भूमिहीनलाई लालपूर्जा बाँड्नेगरी योजना बनाइँदैछः मन्त्री श्रेष्ठ

नेपालभ्युज

भूमिहीनलाई लालपूर्जा बाँड्नेगरी योजना बनाइँदैछः मन्त्री श्रेष्ठ

कपिलवस्तु। एक वर्षभित्र गाउँ ब्लकको जग्गासम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा बाँड्नेगरी योजना बनाइएको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले बताएकी छन्।

कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ परिवारलाई आज जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकका सबै नागरिकले छिटो लालपूर्जा प्राप्त गरून् भनेर विशेष अभियानमार्फत कामलाई तीव्र पारिएको बताइन्।

मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपूर्जा वितरणको कामलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडि बढाएका कारण चार महीनाको अवधिमा विभिन्न ठाउँका गाउँ ब्लकमा रहेका २० हजारभन्दा बढी भूमिहीनलाई लालपूर्जा वितरण गरिएको बताए।

उनले भूमिसम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसै अनुरूप भूमी चक्लाबन्दी गर्ने, कृषि योग्य जग्गा संरक्षण र उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी कानून बनाउने काम भइसकेको पनि बताइन्।

सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठीजग्गा संरक्षणको योजना बनाएर काम शुरु गरेको, वैज्ञानिक भूमिसुधारलाई लागु गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए।

भूमिहीन दलित तथा सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको र छिट्टै जिल्ला आयोग गठनको काम सम्पन्न हुने भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्यालाई दिगो रुपमै समाधान गर्न आफू लागिरहेको बताइन्।

मन्त्री श्रेष्ठले हलिया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved