धनुषामा स्थानीय र प्रहरीबीच झडप, ८ सेल अश्रुग्यास प्रहार

नेपालभ्युज

धनुषामा स्थानीय र प्रहरीबीच झडप, ८ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम। धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ।

शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान प्यालेसमा भएको आगलागीको विषयमा स्थानीयले आज बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका बेला सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार आगलागीबाट किरानाका समान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको छ।

अहिले त्यहाँ उद्योग वाणिज्य संघ जनकपुरका पदाधिकारीको टोली पुगेर छलफल गरिरहेको छ।

डीएसपी बस्नेतले नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमिकमजोरी रहेको स्वीकार गरेका छन्। उनले चौकीमा कार्यरत्त प्रहरीलाई आन्तरिक कारबाहीको तयारीसमेत भइरहेको बताए।

शनिबार राति साढे ११ बजे सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पसलमा आगलागी भएको हो।

आगोबाट सम्पूर्ण पसल नै जलेर नष्ट भएको छ। पसलभित्र रहेको किराना, कपडा लगायतको सरसमान जलेर १० लाख बढीको क्षति भएको सञ्चालक मण्डलले बताए।

त्यहाँबाट करिब ५० मिटरकै दुरीमा प्रहरीचोकी तिनकौरिया छ। बजारमा प्रहरी ड्युटीमा नहुँदा र कसैले आगो लगाएदिँदा प्रहरीले बेवास्ता गरेको स्थानीयको आरोप छ। पसल तिनकौरिया चोकमा २० वर्षदेखि सञ्चालनमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved