ठूला दलहरूले देशलाई असफल बाटोमा धकेलिरहेका छन्ः राजेन्द्र लिङ्देन

नेपालभ्युज

ठूला दलहरूले देशलाई असफल बाटोमा धकेलिरहेका छन्ः राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरूले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताए। उनले भने, “आज राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा जे मुद्दा उठाइराखेको छ, त्यो कुनै एउटा पार्टीको मुद्दा मात्रै होइन। एउटा पार्टीको कुरा मात्रै होइन देशको कुरा हो। देशको मुद्दा हो। किनभने देश पूर्ण रुपले एउटा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भो। देश हरेक दृष्टिकोणले एउटा असफल राष्ट्रको बाटोतर्फ जान लाग्यो। देशलाई असफल राष्ट्र बन्नबाट जोगाउनका लागि खासगरी ठूला राजनीतिक पार्टीहरूले र ठूला नेता हुँ भन्नेहरूले पहल गर्नुपर्थ्यो, प्रयास गर्नुपर्थ्यो तर देशलाई असफल राष्ट्रको बाटोतर्फ धकेल्नमा तिनै ठूला पार्टी हुँ भन्नेहरू र तिनै ठूला नेता हुँ भन्नेहरू नै संलग्न भएर उनीहरू नै यसको जिम्मेवार मान्छे र जिम्मेवार पार्टीको रूपमा देखा पर्न थाले।”

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रुपमा लिने मानिसहरू रहेको बताए। उनले राप्रपामा भने राजनीतिलाई देश सेवाको रुपमा लिने र देशलाई माया गर्नेहरू आवद्ध रहेको उल्लेख गरे। भ्रष्टाचार विरोधीहरू आफ्नो पार्टीमा जोडिदै गएका उनले बताए। उनले भने, “देशको राजनीतिमा एक प्रकारको ध्रुवीकरण प्रारम्भ भएको छ। हामीले एउटा ध्रुवको नेतृत्व गरिराखेका छौँ। कांग्रेस, एमाले, माओवादीहरू एउटा कित्तामा छन्। राजनीतिलाई पेसा, व्यवसाय मान्ने, राजनीतिलाई ओढ्ने, ओच्छ्याउने, भान्छा, ट्वाइलेटको रुपमा उपयोग गर्न चाहानेहरू त्यतापट्टी छन्। राजनीति पेसा, व्यवसाय होइन, राजनीति देश सेवाको एउटा सर्वोत्तम माध्यम हो भन्ठान्नेहरू, देशलाई माया गर्नेहरू, भ्रष्ट्राचार गरेर खानु आमाको रगत खानु सरह ठान्नेहरू अब हाम्रो कित्तामा बिस्तारै जोडिदै छन्।”

अध्यक्ष लिङ्देनले विभिन्न व्यक्तिहरूलाई राप्रपामा प्रवेश गराए। कार्यक्रममार्फत चिकित्सक डा. रामप्रसाद उप्रेती, सामाजिक अभियन्ताहरू ज्वाला संग्रौला र जिता बराल, पूर्वडीआईजी मन्दिप श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य रोहन राउत क्षत्रीलगायत गरी १ हजार २९ जना राप्रपामा प्रवेश गरेका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved