गगन थापाको प्रश्न : बजेटमा काठमाडौं-चितवन फास्ट ट्र्याकको योजना कसरी पर्‍यो ?

बजेटले ल्याएका राम्रा योजना हुँदाहुँदै पनि प्रश्न गर्ने ठाउँ रहेको उनले बताए।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा काठमाडौं-चितवन फास्ट ट्र्याक निर्माणको योजना कसरी परेको भनेर प्रश्न गरेका छन्। संसद्‌मा जारी बजेटमाथिको छलफलमा उनले यातायात मन्त्रालयलाई समेत थाहा नभएको बताउँदै उक्त योजना कसरी पर्‍यो भनेर प्रश्न गरेका हुन्।

”चितवन जाने फास्ट ट्र्याकका बारेमा यातायात मन्त्रालयका कसैलाई थाहै छैन। लगानी बोर्डले पैसा जुटाए पनि योजना त भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु हुने होला,” उनले भने, ”मन्त्रालयहरूले ल्याएको कार्यक्रम समायोजन गर्ने हो कि अर्थ मन्त्रालयले कतिपय सन्दर्भमा त्यसका आधारभूत कुराहरूलाई बदल्ने हो ?”

बजेटले ल्याएका राम्रा योजना हुँदाहुँदै पनि प्रश्न गर्ने ठाउँ रहेको उनले बताए। पूर्ववर्ती सरकारले सबै बजेट झापाका योजनामा खनाएको प्रसंग उठाउँदै उनले अहिलेको बजेट पश्चिमबाट आएर पश्चितर्फै सकिएको टिप्पणी गरे। उनले भने, ”पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो, यसले कोसीपारि देख्दै देखेन।”

उनले करमा छुटेका विषयलाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए। “बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ”, उनले भने, “तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।”

सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको बताए। “सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्”, उनले भने, “प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जान्छ, यस कुरालाई ध्यान दिनुपर्छ।”

उनले बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved