सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा प्रिन्स र राजपुरा उत्कृष्ट

नेपालभ्युज

सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा प्रिन्स र राजपुरा उत्कृष्ट

कैलाली। ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा दुवै जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए।

दुवै जनालाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्। दाहाल यसै वर्ष ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ शीर्ष स्थानमा पुग्न सफल भएका थिए।

वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा राजपुरासँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि परेका थिए।

त्यस्तै वर्ष प्रशिक्षकको अवार्ड भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जिते। उनको प्रशिक्षणमा नेपालले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो।

वर्ष युवा खेलाडीको अवार्ड फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन (पुरुषतर्फ) फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन (महिलातर्फ)को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जिते।

त्यस्तै क्रिकेट प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड समर्पित गरिएको छ। खड्काले डेढ दशक क्रिकेट प्रशिक्षण गरेर खेलाडी उत्पादन गरेका थिए।

लाइफटाइम अचिभमेन्ट अवार्ड लालबहादुर खड्कालाई प्रदान गरिएको छ। उनकै प्रशिक्षणमा सुदूरपश्चिमले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो।

उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार तथा वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारबाट पुरस्कृत गरिएको थियो।

सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई जनही रु २० हजारसहित ट्रफीबाट सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved