि मजदुरहरूले हंगामा मच्चाए। मजदुरहरूले फिल्म प्रदर्शनका लागि सात दिनसम्म प्रदर्शन गरे। तर भारतको एक प्रान्त पञ्जाबको सेन्सर बोर्डले भने यो फिल्म पारित गर्‍यो र लाहोरको इम्पेरियल सिनेमा हलमा प्रदर्शनसमेत भयो।

०००

सिनेमाको पहिलो शर्त हो– मनोरञ्जन। आम तह/तप्काले मनोरञ्जन लिऊन भन्ने हेतुले नै सिनेमा निर्माण गर्न थालिएको थियो। शुरुआती चरणमा धार्मिक भावना फैलाउने उद्देश्यले अधिकांश चलचित्र निर्माण भए पनि पछिल्ला चरणमा भने त्यसले सामाजिक, सांस्कृतिक पक्षको वकालत पनि गर्न थाल्यो। सामाजिक सरोकारलाई शिखरमा राखेर सिनेमा निर्माण गर्ने लहर नै चल्न थाल्यो, जुन आजपर्यन्त यथावत छन्। र, संवेदनशील सिनेकर्मीहरूले विश्वका कुनै पनि ठाउँमा रहेर गहिरिँदो सामाजिक/राजनीतिक/सांस्कृतिक/पर्यावरणीय संकटमाथि उत्कृष्ट सिनेमा निर्माण–निर्देशन गरेका छन्।

प्रथम र द्वितीय विश्वयुद्ध वा शीतयुद्धकालीन समयमा सिनेमालाई राजनीतिको हतियार पनि बनाइयो। तत्कालीन समयमा विश्व वा क्षेत्रीय राजनीतिमा व्याप्त खिचातानी र त्यसले बिगारेको राजनीतिक, सामाजिक, आर्थिक पर्यावरणलाई केन्द्रमा राखेर धेरै चलचित्र निर्माण भए।

तत्कालीन समय लेखिएका आख्यान वा गैरआख्यान कृतिहरू विश्व राजनीतिक/सामाजिक परिवेशका दस्तावेजसमेत बन्न पुगेकामा सन्देह देखिँदैन। तिनै कृतिमाथि सिर्जनशील निर्देशकहरूले आफ्नो कलात्मक सीप पोखे। आज पनि त्यस्ता, महान् कृतिमा आधारित सिनेमाहरू स्मरणीय छन्। शायद रहन्छ युगौंयुगसम्म।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved