धमिराको भोजन कि पुनःमुद्रण ?

पछिल्लो समय, एकेडेमीले पुनः मुद्रण गरेका पुस्तकहरूमध्ये केहीमा पहुँचवालाहरूकै हालीमुहाली रहेको देखिन्छ। कुनै पूर्वप्राज्ञ त कुनै पूर्वकर्मचारीका पुस्तकहरू पुनः प्रकाशन हुनुलाई यही अर्थमा बुझ्न सकिन्छ।

धमिराको भोजन कि पुनःमुद्रण ?

‘तिनीहरूमाथि बम नखसाल, तिनीहरूमाथि बम नखसाल
त्यहाँ ती देवदूतहरूको भेलामाथि बम नखसाल
बमले ती बच्चाहरूजस्ता क्यै’ दिन सक्ने छैन
बमले ती बच्चीहरूजस्ता क्यै’ दिन सक्ने छैन
त्यहाँ बम नखसाल, त्यहाँ बम नखसाल।’
(वासु शशी ‘बीसौं शताब्दीको गीत’ बाट।)

बीसौं शताब्दी युद्धको विभीषिकाले पिरोलेको शताब्दीको रूपमा इतिहासमा चिन्हित रह्यो। सिंगो विश्व र मानव जातिले दुई विश्वयुद्धलाई नराम्ररी झेल्नुपर्‍यो। लाखौं मरे, लाखौं घरबारविहीन भए। एक हिसाबले प्रवाहित हुँदै आएको विश्वको राजनीति, सामाजिक, आर्थिक पक्षहरूका धार नै बदलिए। नयाँ धार जन्मिए, नयाँ आधार जन्मिए।

बीसौं शताब्दीले झेलेको भयावह परिस्थिति र मानव जातिले सँगालेको दुःस्वप्नलाई नियालेका सुविख्यात कवि वासु शशीले तीसको दशकमा उम्दा काव्य जन्माए- ‘बीसौं शताब्दीको गीत’। लामा कविताको लहरमा आबद्ध उक्त कविता ‘वासु शशीका कविता’ भित्र समेटिएका छन्। जुन कृतिलाई २०३५ सालताका साझा प्रकाशनले प्रकाशनमा ल्याएको थियो।
दशकयता आर्थिक संकटको भुमरीबीच पिल्सिरहेको साझा प्रकाशनले २०७९ वैशाखको दुई हप्तासम्म पुस्तक-मेला गर्‍यो- केन्द्रदेखि सबै शाखाहरूमा। पुस्तक-मेलामा विशेष छुटको व्यवस्था हुने भएको हुँदा पुस्तकप्रति अभिरूचि राख्नेहरूका नजर र चासो पर्छन् नै। साथै, पुस्तक-मेला आर्थिक रूपमा केही हदसम्म तंग्रिने उपाय पनि हुनसक्छ। यस पटकको पुस्तक-मेलामा पुराना पुस्तकहरूको लस्करमा ‘वासु शशीका कविता’ पनि राखिएको थियो। यद्यपि, आवरण सद्देजस्तो देखिए पनि भित्री पानाहरूमा धमिराले पूरै स्वाद पाइसकेका ‘वासु शशीका कविता’ को उही वर्षौं पुरानो र थोत्रिएको संस्करण मेलामा राखेर साझाले आफ्नो कमजोर र भद्रगोल व्यवस्थापनको परिचय दिलायो।

बिक्रीयोग्य मात्रै पुनः प्रकाशन

‘वासु शशीका कविता’ प्रकाशित भएको साढे चार दशक हुनै लाग्यो। पूर्ववर्ती पुस्तामा भूपी शेरचनपछि सम्भवतः वासु शशीका कविताहरू नै धेरै पढिने र खोजिनेमा पर्दछन्। उनका कवितामा तात्कालिक समयको राजनीतिदेखि सामाजिक जीवनका राप र ताप प्रखर रूपमा देखिन्छन्। त्यही भएर पूर्ववर्ती र पछिल्ला पुस्ताबीच पनि उनका केही कविताले अमिट छाप छाडेका छन्। जस्तोः ‘बीसौं शताब्दीको गीत’, ‘मेरो आकाशलाई लगेर हावाले माथि टाँगिदियो’, ‘हिमालय अग्ला हुँदैमा हामी महान् होइनौं’, ‘मेरो देशको पुस्तक’, ‘मानिसको हृदय बढ्ता भत्केको छ’। यी सबै कविता ‘वासु शशीका कविता’ भित्र समेटिएका छन्।

२०७८ सालमा नौ वटा नयाँ पुस्तक छापेको साझाले त्यसअघिका तीन वर्ष भने प्रकाशनशून्य-वर्षका रूपमा मनायो। कुनै नयाँ प्रकाशन आएन। कारण थियो- कोभिड-१९ को महामारी। यसै त थलिएको साझा, कोभिडले झनै शिथिल तुल्यायो।
जस्तोसुकै संकट झेल्नु परे पनि साझाले पुनः मुद्रण भने गर्दै आइरहेको छ निरन्तर। विडम्बना के छ भने वासु शशीका कविताकृतिजस्तै अरू थुप्रै कृति पर्ने गरेका छैनन्, पुनः मुद्रणको घानभित्र। किन त ? साझाको उत्पादन तथा व्यवस्थापन महाशाखाका प्रमुख होम भट्टराईको कथन छ, ‘हामीले बजारमा माग भएका पुस्तकहरूलाई पुनः प्रकाशन गरिरहेका छौं। तर साहित्य र सांस्कृतिक मूल्य भए पनि बजारमा माग नभएका पुस्तकहरू भने पुनः प्रकाशन गरिरहेका छैनौं।’

भट्टराईका अनुसार, महाकवि लक्ष्मीप्रसाद देवकोटाका अधिकांश पुस्तक, नाट्यसम्राट बालकृष्ण समका पुस्तकहरू, जनकलाल शर्माको ‘हाम्रो समाजः एक अध्ययन’, महेशविक्रम शाहको ‘छापामारको छोरो’, कृष्ण धरावासीको ‘राधा’ लगायत पुस्तक पुनः मुद्रण भएका छन्। साझालाई जेनतेन रूपमा चलायमान तुल्याउने यस्तै-यस्तै पुनःमुद्रित पुस्तकहरू बनेका छन्, जसका बिक्रीदर सन्तोषजनक रहँदै आएको छ।

गर्न त साझाले अहिलेसम्म २२ सय शीर्षकका पुस्तक प्रकाशित गरिसकेको छ। जसमध्ये पुनः मुद्रण हुनेमा सयको हाराहारीमा पनि छैनन्। धेरै पुस्तकले दोस्रो संस्करणको अनुहार नै देख्न पाएका छैनन्। पाठ्यपुस्तकमा समेटिएका र राष्ट्रिय स्तरका पुरस्कार पाएकाबाहेक अरू ‘आइटम’ का पुस्तकहरू वर्षौंयता पुनः मुद्रित भएका छैनन्।

साझाबाट खोसेर अरूलाई नै

पछिल्लो समय निजी प्रकाशनगृहहरू धमाधम खुल्न थाले। अझ, २०६२/०६३ पछिको सङ्लिदो राजनीतिक पर्यावरणपश्चात् त निजी प्रकाशनगृहहरूको बाढी नै आउन थाले। घिसेपिटे रूपमा चलिरहेका प्रकाशनगृहहरूभन्दा पृथक एवं व्यावसायिक सोच र दृष्टिकोणसहित युवा पुस्ताको हस्तक्षेप प्रकाशन-क्षेत्रमा पर्न थाल्यो। त्यसयता खुलेका धेरै प्रकाशनगृहहरू अहिले स्थापित छन्।

कुनै बेला भने स्रष्टाहरूले कि साझा प्रकाशनको दैलो चियाउनुपथ्र्यो, कि त रत्न पुस्तक भण्डारको प्रमुखलाई रिझाउनुपथ्र्यो। नेपाल प्रज्ञा-प्रतिष्ठानले पनि प्रकाशन नगरेको त होइन, तर प्रतिष्ठानले पहुँचवाला लेखक-कविहरूबाहेक अरू स्रष्टालाई मुस्किलले पत्याउँथ्यो। जेजस्तो भए पनि व्यावसायिक रूपमा भने साझा र रत्न पुस्तककै अग्रता थियो।
आर्थिक दलदलमा फस्नुपूर्व साझा बहुसंख्यक लेखक एवं तिनका उत्तराधिकारीहरूको नजरमा प्रिय र विश्वासिलो प्रकाशनगृहको रूपमा उभिएको थियो। समयमै रोयल्टी पाइने, हिसाब-किताबमा चुस्त। विश्वासको जगमा उभिएको थियो साझा। यद्यपि, संकटका दिनहरू प्रारम्भ भएपछि यस्तो समस्या आइदियो- साझाबाट प्रकाशित ८६ थान चल्तीका पुस्तक दशकयता अरू नै प्रकाशनगृहबाट निस्किरहेका छन्। भट्टराई भन्छन्, ‘‘लेखकको निधनपछि लेखकका उत्तराधिकारीले अमुक प्रकाशन संस्थालाई पुस्तक बेचेको अवस्था रह्यो।’’

हुन पनि साझालाई ‘पाल्ने’ केही पुस्तकमा पर्दछ- जनकलाल शर्माको ‘हाम्रो समाजः एक अध्ययन’। साझाले अधिकांश पुस्तकको पहिलो संस्करण ११ सय प्रति छाप्दै आएको छ। जसमा लेखकलाई हजार प्रतिको रोयल्टी दिने गर्दछ। सय प्रति भने उपहार वा समीक्षाका निम्ति छुट्याउने गर्दछ।

प्रायः ११ सयभन्दा बढी पुस्तक नछाप्ने साझाले शर्माको उक्त पुस्तक २०७७ सालमा २१ सय प्रति छाप्यो, जुन पाचौँ संस्करणको रूपमा आएको थियो। २०३९ सालमा प्रकाशित उक्त पुस्तकले त्यही वर्षको साझा पुरस्कार पनि पाएको थियो। एकातिर गहन कृति, अर्कोतिर पुरस्कृत पनि। यस्ता पक्षले बिक्रीमा नसघाउने प्रश्नै रहेन।

पछिल्लो समय भने शर्माका सुपुत्र डा. सुमन ढकालले अर्कै प्रकाशनगृहलाई प्रकाशनको अनुमति दिए, सो पुस्तक। अहिले साझा र अर्कै प्रकाशनगृहबाट समेत निस्किरहेका छन्। त्यस्तै अवस्था रह्यो, मदनमणि दीक्षितको ‘माधवी’ को पनि। दीक्षितको निधन भएलगत्तै अर्कै प्रकाशनगृहबाट सो पुस्तक निस्कियो। पाठकको सर्वाधिक खोजीमा रहेका तर साझाले पुनः मुद्रण नगरेका यस्ता पुस्तकहरू अर्कै प्रकाशनगृहबाट आउने क्रम बढ्दो छ।

उम्दा उपन्यासकार धच गोतामेका अधिकांश पुस्तक साझाले नै छापेको थियो। तर साझासँग प्रकाशन स्वामित्व रहे पनि गोतामेका ‘घामका पाइलाहरू’ र ‘यहाँदेखि त्यहाँसम्म’ जस्ता चर्चित उपन्यासमा अहिले अरू नै प्रकाशनगृहको लोगो टाँसिन पुगेका छन्। पारिजातका अधिकांश पुस्तकका साथै शंकर लामिछानेका पुस्तकहरू पनि अरू नै प्रकाशनगृहहरूका ‘सम्पत्ति’ बनिसकेका छन्।

साझाको पहिचान बनेका प्रसिद्ध लेखकका कृतिहरू अरू नै प्रकाशनगृहहरूबाट कसरी आउन सम्भव रह्यो त ? भट्टराई गुनासोले भरिएको भाषामा बोल्छन्, ‘साझा कमजोर छ अहिले। त्यही भएर लेखकहरूले साझासँगको सम्झौताविपरीत अरू नै प्रकाशन संस्थालाई दिने काम भइरहेका छन्। यसलाई म लेखकहरूले संस्थागत रूपमा गरेको घात मान्दछु।’
तर साझाको प्रकाशन स्वामित्व रहेका पुस्तकहरू अरू नै प्रकाशनगृहलाई प्रकाशन अनुमति दिएका लेखकहरूले पाउँदै आएको लेखकस्व (रोयल्टी) भने साझाले रोकेको छ, पछिल्लो समय।

कमजोरमाथि नै प्रहार

आखिर, लेखकहरूले पनि संस्थाको सप्रिँदो/बिग्रिदो दुवै स्थितितिर नजर लगाउँदा रहेछन्। ‘ओरालो लागेको बाघलाई मृगले पनि खेद्छ’ भन्ने आहान यतिबेला साझाको हकमा चरितार्थ भएको छ। प्रकाशन क्षेत्रमा साझाको चमकधमक रहेको बेलासम्म लेखकहरूले साझासँगको सम्झौता तोडेर अरू प्रकाशनगृहलाई पुस्तक प्रकाशनको अनुमति दिने आँट गरेका थिएनन् तर बिस्तारै ओरालो लाग्दै गएको देखेपछि लेखकहरूले इमानदारिता देखाउन चाहेनन्। मरेका जन्तुलाई उपियाँले छाडेको जस्तै व्यवहार देखाउन थाले।

नेपाल प्रज्ञा-प्रतिष्ठान (एकेडेमी) को हकमा भने कमै भएको छ यस्तो। अर्थात्, एकेडेमीबाट निस्किएका पुस्तकहरू पुनः मुद्रण नभए पनि लेखक स्वयं वा तिनका उत्तराधिकारीले अर्कै प्रकाशनगृहको ढोका ढक्ढकाउने अवस्था कमै देखिँदै आएको छ।

वर्षौंयता एकेडेमीले पुनः मुद्रणतिर खासै चासो दिइरहेको थिएन। पुनः मुद्रण नभएका कृतिहरू संख्यात्मक रूपमा बग्रेल्ती थिए। गएको वर्षदेखि भने धमाधम पुनः मुद्रण भइरहेका छन्। जसमा ६ दशकयता पुनः मुद्रण नभइरहेका पुस्तकहरू पनि पर्दछन्। ‘अमरकोश’, ‘शुक्रनीति’, ‘पाश्चात्य काव्य सिद्धान्त’, ‘नेपाली निघन्टु’ जस्ता पुस्तक पछिल्लो समय पुनः मुद्रण भए।

विगतदेखि नै एकेडेमीबाट हुँदै आएका गोष्ठी, अनुसन्धानजस्ता काम कोभिड-१९ को महामारीको बेला ठप्प रहे। त्यसका निम्ति छुट्याइएको बजेटलाई रकमान्तर गरी पुनः मुद्रणमा खर्चिएको बताइन्छ।

त्यसो त, वर्षौंदेखि पुनः मुद्रण नभइरहेको अवस्थामा लेखक स्वयंले अरु प्रकाशनगृहबाट पुनः मुद्रण गर्न सकिने नीति एकेडेमीले ल्याएको थियो। यस्तो नीति एकेडेमीको अघिल्लो कार्यकालमा ल्याइएको थियो। केही लेखकले एकेडेमीबाट अनुमति लिएर अरू नै प्रकाशनगृहलाई आफ्ना पुस्तकको प्रकाशन अधिकार पनि दिए। तर नयाँ टिमले भने फेरि यस्तो नीतिमा परिवर्तन गरेर एकेडेमीबाट प्रकाशित पुस्तक अरू प्रकाशनगृहलाई दिन नपाइने बनाइएको छ।

एकेडेमीका सदस्य-सचिव डा. जगत उपाध्याय भन्छन्, ‘एकेडेमीबाट प्रकाशित अधिकांश पुस्तकमा राज्यको लगानी परेको छ। अनुसन्धान-खोजका आधारमा त्यस्ता पुस्तकहरू लेखिएर प्रकाशित भएका छन्। विगतमा त्यस्ता पुस्तकहरूको दोस्रो संस्करण ननिकाल्ने एकेडेमीको नीतिजस्तै रहेको थियो। हामीले भने त्यस्तो नीतिलाई हटाएर पुनः मुद्रण गर्न थालेका छौं।’

‘नेपाल निरूपण’ र ‘नेपाली साहित्यको इतिहास’ जस्ता पुस्तक पुनः प्रकाशनको तयारीमा रहेको बताउँदै सदस्य-सचिव डा. उपाध्याय भन्छन्, ‘‘हामीले २०१६/०१७ सालयता नछापिएका पुस्तकहरू पनि छाप्न थालेका छौं। हाम्रो बजेटले भ्याएसम्म त्यस्ता पुस्तकहरूको पुनः मुद्रण गर्न थालेका छौं।’’

निजी प्रकाशनगृहरू उत्साहित

पुनः मुद्रणमा निजी प्रकाशनगृहहरूको तत्परता उत्साहजनक देखिँदै छ। जसमा छलाङ मारेको छ, बुकहिलले। प्रकाशन क्षेत्रमा पाइला टेकेको केही वर्षभित्रै २०/२२ वटाजति पुस्तक पुनः मुद्रण गरिसकेको छ, बुकहिलले, जसमा नेपाली पाठकले औधि रुचाइएका पुस्तकहरू नै पर्दछन्।

लोकतन्त्र बहाली भएको दिन अर्थात् यही वैशाख ११ गते सरुभक्तको ‘समय त्रासदी’ को पुनः मुद्रण गरेको बुकहिलले त्यसअघि सरुभक्तकै ‘पागल बस्ती’ ‘चुली’ पुनः मुद्रण गरेको थियो। खप्तड बाबाका सबै पुस्तक, सत्यमोहन जोशीको ‘नेपाली राष्ट्रिय मुद्रा’ र ‘हाम्रो लोकसंस्कृति’, लीलध्वज थापाको ‘मन’, दमनराज तुलाधरको ‘दमनराज’, शंकर लामिछानेका पुस्तकहरूका साथै मनु ब्राजाकीको ‘तिमी स्वास्नी र म’ लगायत पुस्तक बुकहिलको पुनः मुद्रणको सूचीमा चढेका छन्।

बुकहिलका प्रबन्धक भूपेन्द्र खड्का भन्छन्, ‘‘नयाँ पुस्तकजत्तिकै संख्यात्मक हिसाबले पुनःमुद्रण गर्ने गरेका त छैनौं तर हाम्रो गुणस्तरका पुस्तक पाठकले पढ्न पाऊन र पाठकहरूले नयाँपन र स्वाद लिन पाऊन भनेर पुनः मुद्रण गरिरहेका छौं।’’

राम्रा पुस्तकहरू पुनः मुद्रण गर्ने योजनामा आफू रहेको बताउँदै खड्काले भने, ‘‘ऐतिहासिक पुस्तकहरू पनि पुनः मुद्रण गर्ने तयारी गरिरहेको छु।’’

बुकहिलले जस्तै फाइनप्रिन्ट र मञ्जरी पब्लिकेसनले पनि पुन:मुद्रणमा जोड दिँदै आएका छन्। यी दुई पब्लिकेसनले पनि बजारले खोजेका पुस्तकहरू पुन:मुद्रण गर्दै आएका छन्।

पहुँचवालाहरूकै हालीमुहाली

पछिल्लो समय, एकेडेमीले पुनः मुद्रण गरेका पुस्तकहरूमध्ये केहीमा पहुँचवालाहरूकै हालीमुहाली रहेको देखिन्छ। कुनै पूर्वप्राज्ञ त कुनै पूर्वकर्मचारीका पुस्तकहरू पुनः प्रकाशन हुनुलाई यही अर्थमा बुझ्न सकिन्छ।

पाठकहरूले सर्वाधिक खोजी गरेका पुष्कलप्रसाद रेग्मीको ‘पत्रम पुष्पम्’ जस्ता पुस्तक अझै पुनः मुद्रणको सूचीमा चढेका छैनन्। जुन पुस्तक २०४० सालमा पहिलो संस्करण छापिएयता छापिएको छैन। यद्यपि, कोषनाथ देवकोटाको ‘नेपाली निघन्टु’ जस्ता खोजीमा रहेको पुस्तक भने पुनः मुद्रण गरेर बाहिर ल्याउने तत्परता एकेडेमीले देखाएको छ। तर कतिपय लेखकका निधन भइसकेको र कतिपयका एकेडेमीका वर्तमान पदाधिकारीसँग पहुँच नभएका कारण कतिपय पुस्तक पुनः मुद्रण हुन सकेका छैनन्।

साझाले भने बिक्रीलाई नै पुनः मुद्रणको मुख्य आधार बनाउँदै आएको छ। कमाएर बाँच्ने संस्थाले गर्ने नै यही हो। तर, साहित्य मूल्यवत्ता भएको वासु शशीका कविताहरूजस्तै अरू कृतिहरूलाई पनि वर्षौंदेखि गोदाममा थन्काएर धमिराको भोजन बनाइराख्नुभन्दा पुनः मुद्रण गर्नतिर साझाको ध्यान जान नसक्नुलाई भने विडम्बनापूर्ण नै मान्नु पर्दछ। र, धमिराको भोजन बनाउनुभन्दा अरु प्रकाशनगृहलाई पुनः मुद्रणका लागि अनुमति दिन कन्जुस्याइँ गर्नु हुँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved