स्थानीय निर्वाचनका कारण भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

नेपालभ्युज

स्थानीय निर्वाचनका कारण भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

धनगढी। ३० वैशाखमा हुने स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखी भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द हुने भएका छन्।

शनिबार कैलालीको गोदावरीमा दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।

अत्यावश्यक सेवा शव बहान, बिरामी बोकेका एम्बुलेन्स, प्रट्रोलियम पदार्थ बोकेका गाडीहरूबाहेक सबै आवतजावत बन्द गरिने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगावै सिमाना बन्द गरिने निर्णय र दुई देशको जोइन्ट सर्कलले गर्ने अन्य सुरक्षा रणनीतिबारे समेत छलफल भएको उनले बताए।

यस्तै थापाले भारतीय बनका कर्मचारीले विशेष गरी कैलालीको फूलबारीका स्थानीयलाई बिनाज्याला काम लगाउने गुनासो आएको र यसबारे पनि छलफल भई अबदेखि यस्ता गतिविधि रोक्न भारतीय सुरक्षा निकायलाई आग्रह गरिनुका साथै प्राथमिकतामा राखी हेर्न भनिएको बताए।

उक्त दुई देशीय सीमा समन्वय बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख धन ब सिंहलगायत प्रहरी अधिकारीहरू तथा कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा प्रमुख एवम् अधिकारीहरूको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved