तारा एयरसँगै हराए एकै परिवारका सातजना, गाउँ नै रुवाबासीमा

मुक्तिनाथ दर्शनका लागि गएका थिए

नेपालभ्युज

तारा एयरसँगै हराए एकै परिवारका सातजना, गाउँ नै रुवाबासीमा

जनकपुरधाम। आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो।

तारा एयरका अनुसार उक्त विमानमा चालकदलका तीन सदस्यसहित २२ जना सवार थिए। तीमध्ये धनुषा मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।

विमानमा राजनकुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।

उनीहरू मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको छ भने सारा गाउँमा नै चिन्तित बनेको छ।

एकै परिवारका ७ जना विमानसँगै हराएपछि अहिले राजनका घरमा स्थानीय र आफन्त पुगेर सान्त्वना दिइरहेका छन्। सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय, २ जर्मन नागरिक र चालकदलका तीन सदस्यसहित २२ जना सवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved