सर्वोच्च अदालत नखुल्दै नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न, एआईजी पोखरेल र थापा अदालत जाँदै

सिंहको बढुवामा असन्तुष्ट अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन्। अदालतमा आज रिट परेर आज नै पेशी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्न सक्ने भएकाले बिहानै दर्ज्यानी चिह्न लगाउने कार्यक्रम राखिएको बताइएको छ।

नेपालभ्युज

सर्वोच्च अदालत नखुल्दै नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न, एआईजी पोखरेल र थापा अदालत जाँदै

काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिह्न लगाउँदै छन्। सरकारले हिजो सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न लगाउने कार्यक्रम राखेको हो।

सिंहको बढुवामा असन्तुष्ट अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन्। अदालतमा आज रिट परेर आज नै पेशी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्न सक्ने भएकाले बिहानै दर्ज्यानी चिह्न लगाउने कार्यक्रम राखिएको बताइएको छ।

रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ। पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

यसअघि अघिल्लो पटक शेरबहादुर देउवा सरकारमा रहँदा पनि जयबहादुर चन्दलाई वरियता मिचेर आईजीपी नियुक्त गरिएको थियो। सो समयमा पनि सर्वोच्चले रोक लगाएको थियो।

यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि आज दर्ज्यानी चिह्न लगाउँदैछन्। हिजै महानिरीक्षक नियुक्त भएका अर्याल सशस्त्रको आईजीपीमा एक्ला दाबेदार थिए। बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले अनिवार्य अवकाश पाएका छन्। ३० वर्षे सेवाहदका कारण अवकाश पाएका हुन्। १९ वैशाख २०४९ बाट प्रहरी सेवा शुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि सकिएको छ।

अवकाश पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप)हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन्। त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार र प्रकाश अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved