मुस्ताङका स्थानीय भन्छन् – औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो विमान

“हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले भने, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो।”

नेपालभ्युज

मुस्ताङका स्थानीय भन्छन् – औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो विमान
फाइल तस्वीर

बलेवा। पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर विमान औसतभन्दा कम उचाइमा पटकपटक घुमेको मुस्ताङका स्थानीयले बताएका छन्।

हल्का वर्षा भइरहेकाे समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताए। “हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उनले भने, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो।”

उनले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए। “घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उनले भने, “केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ। सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ।

तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उनले बताए। “त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन”, उनले भने, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला।”

अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताएका छन्।

सम्पर्कविहीन भएको तारा एयरको विमान १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो। जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved