विद्यासुन्दर र स्थापितसहित काठमाडौंको मेयरमा एमालेबाट पाँच जना सिफारिस

नेपालभ्युज

विद्यासुन्दर र स्थापितसहित काठमाडौंको मेयरमा एमालेबाट पाँच जना सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस भएको छ। शाक्य काठमाडौंका बहालवाला मेयर हुन्।

पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटी अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम महानगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको हो।

स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव’, ‘मेरो काठमाडौं’ भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुनेजस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घरटहराहरू भत्काइएका थिए। उनी विकासप्रेमी नेता मानिन्छन्।

स्थापित ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि मेयरमा मनोनित भएका थिए। उनी बागमती प्रदेश सरकारमा भौतिक योजना मन्त्रीसमेत भएका थिए।

सिफारिस भएका नामलाई काठमाडौं जिल्ला कमिटीले आफ्नाे रायसहित प्रदेश कमिटीमा पठाउनेछ। यसपछि तल्लो कमिटीका सुझावलाई मनन गर्दै केन्द्रीय कमिटीले उम्मेदवारको टुंगो लगाउनेछ।

एमालेले उपमहानगर र महानगरको पदाधिकारी केन्द्रीय कमिटीले टुंगो लगाउने मापदण्ड बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved