युद्धको चपेटामा परेको यूक्रेन विश्वकप नजिक

यो जित यूक्रेनको राष्ट्रिय फुटबल टिमका लागि निकै भावनात्मक क्षण थियो। किनकि युद्धको यो समयमा यूक्रेनी फुटबल खेलाडीहरूलाई फुटबल त धेरै टाढाको विषय, आफ्नै जीवन वा मृत्युको पनि ठेगान थिएन।

नेपालभ्युज

युद्धको चपेटामा परेको यूक्रेन विश्वकप नजिक

काठमाडौं। रूससँग जारी युद्धका कारण संकटग्रस्त यूक्रेन यसै वर्ष कतारमा आयोजना हुने विश्वकपको छनोट नजिक पुगेको छ। अब वेल्ससँगको एक निर्णायक खेलमा जित हात पारे यूक्रेन विश्वकप २०२२ को लागि छनोट हुनेछ।

गए राति सम्पन्न विश्वकपको यूरोपेली छनोट खेलमा शानदार खेल देखाएको यूक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। युद्धको कारण पूरै देश आक्रान्त र विक्षिप्त भएको अवस्थामा यूक्रेनले यस खेलमा देखाएको साहसको विश्वभरबाट नै प्रशंसा भैरहेको छ।

स्कटल्याण्डलाई उसकै घरेलु मैदानमा पराजित गर्न यार्मेलोन्को र यारेमचुकले खेलको दुवै हाफमा एक एक गोल गरेका थिए। यसपछि थप गरिएको खेलको इन्जुरी समयमा डोभवेकले अर्को एक गोल थप्दै यूक्रेनको जित सुनिश्चित गरेका थिए।

यो जित यूक्रेनको राष्ट्रिय फुटबल टिमको लागि निकै भावनात्मक क्षण थियो। किनकि युद्धको यो समयमा यूक्रेनी फुटबल खेलाडीहरूलाई फुटबल त धेरै टाढाको विषय, आफ्नो जीवन वा मृत्युको पनि ठेगान थिएन।

यो खेल गत मार्चमा नै हुने तय थियो। तर रूसको आक्रमणका कारण खेल अनिश्चित कालका लागि रद्द भएको थियो।

यो जितले हजारौँ यूक्रेनी जनतालाई पनि केही क्षणका लागि भए पनि युद्धको पीडा भुलाउन मद्दत गरेको छ। यदि यूक्रेन विश्वकपमा छनोट हुन सफल भएमा त्यो क्षणले युद्धको घाउमा मल्हमको काम गर्नेछ।

अब विश्वकप प्रवेशका लागि अन्तिम प्लेअफमा यूक्रेनले वेल्सको सामना गर्नेछ। यदि वेल्सलाई पनि पराजित गर्न सकेमा यूक्रेनले कतार विश्वकप खेल्न पाउनेछ। यूक्रेनले अब आगामी आइतबार वेल्ससँग निर्णायक खेल खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved