निफ बहसको दोस्रो दिनः कस्तो बन्नुपर्छ अबको सिनेमा ?

नेपालभ्युज

निफ बहसको दोस्रो दिनः कस्तो बन्नुपर्छ अबको सिनेमा ?

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को दोस्रो दिन नेपाली चलचित्रको भविष्यको विषयमा छलफल भएको छ।

आज चलचित्र निर्माणसम्बन्धी तीन विषयमाथि छलफल भएको छ। नेपाल पर्यटन बोर्डमा नेपाली सिनेमाको अबको बाटो, भारतीय चर्चित स्वतन्त्र चलचित्रकर्मी सुदिप्तो आचार्यको चलचित्र निर्माण सम्बन्धि कक्षा र चलचित्रमा अबको बाटो विषयमा छलफल भएको हो।

निफको दोस्रो दिनको पहिलो सामूहिक छलफलमा नेपाली सिनेमाः अबको बाटो विषयमा छलफल भएको थियो। छलफलमा कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियँ, वितरक तथा निर्माता सुशील पौडेल र डिसहोमका व्यवस्थापकीय निर्देशक सुदीप आचार्यसँग बहस भएको थियो। बहसमा चलचित्रको विकास र स्तरीयता विकासका साथै फिल्मको बजारीकरण र कथावस्तुमा थोरै मेहनत गरे अन्तर्राष्ट्रिय बजारसम्म प’र्याउन सकिने वक्ताहरुले धारणा राखेका थिए।

कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँले नेपाली फिल्मको भविष्य उज्वल भएको बताए। उनले भने, “यो क्षेत्रमा आशाको किरण देखिएको छ। त्यसैले नै म यहाँ छु।”

नेपाली फिल्मका लगानीकर्ताले बुझेर फिल्म नबनाएसम्म यो जुवाको खालजस्तो हुने धारणा पनि उनले राखे। उनले भने, “फिल्ममा पैसा लगानी गर्नु चानचुने कुरा हैन।” एउटा फिल्म फ्लप हुँदैमा हराउने लगानीकर्ताका कारण फिल्म व्यावसायिक हुन नसकेको उनको धारणा थियो।

त्यस्तै निर्माता तथा वितरक सुशील पोखरेलले पहिलेजस्तो निर्माता बाँचे फिल्म बाँच्छ भन्ने धारण नयाँ पुस्ताले बिर्सिएको दुखेसो पोखे। उनले भने, “नेपाली फिल्मले पुराना पुस्ता र नयाँ पुस्ताबीचको तालमेल मिलाउन सकेन। यहि तरिकाले अघि बढे भविष्यमा दुर्घटना हुने सम्भावना धेरै हुन्छ।”

‍आचार्यका अनुसार नेपाली फिल्म कपी कन्टेनटबाट टाढा बस्न सके भविष्य राम्रो छ। उनले भने, “हामीसँग यतिधेरै कथा छ, सस्तो र बिकाउ कथामा ध्यान दिनपर्‍यो।”

फिल्मको लगानी करोड पुर्‍याउनभन्दा, सस्तोमा बलियो कथा भन्न उनले फिल्मकर्मीलाई सुझाव दिए। भने, “महँगोमा फिल्म बनेर मात्रै त्यो राम्रो हुने हैन। सस्तो र बलियो कन्टेन्टमा जोड दिनसके मात्रै नेपाली सिनेमाको भविष्य उज्वल बन्नसक्छ।”

यस्तै दोस्रो बहसमा भारतीय चर्चित स्वतन्त्र चलचित्रकर्मी सुदिप्तो आचार्यले फिल्ममाथि सबैभन्दा पहिले निर्माण समूहले नै स्वीकार गर्नैपर्ने बताए। उनले दर्शक फिल्मका लागि दोस्रो माध्यम भएकाले सबैभन्दा चलचित्रकर्मीले नै कथा स्वीकार गरेर जानुपर्ने बताए।

उनले भने, “केवल तपाईंलाई सत्य लाग्छ भने त्यो पनि चलचित्रको विषय हो। सबैभन्दा पहिले त्यसलाई स्वीकार गर्नुहोस्।” उनले सजिलो भाषामा गम्भीर प्रकृतिका कथा भन्नुपर्ने बताए।

त्यस्तै आजको अन्तिम चलचित्रमा युवा प्रतीभा शीर्षकको छलफलमा कलाकारहरु दिव्यादेव, सुरक्षा पन्त र निर्देशक केदार श्रेष्ठले अबको फिल्ममा मुद्दाहरुलाई प्राथमिकतामा राखेर हिँड्नुपर्ने बताए। उनीहरूले कथा र बलियो पात्र फिल्ममा देखाउनुपर्ने धारणा राखेका थिए।

बहसमा कलाकार दिव्यादेवले अबको फिल्ममा पात्र निर्माण र कथालाई महत्व दिनुपर्ने बताए। उनले कथाको विषयवस्तुलाई न्याय गर्नेगरी पात्र निर्माण गर्न चुनौतीपूर्ण भएकोमा त्यसमा काम गर्नैपर्ने बताए।

निर्देशक श्रेष्ठले कुनै पनि मुद्दा उठाउँदा पात्रको संख्या नभएर कथा मुद्दामा कति संवेदनशील छ भन्ने विषयलाई बढी ध्यान दिनुपर्ने बताए। उनले भने, “मानौँ महिला मुद्दामा फिल्म बन्दैछ भने त्यहाँ महिलाको उपस्थिति भएर मात्रै हुँदैन कथा मुद्दामा कति संवेदनशील छ भन्ने हेर्नुपर्छ।”

यसैगरी अर्की कलाकार पन्तले आफूले स्क्रिप्टमा बढी ध्यान दिइरहेकाले अबको फिल्म बलियो कथावस्तु लिएर आउनुपर्ने बताइन्।

महोत्सवमा विभिन्न शर्ट, डकुमेन्ट्री तथा फिचर गरी बीसओटा फिल्म प्रदर्शन गरिएकोमा थियो। महोत्सव २१ चैतसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved