निर्वाचन आयोगको दाबी : कतै पनि मतदान स्थगित भएको छैन

नेपालभ्युज

निर्वाचन आयोगको दाबी : कतै पनि मतदान स्थगित भएको छैन

काठमाडौं। काभ्रे, कालिकोट, दैलेख, अछाम, डोटी, दोलखालगायत जिल्लाका विभिन्न स्थानमा झडप र विवादका कारण मतदान स्थगित भएको बताइए पनि निर्वाचन आयोगले भने कतै पनि मतदान स्थगित नभएको दाबी गरेको छ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो।

कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भई जारी छ। “दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उनले भने।

शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved